शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३५ शब्दमा अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् जो बाइडेन, पहिलो पटक समारोहमा अमेरिकालाई अमेरिकीबाटै खतरा

बुधबार, ०७ माघ २०७७, ०७ : ३३
बुधबार, ०७ माघ २०७७

अमेरिकाले आज आफ्नो ४६ औं राष्ट्रपति पाउनेछ । डेमोक्रेट जासेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेन (७८) अमेरिकाको राष्ट्रपति पदको शपथ लिनेछन् । कार्यक्रम क्यापिटल हिल अर्थात् अमेरिकी संसदमा बुधबार स्थानीय समयानुसार दिउँसो १२ बजे (नेपाली समयानुसार राती पौने ११ बजे) हुनेछ । बाइडेनले ३५ शब्दको मात्रै शपथ लिनेछन् । समारोह सधैं झैं भव्य तरिकाले हुने छैन । कोरोनाभाइरसका कारण भीड जम्मा हुन दिइनेछैन । यसपटक एक हजारदेखि १२ सय व्यक्ति मात्रै शपथ ग्रहण कार्यक्रममा भाग लिन पाउनेछन् । सबै पाहुनाका लागि स्वास्थ्यको कडा मापदण्ड तोकिएको छ । 

अमेरिकी राष्ट्रपतिको शपथ ग्रहण कार्यक्रममा पहिलो पटक अमेरिकालाई अमेरिकीबाटै खतरा महसुस गरिएको छ । ७ जनवरीमा इलेक्टोरल भोटको गणनाका बेला क्यापिटल हिल अर्थात् अमेरिकी संसद् भवन भित्र र बाहिर हिंसा भएको थियो । त्यतिबेला ट्रम्प समर्थकले अमेरिकी संसदभित्र प्रवेश गरेर मज्जाले तोडफोड गरेका थिए । त्यसैले अमेरिकी सुरक्षा एजेन्सीले थप सावधानी अपनाइरहेको छ । 

कसले दिलाउनेछन् शपथ ?

चीफ जस्टिस जोन नी रोबर्ट जुनियरले अमेरिकी संसद् भवनको वेस्ट फ्रन्टमा बाइडेनलाई राष्ट्रपतिको शपथ दिलाउनेछन् । त्यसपछि राष्ट्रपति बाइडेनले ‘इनगरल स्पिच’ दिनेछन् । यसमा अमेरिकी मतदातालाई धन्यवाद प्रदान गर्नेछन् । भाषण पछि सैन्य टुकडीको समीक्षा गर्नेछन् । 

गायिका लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् । कार्यक्रममा जेनिफर लोपेजको पनि साङ्गीतिक प्रस्तुती हुनेछ । त्यसपछि बाइडेन र उप–राष्ट्रपति कमला ह्यारिस ‘प्रेसिडेन्ट एस्कर्ट’ मा संसद भवनबाट ह्वाइट हाउस जानेछन् । साधारणतया करिब ३ लाख मानिसहरु सडकको दुबै किनारामा देख्ने गरिन्थ्यो तर यसपटक यस्तो हुने छैन । 

विशेष पाहुना को हुनेछन् ?

डोनल्ड ट्रम्प त उक्त समारोहमा उपस्थित हुने छैनन् । तर उनको सट्टामा उपराष्ट्रपति माइक पेन्सको उपस्थिती रहनेछ । यसबाहेक पूर्व राष्ट्रपति बिल क्लिन्टन, जर्ज डब्ल्यू बुश र बराक ओबामा पनि आउनेछन् । वासिङ्टनका एक थिङ्कट्याङ्क ब्रुकिङ्ग्स इन्स्टिच्यूटका एलेन कामार्कका अनुसार पेन्सको उपस्थितीले सबैभन्दा महत्व राख्छ । पेन्स मानिसहरुलाई यो बुझाउन चाहिरहेका छन् कि रिपब्लिकन पार्टी मात्रै ट्रम्पको दायरामा छैन । 

अत्यधिक कडा सुरक्षा घेराः

–२० हजार सैनिक तैनाथ गरिएको छ । सिक्रेट सर्भिस यसलाई ‘जिरो फेल मिसन’ भनिरहेका छन् अर्थात् कुनै पनि हालतमा गडबडी हुन दइने छैन । 

– क्यापिटल हिलमा कडा सुरक्षाका लागि ब्यारिकेड्स र चेकपोइन्ट लगाइएका छन् । पूरा संसदलाई ७ फिट अग्लो फेन्सिङले घेरिएको छ । 

– क्यापिटल हिल नजिकैका सडकलाई बन्द गरिएको छ । नेशनल पार्क सर्भिसले पर्यटकका लागि वासिङ्टन मोन्युमेन्टलाई हालका लागि बन्द गरिदिएको छ । 

– सिक्रेट सर्भिस र फेडरल एजेन्सीबाहेक एड्भान्स इलेक्ट्रोनिक सर्भिलान्स अलर्ट मोडमा छन् । यो व्यवस्था ३० दिनसम्म जारी रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप