शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कहिले आइपुग्छ ‘कोभिसिल्ड’ ?

‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगको अनुमति
शुक्रबार, ०२ माघ २०७७, १७ : ५१
शुक्रबार, ०२ माघ २०७७

नेपालले भारतमा उत्पादन भइरहेको ‘कोभिसिल्ड’ नामक कोरोनाविरुद्धको खोपलाई  आपतकालिन प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले कोभिसिल्ड खोपलाई आपतकालिन प्रयोगका लागि अनुमति दिएपछि बुकिङका लागि बाटो खुलेसँगै नेपालीहरुमा आशाको सञ्चार पैदा भएको छ ।

औषधि व्यवस्था विभागले सेरम इन्स्टिच्युट अफ इन्डिया(एसआईआई)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपतकालिन प्रयोगको लागि सशर्त अनुमति दिने निर्णय गरेको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए । कोभिसिल्डलाई आपतकालिन प्रयोगका लागि बङ्गलादेश, बेलायत लगाएतका देशहरुले अनुमति दिइसकेको समेत उनले सुनाए ।

कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपको हो भने भारतले यस खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

‘कोभिसिल्ड खोप इमर्जेन्सी नभइकन कसैले पनि यो खोप हामी चाहियो भन्दैमा पाइन्दैन,’ उनले भने, ‘अब खोप बुकिङ गर्न भने बाटो खुल्यो ।’ एकै पटकमा धेरै मात्रामा खोप खरिद गर्न नपाइने भएकाले पटकपटक खोप बुकिङ गर्न पर्ने हुँदा अब नेपाललाई सहज हुने उनले बताए ।

नेपाल सरकारले भारत सरकारसँग प्रक्रिया पु-याएर अब खोप खरिदका लागि अगाडि बढ्न सक्ने उनले बताए । निजी क्षेत्रले पनि अग्रिम कोभिसिल्ड खोपको बुकिङ गर्न सक्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक केसी बताउँछन् ।

भारतको राजधानी नयाँ दिल्लीमा नेपाल भारत संयुक्त आयोगको छैटौँ बैठक परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहभागी भएका छन् । भारतमा उत्पादन भएको कोरोनाविरुद्धको खोप खरिद प्रक्रियालाई कुटनीतिक पहल गरेर कागजी प्रतिबद्धता जनाएर परराष्ट्र मन्त्री ज्ञवाली नेपालमा फर्किएको खण्डमा नेपालमा कहिलेसम्म खोप आउँछ भनेर समय तोक्न सकिने खोप भित्र्याउन बनाइएको कार्यदलका एक सदस्यले बताए ।

कोरोनाविरुद्धको कोभिसिल्ड खोपलाई नेपालमा आपतकालिन प्रयोगका लागि औषधि व्यवस्था विभागले अनुमति दिएपछि जनतामा आशाको सञ्चार फैलिएको जनस्वास्थ्य बैज्ञानिक डा. समीरमणि दिक्षित बताउँछन् ।

सरकारले कुल जनसंख्याको ७२ प्रतिशत जनतालाई निःशुल्क रुपमा खोप दिने भनेको छ । पहिला खोपको प्राथमिकतामा फ्रन्टलाइनमा कार्यरत स्वास्थ्यकर्मी, दीर्घरोगी, वृद्धवृद्ध र कामदारलाई राखेको छ । सरकारसँग २ देखि ८ डिग्री तापक्रममा एक करोड ७० लाख खोप राख्न सक्ने भण्डारण गर्ने क्षमता छ ।

यस्तै खोप भण्डारण गरेको ७ दिन भित्रमा वितरण गर्न सक्ने तयारी समेत गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोपको उत्पादक सेरम विश्वकै ठूलो खोप उत्पादन गर्ने कम्पनीमध्ये एक हो । सेरमले पाँच करोडभन्दा बढी डोज खोप उत्पादन गरेको भारतीय सञ्चारमाध्यमहरुले बताउँदै आएको छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप