बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रियलको मिसन एम्बाप्पे : ६ खेलाडी बेचेर फ्रान्सका स्ट्राइकर भित्र्याउने तयारी

मङ्गलबार, २८ पुस २०७७, १६ : ४०
मङ्गलबार, २८ पुस २०७७

किलियान एम्बाप्पेलाई क्लबमा भित्र्याउने रियल म्याड्रिडको सपना पुरा हुने समय आउन लागेको छ । सन् २०२२ को जुनमा फ्रान्सका स्ट्राइकरको पेरिस सेन्ट जर्मेन (पीएसजी) सँगको करार सकिदैछ । एक वर्ष बाँकी छँदा अब उनी त्यही क्लबमा रहने वा नयाँ चुनौति सामना गर्ने भन्नेमा द्विविधामा छन् । स्पेनिस पत्रिका एएसका अनुसार यही अवस्थामा रियलले ‘अपरेशन एम्बाप्पे’ शुरु गर्ने तयारी गरेको छ ।

स्पेनिस महारथीले एम्बाप्पेलाई स्पेनमा भित्र्याउन १५० मिलियन युरोदेखि २२२ मिलियन युरोसम्म पर्ने अनुमान गरेको पत्रिकाले जनाएको छ । पत्रिकाका अनुसार एम्बाप्पेले वार्षिकरुपमा २१ मिलियन युरो तलब माग गर्ने र त्यसलाई रियलले तिर्न सक्नेछ ।

उता, पीएसजी पनि एम्बाप्पेलाई गुमाउन चाहँदैन । तर यदी २२ वर्षीय खेलाडीले नयाँ करार गर्न नमाने अर्को वर्ष उसले एम्बाप्पेलाई निःशुल्क गुमाउनुपर्नेछ । त्यही भएर उसले एम्बाप्पेलाई बिक्री गरेर फाइदा उठाउन चाहनेछ ।

रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजको पीएसजीका कतारी मालिकसँग नजिकको सम्बन्ध रहेको छ । यसले पनि एम्बाप्पेलाई भित्र्याउन सहज हुने बताइएको छ ।

तर, कोरोनाभाइरसको महामारीका कारण रियलको आम्दानीमा पनि ठूलो धक्का लागेको छ । त्यही भएर एम्बाप्पेलाई भित्र्याउनभन्दा पनि पहिले उसले स्रोत जुटाउनुपर्नेछ । यसका लागि क्लबले कम्तिमा ६ जना खेलाडीलाई बिक्री गर्ने तयारी गरेको छ । यसमा गेराथ बेल, ड्यानी सेबायोस, लुका योभिच, ब्राहिम डियाज, मार्सेलो र इस्को रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप