शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कागजमा कृषि कम्पनी खोलेर किसान ठग्ने ३ जना पक्राउ

बुधबार, ०७ माघ २०७७, ०९ : ४४
बुधबार, ०७ माघ २०७७

कागजमा कृषि कम्पनी खोलेर संखुवासभाका किसानलाई ठग्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । संखुवासभाको चैनपुर नगरपालिकामा ‘पोखरी ग्रुप अफ कम्पनी प्राली’ नामको कम्पनी खोलेर ठगी गर्नेहरुलाई चैनपुर प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा धनकुटा छथर घर भएका नरेन्द्र थापा उर्फ रमेश, चैनपुरका स्थानिय चन्द्र बहादुर आले र सुरेन्द्र राई उर्फ मिलन छन् ।

सो समूहले गाई पालन र दुध चिस्यान डेरी चलाउन साउदी अरेबियाको ‘अलदाना कम्पनी’बाट ५० प्रतिशत अनुदान आउँदैछ भनेर चैनपुरमा हल्ला फैलाए । कागजमा कम्पनी बनाए तर, कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेनन् ।

‘अलदाना’ कम्पनीसँग कुनै सम्झौता नगरी भारतबाट १ लाख पर्ने गाई ल्याउने लोभ देखाएर उनीहरुले किसानसँग पैसा उठाएको ईलाका प्रहरी कार्यालय चैनपुरका इन्सपेक्टर योगराज खतिवडाले रातोपाटीलाई बताए । 

‘कम्पनी रजिष्ट्रार कार्यालयमा कम्पनी दर्ता नगरेको र नक्कली दर्ता प्रमाणपत्र देखाएर किसानलाई लोभमा पारेको देखिन्छ,’ इन्सपेक्टर खतिवडाले भने–‘अवैध रुपमा कम्पनीको शेयर सदस्य बनाएर समेत ठगी गरेको खुलेको छ ।’

साउदी अरेबियाबाट ५० प्रतिशत अनुदान लिएर बाँकी ५० प्रतिसत लगानीमा चिस्यान केन्द्र, डेरी र गाईपालन संचालनको नाममा उनिहरुले किसानसँग २० लाख पेश्की रकम उठाएका छन् ।

आधा लगानीमा भारतको पञ्जाबाट १ लाख पर्ने उन्नत जातका गाई ल्याएर दुध बेच्ने सपना देखाएर सो समूहले किसानलाई ठगेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नरेन्द्र थापा समूह बिरुद्ध चैनपुर नगरपालिका–३ र ४ का १२ जना किसानले उजुर गरेका छन् । ठगीमा संलग्न आरोपीहरुमाथि जिल्ला अदालत संखुवासभाबाट म्याद लिएर थप अनुसन्धान भइरहेको इन्सपेक्टर खतिवडाले बताए ।

केही वर्षदेखि चैनपुरमा काठको कारोबार गर्दै आएका नरेद्र थापा ठगीका मुख्य योजनाकार हुन् । किसानले उजुर गरेपछि भागेका उनलाई ईप्रका चैनपुरले जिप्रका बाँकेको समन्वयमा नेपालगञ्जबाट पक्राउ गरेको हो । प्रहरीले कम्पनीको होर्डिङबोर्ड, लेटरप्याड, छाप र नक्कली प्रमाणपत्र बरामद गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप