शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

ओखलढुंगामा स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी बन्दै

शनिबार, ०३ माघ २०७७, १० : ३०
शनिबार, ०३ माघ २०७७

ओखलढुंगामा स्वास्थ्य बिमा कार्यक्रमको प्रभावकारीता बढेको छ । आम नागरिकलाई स्वास्थ्यको क्षेत्रमा सहज पहुँच पुर्याउन लागु गरिएको बिमा कार्यक्रमले ग्रामिण क्षेत्रका सर्वसाधारणलाई सहज भएको छ ।

 नागरिकको पहुँचभन्दा बाहिर रहेको बिमा कार्यक्रमले अहिले ग्रामिण क्षेत्रका नागरिकलाई समेट्न थालेपछि यसको प्रभावकारीता बढेको पाइएको हो ।

गत बर्षबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमले ओखलढुंगाका नागरिकलाई स्वास्थ्य उपचारमा थप सहज बनाएको छ । रकम अभावमा लामो समयसम्म अस्पताल जान नपाएका नागरिकलाई यसले ठुलो सहयोग पुर्याएको छ । दैनिक औषधी सेवन गर्नुपर्ने र नियमित अस्पताल जानुपर्ने बिरामीका लागि बिमा कार्यक्रम प्रभावकारी बनेको सिद्धिचरण नगरपालिका ११ का स्थानीय कल्पना श्रेष्ठको बुझाइ छ ।

ग्रामिण तहका नागरिकलाई बिमा कार्यक्रमले जोडेपछि रोगसँग लडेका तथा दैनिक औषधि उपचार गर्नुपर्ने बिरामीका लागि सहयोग पुगेको छ । जिल्ला सदरमुकाममा रहेको सामुदायीक अस्पतालमा समेत उपचारका लागि आउने बिरामीमध्ये करिब ४० प्रतिशत बिरामी स्वास्थ्य बिमाको कार्ड सहित आउने गरेको ओखलढुंगा सामुदायिक अस्पतालका ओपिडी क्यासीयर नवराज गिरीले बताए ।

जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको करिब दुई वर्षमा १८ हजार १ सय ७४ जना नागरिक बिमाको पहुँचमा पुगेका छन् । बिमाका लागि सामान्यतः १ आर्थिक वर्षमा ३ हजार ५ सय रुपैयाँ तिर्नपर्छ । यो रकमले ५ जना परिवारसम्मको बिमा गर्न सकिन्छ । त्यसभन्दा बढी सदस्य भए प्रतिपरिवार थप शुल्क तिर्नुपर्ने स्वास्थ्य बिमा बोर्ड ओखलढुंगाका कार्यलय प्रमुख सुदिप कार्कील बताए ।

बिमा बोर्डले ७० वर्ष नाघेका ज्येष्ठ नागरिक, पूर्ण अपांगता भएका व्यक्ति तथा एड्स र क्षयरोगका बिरामीको निःशुल्क बिमा गरिदिने गरेको छ । बोर्डले बिमा कार्यक्रमलाई ग्रामिण तहसम्म पुर्याउन वडा तहमा बिमाकर्ता परिचालन नै गरेर नागरिकको बिमा गरिदिने गरेको छ । तर उनीहरुले बिमाको प्रभावकारीताका बिषयमा आम नगरिकलाई बुझाउन नसकेको मोलुङ गाउँपालिका ७ का वडा अध्यक्ष हेम बहादुर सुनुवारको गुनासो छ ।

बिमा गरेपछि प्रारम्भिक सेवा केन्द्र तोकिएका अस्पतालबाट सेवा लिँदा प्रतिव्यक्ति १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क पाउने गरेका छन् । यस सेवाका लागी जिल्ला अस्पताल रुम्जाटार, सामुदायिक अस्पताल मिसन ओखलढुंगा र प्राथमिक स्वास्थ्य केन्द्र रानीवनबाट मात्र सेवा लिन सकिने बिमा वोर्ड शाखा कार्यलय ओखलढुंगाले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप