शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जसपामा पनि संसद पुनःस्थापनाका विषयमा दुई धार देखियो

मङ्गलबार, २८ पुस २०७७, १४ : ४९
मङ्गलबार, २८ पुस २०७७

काठमाडौं । जनता समाजवादी पार्टी नेपालमा पनि संसद विघटनको विषयलाई लिएर दुईटा समूह बनेका छन् । एउटा समूहले संसद पुनःस्थापना हुनुपर्ने कुरामा जोड दिएको छ भने अर्को समूहले अदालतको फैसलालाई स्वीकार गर्ने भन्दै चुनावको वकालत गरिरहेको छ । 

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षधर नेताहरुले संसद पुनःस्थापना नै हुनुपर्ने भन्दै आइरहेका छन् भने जसपा नेपालका अर्का अध्यक्ष महन्थ ठाकुर पक्षधरले संसद पुनःस्थापना नभए चुनावका लागि तयार रहनुपर्नेमा जोड दिँदै आइरहेका छन् । जसपा नेपालले अहिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम गरिरहेको छ । आन्दोलनमा बोल्ने नेताहरुका धारणा पनि फरक–फरक आइरहेका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले संसद पुनःस्थापनाका लागि आन्दोनल गरिरहेको छ । उक्त समूहले जसरी पनि संसद पुनःस्थापना गर्ने दावी गर्दै दोस्रो चरणको आन्दोलन गरिरहेको छ,  त्यसलाई जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषदका अध्यक्ष डा.बाबुराम भट्टराईले साथ दिइरहेका छन् । 

यता, नेपाली काँग्रेसमा पनि संसद पुनःस्थापनाका विषयमा दुईटा धार देखिएका छन् । पार्टी सभापति शेरबहादुर देउवा अदालतको निर्णयलाई कुर्ने र त्यसैको आधारमा आगडि बढ्ने भनिरहेका छन् । चुनावबाट डराउन नहुने उनको धारणा छ । तर सोही पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापनाको विकल्प नरहेको भन्दै आइरहेका छन् । 

सभापति देउवा पक्षको भनाइलाई जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले समर्थन गरिरहेको छ । अध्यक्ष ठाकुर पक्षधर नेताहरुले संसद विघटन हुनुमा जति दोषी प्रधानमन्त्री ओली रहेका छन्, त्यति नै दोषी प्रचण्ड र माधवकुमार नेपाल रहेको धारणा राख्दै आएका छन् । उनीहरुले अदालतको निर्णयलाई स्वीकार गर्ने धारणा सार्वजनिक गर्दै आइरहेका छन् । तर अध्यक्ष उपेन्द्र यादव पक्षधरले अदालतको निर्णयप्रति आशंका गरिरहेका छन् । संसद पुनःस्थापनाको पक्षमा अदालतको निर्णय आउनुपर्ने उनीहरुको धारणा रहेको छ ।  

उता, संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले संसद पुनःस्थापनाको विकल्प नरहेको बताएका छन् । भट्टराईले भने, ‘संसद मरेको छैन, ओलीले मुर्छित पारेर राख्नुभएको छ यसलाई जिवित गर्न सकिन्छ ।’ अदालतबाट नै संसद पुनःस्थापना हुने कुरामा आफूलाई विश्वास रहेको बताउँदै उनले यदि त्यसबाट पनि भएन भने संसद नमर्ने उनले दावी गरे । 

यता, जसपा नेपालका कार्यकारिणी समितिका सदस्य एवम् प्रदेश २ सरकारका भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले यो आन्दोलन संसद पुनःस्थापनाको लागि मात्र नभएको बताए । उनले मधेशको अधिकार सुनिश्चित गराउनका लागि पनि आन्दोलन भइरहेको बताए । उनले भने, ‘पहिला संविधानको उल्लंघन हुँदा नेकपाका अध्यक्ष प्रचण्ड बोल्नु भएनन्, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बोल्नु भएनन् तर आज उहाँहरुमाथि परेपछि मधेशलाई गुहार लगाइरहनुभएको छ । यहाँसम्म कि प्रधानमन्त्री ओलीले पनि मधेशलाई गुहार्न थाल्नुभएको छ ।’

त्यस्तै, जनता समाजवादी पार्टीका नेता शरतसिंह यादवले जसपा नेपालका लागि संसद पुनःस्थापना र चुनाव दुवै विकल्प रहेको बताए । उनले भने, ‘संसद पुनःस्थापनाको बारेमा सर्वोच्चले जे निर्णय गर्छ त्यसलाई जसपा नेपालले स्वागत गर्छ ।’ लोकतन्त्र जोगाउनका लागि संसद पुनःस्थापना मात्र एउटा विकल्प नहुने बताउँदै चुनाव पनि अर्को विकल्प भएको उनले स्पष्ट पारे ।  उनले संसद पुनःस्थापना भए भैहाल्यो नभए चुनावमा जाँदा नै उत्तम हुने बताए । उनले अगाडि भने, ‘संसद पुनःस्थापनाका लागि सडकमा संघर्ष गरिरहने र भित्रभित्रै अर्कै खेल भइदियो भने त्यसको जिम्मेवारी कसले लिने, भुँईको टिप्दा गोजीको पोखिएजस्तो नहोस् ।’
 
    
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप