शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

क्रिमले अनुहार बिगारिदिएपछि पूर्व ब्यूटी क्विन क्षतीपूर्ती माग्दै अदालतसम्म पुगिन्

सोमबार, ०५ माघ २०७७, १४ : ४३
सोमबार, ०५ माघ २०७७

गिनीकी सौन्दर्य प्रतियोगिताकी पूर्व बिजेताले स्विसको स्किन केयर उत्पादनलाई अदालतसम्म पुर्याएकी छिन् । उक्त उत्पादनले आफ्नो स्वस्थ रङ्गरुपलाई बिगारिदिएको र मोडलिङ करियर ध्वस्त पारिदिएको ती मोडलले आरोप लगाएकी छिन् । 

२५ वर्षीया मारियामो डियालोले मिस गिनी, मिस वेस्ट अफ्रिकाको उपाधि जितिसकेकी छिन् । मिस वर्ल्डमा पनि भाग लिएकी उनको तीन वर्षअघि सम्म पनि मोडलिङमा निकै सफल करियर थियो । तर जब उनले नयाँ स्किनकेयर उत्पादन प्रयोग गर्न थालिन् तब उनको अनुहारभरी दाग आउन थाले । उनी सन् २०१८ देखि कामका लागि भौंतारिरहेकी छिन् । उनका अनुसार उनको अनुहारमा देखिएको दाग निको हुन निकै समय लागिरहेको छ र यस्तो अवस्थामा उनलाई जागिर दिन कुनै कम्पनी पनि तयार छैनन् । अब डियालोले उक्त उत्पादनले करियर ध्वस्त गरिदिएको भन्दै मुद्दा दर्ता गरेकी छिन् । 

‘यो अनुहार देखेपछि मलाई कसैले जागिर दिँदैन,’ मारियामाले न्यूयोर्क पोस्टलाई भनिन् । ‘यसले मलाई निकै तनावमा पार्यो । म दिउँसो कतै पनि जान सक्दिनँ... कसैले मलाई हेरोस् भनेर म चाहन्नँ पनि । मैले यसबारे मेरी आमालाई समेत बताइनँ किनभने मलाई उहाँले पनि यो अवस्थामा देख्नुहोला भन्ने चिन्ता छ । मैले आफूलाई सबैबाट टाढा राखेँ ।’

Posted by Cheqnus Kucho on Saturday, 9 January 2021

डियालोको यस्तो स्थिती सन् २०१८ जनवरीदेखि सुरु भएको हो जब उनी म्यानहटनमा बसाइँ सरिन् । त्यहाँ उनले लगाउँदै आएको फ्रेन्च स्किनकेयर प्रोडक्ट भेट्टाउन सकिनन् । त्यसपछि उनले स्विस ब्रान्डको माकारी डि सुसी नामको क्रिम प्रयोग गर्न थालिन् । यसले उनको अनुहारमा यत्ति धेरै डण्डिफोर निम्त्यायो कि उनले यसबारे कम्पनीलाई जानकारी पनि दिइन् । मारियामाका अनुसार उनलाई यो समस्याबाट पार पाउनका लागि अर्को एउटा उत्पादन पनि कम्पनीले पठायो तर समस्या कम हुनुको साटो थप जटिल बन्यो । उनको अनुहार डण्डिफोर र दागले छोपिए । 

Posted by Cheqnus Kucho on Saturday, 9 January 2021

मारियामा डियालो नाइकी र केल्भिन क्लेनजस्ता ठूला ब्रान्डका लागि मोडलिङ गर्ने गर्थिन् । उनका एजेन्टले उनलाई नयाँ सम्झौता गर्नुअघि आफ्नो छाला सफा गर्न सल्लाह दिएको उनले बताइन् । उनले यसका लागि तीन वर्ष कुरिन् । उनी आफ्नो करियरमा निकै टाढासम्म पुग्ने योजना पनि बनाएकी छिन् । अब मोडल र उनका वकिलले माकारी डि सुसलाई उनको उत्कृष्ट मोडलिङ करियरको समयावधि छाटो पारिदिएको र आर्थिक रुपमा पनि भारी क्षती पुर्याएकोमा क्षतीपूर्तीका लागि माग गरेका छन् । 

‘कुनै खेलको शीर्ष स्थानमा भएका व्यक्तिले लाखौं डलर कमाउन सक्छन् । यत्तिका वर्षसम्म उनले धेरै नै पैसा कमाउने थिइन्,’ २५ वर्षकी मोडलका वकिल योरम नाचिमोभ्स्कीले द पोस्टलाई भने । 

मारियामाले हाल छाला रोग विशेषज्ञमार्फत् आफ्नो अनुहारको उपचार गराइरहेकी छिन् तर औषधोपचारले आधा मात्रै काम गरिरहेको छ । अब उनी निको हुने प्रक्रियालाई चुस्त पार्न केमिकल पिल गर्ने योजनामा छिन् तर यो असाध्यै महँगो छ । अब उनी माकारी डि सुसले निम्त्याएको सबै समस्या उनीहरुले नै व्यवहोर्नुपर्ने माग गरिरहेकी छिन् । यसका साथै उनी सबैलाई उक्त उत्पादनबारे जानकारीसमेत दिन चाहन्छिन् ता कि उनले जस्तै समस्या अरु कसैले झेल्नु नपरोस् । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप