बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दाँत–नंग्रा फुकालिएको ट्रम्प : राजनीतिक भविष्य सिनेटको हातमा !

अमेरिकी प्रतिनिधिसभामा ट्रम्पविरुद्ध महाभियोग पारित : विद्रोहलाई उक्साएको आरोप
बिहीबार, ०१ माघ २०७७, ०५ : २३
बिहीबार, ०१ माघ २०७७

सत्ताबाट नियमित प्रक्रियाअन्तर्गत हट्न सात दिनमात्रै बाँकी छँदा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेको महाभियोगको प्रस्ताव अमेरिकाको प्रतिनिधिसभाले पारित गरेको छ ।

केहीदिनअघि राजधानीमा नवनिर्वाचित राष्ट्रपतिको विजय घोषणाको औपचारिक तयारी भइरहेको बेला राजधानीमा विद्रोह भड्काएको आरोपमा उनीमाथि महाभियोग लागेको हो । उनीविरुद्धको महाभियोगको प्रस्ताव अमेरिकाको प्रतिनिधिसभा (हाउस अफ रिप्रेजेन्टेटिभ्स) ले पारित गरेको छ । ‘वासिंगटनस्थित क्यापिटल बिल्डिङमा भएको आक्रमणको सन्दर्भमा ट्रम्पको कार्य र भनाइले विद्रोहीहरुलाई उक्साएको’ आरोपसहितको ट्रम्प विरुद्धको महाभियोगको प्रस्तावलाई हिजो बुधबार दिउँसो १९७ का विरुद्ध २३२ भोटले पारित गरिएको छ ।

हामीलाई थाहा छ, अमेरिकाका राष्ट्रपतिले यो दंगाफसाद र हाम्रो राष्ट्रविरुद्धको सशस्त्र विद्रोहलाई उक्साएका छन्,’ अमेरिकाको सभामुख नान्सी पेलोसीले भोटपूर्व भएको बहसको क्रममा भनेकी थिइन् ।

उनले राष्ट्रपति ट्रम्पलाई औंल्याउँदै थप भनेकी थिइन्, ‘ऊ जानैपर्छ । उनी सुस्पष्ट छन् र हामीले माया गर्ने राष्ट्रका विरुद्ध उनले खतरा पैदा गरेका छन् ।’ 

डेमोक्र्याट्सहरुले अमेरिकाको प्रतिनिधि सभामा ट्रम्पले उच्च खालको अपराध गरेको तथा जानाजान अमेरिकाको सरकारकाविरुद्ध हिंसा भड्काएको आरोप लगाउँदै आएका छन् ।

ट्रम्पविरुद्धको महाभियोगको यो प्रस्तावका पक्षमा डेमोक्र्याट्सका तर्फबाट २२२ र स्वयं ट्रम्पको पार्टी रिपब्लिकनको तर्फबाट पनि १० भोट खसेको थियो । ट्रम्पका सत्तारुढ रिपब्लिकन पार्टीका जोन काट्को, लिज चेनेइ, आदम किनजिङ्गर, फ्रेड उप्टोन, जाइमे हेरेरा बेउटलर, डान न्युहाउस, एन्थोनी गोन्जालेज, पिटर मेइजिर, टोम राइस र डेभिड भेलाडाओले ट्रम्पविरुद्धको महाभियोगको प्रस्तावको पक्षमा भोट हालेका थिए । यसले सन् २०२०को राष्ट्रपतीय चुनावको नतिजा उल्टाउन खोज्ने सत्तारुढ अमेरिकी राष्ट्रपतिको कोशिशका विरुद्ध द्विपक्षीय प्रतिरोध सिर्जना गरिदिएको छ ।

राष्ट्रपतीय चुनावमा डेमोक्रेटिक उम्मेदवार बाइडेन विजयी भएको औपचारिक घोषणा हुने तरखर भइरहेकै बेला गत जनवरी ६ का दिन वासिंगटनस्थित क्यापिटल विल्डिङमा ट्रम्प समर्थकहरुले सशस्त्र धावा बोलेका थिए । त्यसक्रममा पाँच जनाको मृत्यु भएको थियो भने उक्त घटनाले सारा विश्वलाई स्तब्ध तुल्याएको थियो । तर पछि स्थिति नियन्त्रणमा लिएर अमेरिकाको कंग्रेसले वाइडेन विजयी भएको औपचारिक घोषणा गरेको थियो । सोही कारण नै सत्ताबाट औपचारिक रुपमा विदा हुन केही दिन मात्रै बाँकी छँदा पनि डोनाल्ड ट्रम्पका विरुद्ध महाभियोग लगाउनुपर्ने माग तीब्र रुपमा उठेको थियो र सोहीअनुसार डेमोक्रेटिक पार्टीले उनीविरुद्ध महाभियोगको प्रस्तावलाई अघि बढाएको थियो ।

ट्रम्पविरुद्धको महाभियोग प्रस्तावमा जनवरी ६ भन्दा महिनौं अगाडिदेखि नै ट्रम्पले चुनावमा धाँधली भएको र त्यसको नतिजालाई स्वीकार्न नहुने भन्दै समर्थकहरुलाई भड्काएको आरोप लगाइएको छ ।

प्रस्तावमा ट्रम्पले सचेत रुपमा नै ‘तिमीहरुले प्रतिरोध गरेनौं भने तिमीहरुसँग मुलुक रहनेछैन’ भनेर वक्तव्यवाजी गरेको र समर्थकहरुलाई उक्साएको परिणामस्वरुप राजधानीमा कानूनविरोधी कार्य भएको उल्लेख गरिएको छ ।

यो घटनापछि डोनाल्ड ट्रम्पले अमेरिकाको इतिहासमा एउटा नयाँ रेकर्ड कायम गरेका छन् । त्यो हो– दुई पटक महाभियोग लागेका पहिलो अमेरिकी राष्ट्रपति ।

ट्रम्पविरुद्ध प्रतिनिधि सभाले पास गरेको यो महाभियोगको प्रस्ताव अब सिनेटमा पठाइनेछ । तर यसमाथिको कारवाही कसरी र कहिले अगाडि बढाइनेछ भन्ने कुरा अझै प्रष्ट भइसकेको छैन । कम्तिमा यो प्रक्रिया जोन बाइडेनले जनवरी २० मा सत्ता सम्हाल्नुअघि शुरु हुनेछैन ।

तर अब डोनाल्ड ट्रम्पको राजनीतिक भविष्य सिनेटको हातमा पुगेको छ । उनको कार्यकाल सकिएपछि पनि उनीविरुद्ध  सिनेटमा ट्रायल चल्नेछ, जसले उनी दोषी हुन् वा होइनन् भन्ने कुराको टुंगो लगाउने छ ।

यतिखेर ट्रम्पको हालत दाँत नंग्रा फुकालिएको बाघ जस्तै बनेको छ । कदाचित उनीविरुद्धको महाभियोगको प्रस्ताव सिनेटले पनि पास गरेमा उनको राजनीतिक भविष्यमाथि पूर्णविराम लाग्ने निश्चित छ ।

अलजजिरामा प्रकाशित रिपोर्टहरुका आधारमा

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप