शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाभाइरसः विश्व स्वास्थ्य संगठनका विज्ञलाई चीनमा आमन्त्रण

सोमबार, २७ पुस २०७७, १५ : ०८
सोमबार, २७ पुस २०७७

बेइजिङ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का दश जना वैज्ञानिकहरु कोभिड–१९ को उत्पत्तिका बारेमा अनुसन्धान गर्न बिहीबार चीन आइपुग्ने भएका छन् ।  चीनले कोरोनाभाइरसको अन्तर्राष्ट्रिय अनुसन्धान रोक्न खोजेको आरोप लागिरहेका बेला कोरोना महामारी फैलिएको एक वर्षपछि डब्लुएचओका वैज्ञानिकलाई चीन भ्रमणको अनुमति दिएको हो । 

कोरोनाभाइरसको संक्रमणबाट विश्वलाई नै अत्याइरहेको अवस्थामा यसको अनुसन्धानका लागि चीनको अनुमतिको ठूलो राजनीतिक महत्व रहेको छ । कोभिड–१९ बाट हालसम्म २० लाखको हाराहारीका व्यक्तिको मृत्यु भइसकेको छ भने विश्व अर्थतन्त्रलाई तहसनहस बनाएको छ । 

चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जारी गरेको विज्ञप्तिमा डब्लुएचओको टोलीले चिनियाँ वैज्ञानिकहरुसँग मिलेर कोभिड–१९ को उत्पत्तिका बारेमा संयुक्त अनुसन्धान गर्ने जनाइएको छ ।  यसै महिनाको शुरुमा पनि यस मिसनका बारेमा चीन र डब्लुएचओबीच असमझदारी उत्पन्न भएको थियो । 

डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम घेब्रेससले चीनले आफ्ना वैज्ञानिक टोलीको प्रवेशमा अवरोध गरेकामा आपत्ति जनाएका थिए । चीनको विदेश मन्त्रालयका प्रवक्ता हुवा चनयिङले आफूहरुलाई डब्लुएचओको टोलीको भ्रमणप्रति कुनै आपत्ति नरहेको जनाउँदै पछिल्लो समय उत्पन्न गतिरोध “असमझदारी”का कारण मात्र भएको स्पष्ट गरेका छन् ।

डब्लुएचओका विज्ञहरुले चीनमा दुई साता क्वारेन्टिनमा बस्नु पर्नेछ । उनीहरुले सन् २०१९ को अन्त्यतिर पहिलो पटक कोभिड–१९ देखिएको उहान शहरको पनि भ्रमण गर्नेछन् ।  संयुक्तराज्य अमेरिका र अस्ट्रेलियाले भाइरसको उत्पत्तिका बारेमा स्वतन्त्र अनुसन्धान हुनुपर्ने माग गर्दै आएका छन् । 

बेइजिङमाथि पारदर्शिताको प्रश्न उठाएर अन्तर्राष्ट्रिय स्तरबाटै आलोचना भइरहेको छ, तर देशभित्र कोरोनाभाइरसको संक्रमण रोक्न चीन सरकारले आफूले गरेको प्रयत्नको प्रशंसा गरेको छ । –एएफपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप