बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जब पत्रकारहरु बोले र नेताहरुले गम्भीर भएर सुने

बुधबार, ०७ माघ २०७७, १७ : ५४
बुधबार, ०७ माघ २०७७

नेताहरु बोल्छन्, पत्रकारहरुले सुन्छन् । नेताहरुले सुनाउँछन्, पत्रकारहरुले सुनिदिन्छन् । नेताले बोलेका र सुनाएका कुराबाट मुलुकको राष्ट्रिय राजनीतिका गतिविधिहरु, त्यसका दशा र दिशाहरुबारे जानकारीहरु प्राप्त हुने गर्छन् । नेताले बोलेका, सुनाएका कुराहरु पत्रकारका लागि खबर, समाचार र विश्लेषणका विषयवस्तुहरु बन्ने गर्छन् र ती प्रचार प्रसार हुन्छन् । आम प्रचलन यही हो l

तर, कहिलेकाहीँ यस्तो अवस्थामा पनि आउँदो रहेछ, जब पत्रकारहरु बोलिरहेका र नेताहरु चाहिँ गम्भीर भएर सुनिरहेका हुन्छन्। आज त्यस्तै भयो । पत्रकारहरुले मन खोलेर बोले l नेताहरुलाई आआफ्ना कुरा सुनाए l उनीहरुले राष्ट्रिय राजनीतिमा देखापरेका कमी कमजोरी एवं विसंगतिहरुको उधिनपाधिन गरे l अनि नेताहरुले त्यसलाई गम्भीर भएर सुने l आफ्ना डायरीमा टिपोट गरे।

यो दृश्य दरवारमार्गस्थित याक एण्ड यति होटेलभित्रको हो, जुन कार्यक्रम नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-माधव पक्षले सम्पादकहरुसँग अन्तरक्रिया गर्न आयोजना गरेको थियो l

 प्रधानमन्त्री केपी ओलीले संविधानलाई कुल्चिँदै प्रतिनिधिसभा भंग गरेपछि यतिखेर मुलुक तरंगित छ । राष्ट्रिय राजनीति अत्यन्तै संवेदनशील र अन्यौलपूर्ण अवस्थामा पुगेको छ । सत्तारुढ नेकपाभित्रको अन्तरसंघर्षको महाविस्फोट भएको छ । सम्भवतः अपजसको भारी बोक्नुपर्ने दोषबाट बच्न कुनै पनि पक्षले पार्टी फुटेको औपचारिक रुपमा घोषणा नगरेपनि यतिखेर व्यवहारत नेकपा विभाजित भएको छ ।

प्रधानमन्त्री ओलीको कदमबाट समग्र मुलुक यतिखेर पीडित छ । जनताको बलिदानी संघर्षले ल्याएका गणतन्त्र, संघीयता र समावेशी लोकतन्त्रमाथि कालोबादल छाएको छ । उनको स्वेच्छाचारी कदमले मुलुक मात्रै हैन, स्वयं सत्तारुढ पार्टीका, कुनै बेला ओलीलाई शीरमा राखेर बसेका उनकै सहकर्मी नेताहरु पनि पीडित छन् । पत्रकारहरुसँगको अन्तरक्रियामा नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले त मुखै खोलेर बह पोखे, 'हामी नेताहरु नै प्रधानमन्त्री ओलीबाट पीडित छौं । त्यो पीडित हुने क्रम अहिलेदेखिको हैन, तत्कालीन नेकपा एमालेको नवौं महाधिवेशनमा ओली अध्यक्ष चुनिएदेखिकै हो ।

प्रधानमन्त्री ओलीले संविधान मिचेर तथा गणतन्त्र–लोकतन्त्र र विगतका संघर्षहरुको मर्मलाई कुल्चेर प्रतिगमनकारी कदम चलेका हुन् भन्ने कुरामा अन्तरक्रिया कार्यक्रममा उपस्थिति सबैको करिब करिब सहमति थियो ।

कार्यक्रममा पत्रकारहरुले आफ्ना विचार खरो ढंगले राखेका थिए । उनीहरुले जनताको मनमा अहिलेको संघर्ष फगत सत्ता संघर्ष रहेको, कुर्सीको लागि नेताहरुबीचको छिनाझप्टी रहेको भन्ने परेको, अहिलेको अवस्था आउनमा राजनीतिक नेताहरु सबै नै जिम्मेवार रहेको, थिति, अनुशासन र विधि पद्दतिलाई उल्लंघन गर्ने काम बारम्बार हुँदा त्यसका विरुद्ध आवाज उठाउने र हस्तक्षेप गर्ने काम नभएको, पार्टीभित्रै अनुशासन र पद्दति बसाउन नसकेको र राज्यसत्ता सञ्चालनमा पनि त्यो देखिएको, राम्रालाई हैन, हाम्रालाई चयन गर्ने प्रवृत्तिले प्रश्रय पाएको जस्ता कुराहरु निर्धक्क राखेका थिए ।

पत्रकारहरुले प्रष्ट भाषामा सन्देश दिए– अहिलेको संघर्षमा पत्रकारहरुले साथ दिएका छन्, यसको अर्थ नेताहरुलाई साथ दिएको अर्थमा नबुझ्नुहोला, भोलि सत्तामा पुग्दा तपाईंहरुमा देखिने प्रवृत्ति यही रह्यो भने त्यसबेला पनि पत्रकारहरुले आवाज बुलन्द गर्नेछन्, संघर्ष गर्नेछन्।

अन्तरक्रिया कार्यक्रमको सुखद पक्ष के रह्यो भने नेताहरुको आत्मालोचना र बिषयको गाम्भीर्यता आत्मसात गरे l पत्रकारहरुले राखेका र उठाएका कुराहरुलाई नेताहरुले आत्मबोध गरे, एक हदसम्म स्वीकारे र आफूहरुले त्यसलाई सच्याउने दिशामा गम्भीर ढंगले लाग्ने बचनबद्धता पनि प्रकट गरे।

संघर्षको कार्यक्रम गर्दा नेताहरुले बोलेका भाषामा शिष्टता र मर्यादा नभएको पक्षलाई ख्याल गर्नुपर्ने पत्रकारहरुका सुझावलाई मञ्चमा बसेका नेताहरुले स्वीकारे । आफूहरुको अन्तर्य अशिष्ट–अमर्यादित बनेर दन्तबझान गर्ने नभई कहिलेकाँही अर्को पक्षले लगाएका फत्तुरलाई प्रतिवाद गर्दा त्यस्तो भएको हुन सक्ने र त्यसलाई सच्याउने प्रतिबद्धता व्यक्त गरे ।

अन्तरक्रिया कार्यक्रममा मञ्चमा आसीन नेकपा प्रचण्ड-माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालका प्रस्तुति यस अर्थमा पनि राम्रो थियो कि उनीहरुले पत्रकारहरुले उठाएका सवालहरुको अन्तरवस्तुलाई मनन गरे, त्यसका अन्तर्यप्रति गम्भीर बने र सबैभन्दा मुख्य कुरा आफूहरु सच्चिने, विगतमा भएका कमी कमजोरीहरुलाई हटाउने र थिति, अनुशासन र पद्दति बसाल्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा अध्यक्ष प्रचण्डले जटिल र कठिन परिस्थितिमा उभिएका पार्टीहरुलाई दिइएका सुझाव औषधीका रुपमा ग्रहण गरिने प्रष्ट पारेका थिए l

अब हेर्नुपर्ने कुरा भनेको उनीहरु यो कुरामा कत्तिको प्रतिबद्ध रहन्छन् ? भोलिका दिनहरुमा त्यसलाई परिपालना गर्ने गराउने सवालमा कत्तिको गम्भीर हुन्छन् ? त्यो कुराले नै उनीहरुको सही र वस्तुवादी मूल्यांकन हुनेछ । अन्यथा, अहिले संकटको बेलामा पत्रकारहरुलाई हारगुहार गरेर मीठो बोली बोलेर फकाएको मात्र ठहरिनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चन्द्र खाकी
चन्द्र खाकी
लेखकबाट थप