बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

टोखाको न्यायिक समितिमा २७ उजूरी

बुधबार, ०७ माघ २०७७, १६ : ११
बुधबार, ०७ माघ २०७७

काठमाडौं । टोखा नगरपालिकाको न्यायिक समितिमा चालू आर्थिक वर्ष २०७७/०७८ को छ महिनामा २७ उजूरी दर्ता भएका छन् ।  काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा अधिकांश उजूरी बाटोको विवाद, जग्गाको सीमाना मिचिएकोलगायतका उजूरी दर्ता भएका हुन् ।

न्यायिक समितिका संयोजक एवम् नगरपालिकाका उपप्रमुख ज्ञानमायाँ डङ्गोलले जग्गाको सिमाना विवाद, बाटोको विवाद, महिला हिंसासम्बन्धी उजूरी न्यायिक समितिमा पर्ने गरेको जानकारी दिए । सम्बन्ध विच्छेद, करारनामा कार्यान्वयन, भत्किएको घर टहरा हटाई जग्गा खाली गरीपाउँ भन्नेलगायतका उजूरीसमेत पर्ने गरेका छन् । 

टोखामा आर्थिक वर्ष २०७४/०७५ मा ३१, आव २०७५/०७६ मा ३६, आव २०७६/०७७ मा ३९ उजूरी परेका थिए । आव २०७६/०७७ मा दर्ता भएका ३९ उजूरीमध्ये छ वटा निर्णय गरिएको, आठ मुल्तबीमा रहेको, एक काठमाडौँ जिल्ला अदालतमा पठाएको, नौ मिलापत्र गरिएको र बाँकी १३ वटा कारबाहीको प्रक्रियामा रहेको संयोजक डङ्गोलले बताए ।

टोखाको न्यायिक समितिमा उपप्रमुख डङ्गोलको संयोजकत्वमा गोपीकृष्ण पाठक, चन्द्रप्रकाश श्रेष्ठ, दुर्गाप्रसाद अर्याल र सत्यनारायण डङ्गोल सदस्य रहेका छन् । सदस्य अर्याल र डङ्गोल कानूनी सल्लाहकारका रुपमा रहेका छन् । नगरपालिकामा आउने उजूरी सबै लिखितरुपमा नै आउने गरेका छन् । 

चालू आवमा न्यायिक समितिमा उजूरी गत वर्षका तुलनामा आउने क्रम बढेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा पर्ने मुद्दाको सुनुवाईका लागि प्रत्येक सोमबार इजलास बस्दै आएको छ । मुद्दाको आवश्यकता हेरेर इजलास बस्ने दिनपनि बढाइने गरेको उपप्रमुख डङ्गोलले बताए । टोखा नगरपालिकामा ११ वडा छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप