शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मानव अधिकारकर्मी कृष्ण पहाडीको टिप्पणी– प्रधानमन्त्री ओली ‘स्टालिन’ शैलीका नेता

बुधबार, ०७ माघ २०७७, १६ : ४२
बुधबार, ०७ माघ २०७७

सुर्खेत । मानव अधिकारकर्मी कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओली ‘स्टालिन शैली’का नेता रहेको टिप्पणी गरेका छन् । मानव अधिकार तथा शान्ति समाज सुर्खेत शाखाले आयोजना गरेको प्रतिगमन विरुद्धको नागरिक सभालाई बुधवार सम्बोधन गर्दै पहाडीले प्रधानमन्त्रीले सत्ता नै अन्तिम सत्य ठानेर काम गरेको आरोपसमेत लगाए । 

मानव अधिकारकर्मी पहाडीले प्रधानमन्त्री ओलीको सनकका भरमा संविधानको हत्या भएको टिप्पणीसमेत गरे । ‘अहिले हाम्रो घरमा आगो लागेको छ, प्रतिनिधिसभा विघटन प्रतिगामी छ’, पहाडीले भने । प्रधानमन्त्री ओलीकै कारण मुलुक गृहयुद्धमा जाने र देश सैनिकीकरण हुने खतरा रहेको भन्दै उनले हरेक सचेत नागरिकले प्रतिगामी कदमको विरोध गर्नैपर्ने जिकिर गरे । 

‘नेपालमा एउटा भनाइ छ, चोरले समेत तीन घर छाडेर चोर्छ तर उहाँ (प्रधानमन्त्री)ले तीनै घरमा आगो लगाइदिनुभयो’, उनले भने । उनका अनुसार प्रधानमन्त्रीले आगो लगाएका ती तीन घर भनेको पार्टी, संसद र संविधान हो । यी तीनै ठाउँमा प्रधानमन्त्रीको सनककै कारण आगो लागेकाले यसका विरुद्ध सडकमा जनता उत्रनु पर्ने उनको भनाइ छ ।  

संविधानसभाका अध्यक्षसमेत रहेका सुवास नेम्वाङले प्रधानमन्त्री ओलीको ‘सेनापति’ को भूमिका निर्वाह गरेको आरोपसमेत पहाडीले लगाए । प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैन भनेर बारम्बार भन्ने गरेका नेम्वाङले अहिले आफ्नो बोली फेरेको उनको भनाइ थियो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन रिटका सम्बन्धमा निर्णय आउन जति ढिला हुँदै जान्छ, उति नै ओलीका असंवैधानिक काम बढ्दै जाने पहाडीले बताए । संविधानलाई जीवित राख्नका लागि पनि प्रतिनिधिसभा बौरिनुपर्ने बताउँदै उनले ओलीको पछिल्लो कदमकै कारण विदेशीले थप चलखेल गर्ने अवसर पाएको बताए ।

समृद्धिको नारा दिने ओलीको पालामा राजा ज्ञानेन्द्र शाहको पालामा भन्दा पनि धेरै पटक मानव अधिकारीकर्मीहरु  पक्राउ परेको पहाडीको दावी छ । प्रेसमा नियन्त्रण, फोन ट्यापिङ आदिसम्बन्धी अध्यादेश ल्याएर ओली सरकारले जनतालाई थप पीडा दिने काम गरेको पनि उनले बताए । ओलीको अतिवाद विरुद्ध लड्नैपर्ने बताउँदै उनले यो लडाइँमा कति समय लाग्ने भन्ने यकिन नभए पनि लड्नुको विकल्प नभएकाले सबै एकजुट भएर लड्नुपर्ने औंल्याए ।
कार्यक्रममा शान्ति समाजका सभापति उत्तम पुडासैनीले संविधानमा रहेका कमी कमजोरी सच्याउन सकिने भए पनि त्यतातिर नलागेर प्रधानमन्त्री ओलीले संविधान फेल गराउने काम गरेको आरोप लगाए ।

समाजका वरिष्ठ उपसभापति गोविन्द खनालले प्रधानमन्त्री ओली तत्कालीन राजा ज्ञानेन्द्रकै पथमा हिँडेको आरोप लगाउँदै जनताले ज्ञानेन्द्रलाई जसरी नै ओलीलाई पनि निष्तेज गर्ने बताए । ओलीले दुई तिहाई बहुमत र ५० लाख लोकप्रिय मत जसरी पनि ल्याउने घोषणा गरेका कारण निर्वाचन निष्पक्ष नहुने उनको दावी छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप