बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक आन्दोलनप्रति नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले गरे यस्तो टिप्पणी

बुधबार, ०७ माघ २०७७, ११ : १९
बुधबार, ०७ माघ २०७७

काठमाडौं । नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले प्रतिनिधिसभा विघटनको विरोधमा सुरु भएको नागरिक आन्दोलनको समर्थन गर्दैै सफलताका लागि शुभकामना दिएका छन् ।

२०६२/०६३ को जनआन्दोलनका क्रममा नागरिक अगुवाका रुपमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका पाण्डेले भिडियो सन्देश जारी गर्दै मुलुकमा भइरहेको नागरिक आन्दोलनप्रति समर्थन जनाएका हुन् ।

उनले मुलुकमा शान्ति प्रक्रिया र लोकतान्त्रिक प्रणालीलाई सुनिश्चित गर्दै सो प्रणालीको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक, बौद्धिक, हर क्षेत्रको हिसाबले उत्कृष्ट समाज निर्माण गर्ने, दिगो शान्ति स्थापना गर्ने र जनताको अधिकार, मानवीय मर्यादा, शान्ति सुव्यवस्थाको साथै सामाजिक न्याय स्थापना गर्ने नै २०६२/०६३ को जनआन्दोलनको जनादेश रहेको पनि स्मरण गराएका छन् ।

‘सो आदेशको पालनामा राजनीतिक शक्तिहरुले कति समर्पणभाव देखाए, कति ध्यान दिए, कति विकृतिहरु मौलाए समाज–व्यवस्थामा, त्यो आफ्नो ठाउँमा छँदैछ,’ सन्देशमा उनले भनेका छन् । केही विकृतिहरु देखिएका र तिनलाई सुधार गर्ने ठाउँ रहे पनि त्यसलाई उपचार गर्नुको सट्टामा अहिले लोकतन्त्रमै प्रहार हुने गरी संसद विघटन भएको उनले बताए ।

प्रतिनिधिसभा विघटनलाई प्रत्येक संविधानविद्हरुले समेत असंवैधानिक घोषणा गरेको जिकिर गर्दै उनले त्यसको विरोधमा लोकतन्त्रलाई पुनर्स्थापन गर्ने, प्रतिगमनलाई छिर्न नदिने र समाज विकासको प्रक्रियालाई अगाडि बढाउने प्रण गरेर अहिले नागरिक आन्दोलन सुरु भएको उल्लेख गरेका छन् ।

नागरिक आन्दोलनको प्रशंसा गर्दै उनले भनेका छन्, ‘हामीहरुले केही वर्ष अगाडि गरेको कामलाई पुनर्जागृत गर्दै अलि बृहत र बढी ऊर्जावान किसिमले गर्ने जमर्को गरेको छ । त्यसले मलाई खुशी लागेको छ । यो कार्यमा सफल हुनुहोस् तपाईंहरु सबैजना भन्ने शुभकामना व्यक्त गर्दछु ।’

डा. पाण्डेले लोकतान्त्रिक प्रणाली आधुनिक समाजको निम्ति जति अपरिहार्य ठह¥याइन्छ, त्यसको आधारमा आर्थिक, सामाजिक, सांस्कृतिक विकास गर्ने र त्यसको निम्ति संस्थागत व्यवस्था गर्न, त्यसलाई सुदृढ गर्न आवश्यक संस्कृति मौलाउन लगाउने काम अत्यन्त गाह्रो हुने पनि प्रस्ट पारेका छन् ।

‘जानिफकारहरुले के पनि भनेका छन् भने लोकतान्त्रिक शासन व्यवस्थालाई प्रत्येक पिढीले नवीकरण गर्नुपर्छ । प्रत्येक पिढीले नयाँ ऊर्जा दिनु पर्छ,’ सन्देशमा उनले भनेका छन्, ‘किनभने यो आफैमा साह्रै अपरिहार्य हुँदा हुँदै पनि साह्रै कठिन व्यवस्था पनि हो । यसमा प्रतिस्पर्धा पनि हुन्छ, फेरि आधारभूत कुरामा सबै परस्पर विरोधी शक्तिहरुले मिलेर काम पनि गर्नुपर्छ, मुलुक र जनताको हितको निम्ति ।’

यस्तो व्यवस्थालाई संस्थागत गर्ने काम कहिल्यै पूरा नहुने उनको भनाइ छ । ‘त्यही काममा समेत अहिलेको आन्दोलन लागेको हो भन्ने मैले बुझेको छु,’ उनले भनेका छन्, ‘विघटित संसद पुनर्स्थापना गर्नेमात्र तपाईहरुको अभिप्राय होइन होला भन्ने मैले ठानेको छु ।’

२०६२/०६३ को आन्दोलन यता भएका विकृतिहरुको उपचार गर्दै अरु संरचनागत, प्रणालीगत, संस्कृतिगत, मान्यतागत जे जस्ता सुधारहरु गर्नुपर्ने छ, सो काममा पनि राजनीतिक शक्तिहरुलाई घचघच्याउने, दबाब दिने काम जारी नै रहोस् भन्ने चाहना पनि उनले भिडियो सन्देशमार्फत् व्यक्त गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप