शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाविरुद्धको खोप सबै जिल्लामा एकैसाथ सुरु गर्ने सरकारको अभियान, यसरी गरिनेछ वितरण

बुधबार, ०७ माघ २०७७, २१ : १४
बुधबार, ०७ माघ २०७७

काठमाडौं । नेपालमा कोरोनाविरुद्धको खोप बिहीबार आउने भएपछि अब पहिला कसले पाउँछ ? कहाँ कहाँबाट खोप पाउन सकिन्छ ? प्रदेश तथा स्थानीय तहमा खोप कहिले पुग्छ भन्ने सबैको मनमा उब्जिएको प्रश्नको जवाफ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार पत्रकार सम्मेलनमै स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले दिएका छन् ।

भारत सरकारका अनुदान सहयोगमा कोरोनाविरुद्धको खोप १० लाख डोज भोलि अर्थात बिहीबार नेपाल आउने स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले बताए । गत सोमबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैै मन्त्री त्रिपाठीले फागुन महिना व्यक्तिगत जीवन लागि शुभ भएको बताउँदै नेपालमा छिट्टै खोप आउने संकेत दिएका थिए । 

‘यसअघि फागुन महिना मेरो लागि रामो हुन्छ,’ उनले भने, ‘खोप माघको पहिलो साता आइपुग्ने भयो मलाई कारबाही हुँदैन होला नि’ भनेर ठट्टा गर्न समेत गर्न भ्याए। उनका अनुसार नेपालले अनुदान स्वरुप प्राप्त गर्ने १० लाख डोज खोप  कोरोना युद्धमा जुजेका व्यक्तिहरुले पाउने छन् । नेपालको कुल जनसंख्या मध्ये २ करोड १६ लाख अर्थात ७२ प्रतिशतलाई निशुल्क खोप दिने सरकारले निर्णय गरेको छ । कोरोनाविरुद्धको पहिलो खोप अभियानमा ७२ प्रतिशत जनसंख्या मध्ये ३ प्रतिशतलाई राज्यले मुख्य प्राथमिकतामा पर्ने मन्त्री त्रिपाठी बताउँछन् । 

कोरोनाविरुद्धको खोप पहिलो अभियानमा पर्ने ३ प्रतिशत जनसंख्या भनेको ६ लाख ४८ हजार फन्टलाइनर पर्छन् । अभियानको सुरुवाती चरणमा प्राथमिकतामा पर्नेहरुमा स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्सका चालक, शव व्यवस्थापक, सुरक्षाकर्मी हुने छन् । तर, भारतले अनुदानमा दिने १० लाख डोज खोप मुख्य फन्टलाइनलरलाई दिएर पनि पहिलो डोज  जोखिममा रहेका ३ लाख ५२ हजार जनाले पाउने स्वास्थ्य मन्त्री त्रिपाठीले बताए । कोरोना महामारीको युद्धमा खटिने योद्धालाई खोप दिइसकेपछि जोखिम रहेका व्यक्तिलाई खोप दिने मन्त्री त्रिपाठीको भनाइ छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज खोपले  मात्रै नेपालमा फैलिएको महामारीको जोखिमलाई कम हुन सक्दैन । यस महामारीमा संक्रमण फैलिन कम गर्नका लागि सरकारले तीव्र रुपमा खोप खरिद प्रक्रियालाई अगाडि बढाउन पर्ने जनस्वास्थ्य विज्ञहरुले सुझाब दिएका छन् । फ्रन्टलाइनरलाई खोप दिएर रहेको बाँकी खोप वितरण शैलीलाई पारदर्शी बनाउनुपर्ने ती जनस्वास्थ्य विज्ञले बताए ।

नेपाल र भारतबीचको मित्रता अनुरुपउदाहरणीय भएको भन्दै भावी दिनहरुमा खोप खरिदका लागि पनि सहयोग गर्ने अपेक्षा व्यक्त समेत मन्त्री त्रिपाठी गरे । भारत सरकारले छिमेकी राष्ट्र जनतालाई खोप दिनका लागि राजनीतिक निर्णय गरेको थियो । 

नेपालसँगै भूटान, मालदिभ्स, बंगलादेश र म्यांमारलाई कोरोनाविरुद्धको खोप अनुदानमा दिने निर्णय गरेको थियो । केही दिनअघि मात्रै औषधि व्यवस्था विभागले भारतको सीरम इन्स्टीट्यूटले निर्माण गरेको कोरोनाविरुद्धको कोभिसिल्ड खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको थियो । स्वास्थ्य मन्त्रालयको कार्यभार समालेपछि मन्त्री त्रिपाठीले ३ पटक पत्रकार सम्मेलन गरे । त्यसक्रममा उनले स्वास्थ्य सामग्री खरिद प्रक्रियालाई पारदर्शी ढङगले अगाडि बढाउने पटकपटक दोहो-याउँदै आएका छन् ।

 ‘मैले पारदर्शी तरिकाले काम गर्छु,’ उनले भने, ‘अपारदर्शी कुनै पनि खालको फाइलमा ओम पनि लेख्नेछैन,’ भारत सरकारले सहयोग गरेको खोपले महामारीसँग लड्नका लागि ठूलो राहत दिने उनले सुनाए । 

खोप अभियान ७७ जिल्लामा एकै साथ सुरु

सरकारले कोरोनाविरुद्धको खोप अभियानको तयारी अन्तिम चरणमा पुगेको छ । अनुदानमा आएको कोभिसिल्ड नामक खोप पहिलो डोज फ्रन्टलाइनमा खटिएकालाई दिने निर्णय गरेपनि दोस्रो डोज कहिले दिने भनेर निर्णय भएको छैन । यसअघि रातोपाटीसँग कुरा गर्दै स्वास्थ्य मन्त्री त्रिपाठीले नेपालमा खोप आएको एक हप्ता भित्र वितरण गर्ने बताएका थिए । खोप लगाउने व्यक्तिलाई मन्त्रालयले कार्ड दिनेछ । हाल खोप दिइनेहरुको नामावलीको इन्ट्री कार्य भइरहेको छ । 

खोप खरिदका लागि सबै तयारी पूरा 

नेपाल सरकारले खोप खरिदका लागि तयारी पुरा गरेको उनले बताए । खोप खरिदको लागि आर्थिक र प्रशासनिक कुनै जटिलता नरहेको समेत उनको भनाइ छ । सरकारले कोरोनाविरुद्धको खोप उत्पादन गर्ने ६ वटा देशलाई कुटनीतिक नोट पठाएको छ । विश्वभरि नै कोरोना महामारी फैलिएकाले उत्पादक कम्पनीबाट सिधै खोप किन्न सक्ने अवस्था नभएकाले खोप उत्पादन गर्ने देशसँग व्यक्तिगत प्रभावको आधारमा समेत आगडि बढको मन्त्री त्रिपाठीले बताए ।

विश्व बजारमा उत्पादन भएका खोपमध्ये नेपालसँग भएको पूर्वाधारले दुईदेखि आठ डिग्री सेन्टिग्रेटको खोपहरुलाई सहज रुपमा भण्डारण, ढुवानी गर्न सकिन्छ । नेपालको  रोजाइमा दुईदेखि आठ डिग्री सेन्टिग्रेडमा राख्न सकिने खोप परेको छ ।  भारतले कोरोनाविरुद्धको खोपसम्बन्धी नेपाल लगाएत ६ देशका स्वास्थ्यकर्मीहरुलाई भर्चुअल माध्यमबाट प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालय अन्तरगतको खोप महाशाखाले नेपालसँगै माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंगोलियालाई खोपसम्बन्धी पहिलो प्रशिक्षण समेत दिएको छ । तालिम लिएका प्रशिक्षकहरुले भ्याक्सिन अभियानमा सहभागी  स्वास्थ्यकर्मीहरुलाई तालिम दिने छन् ।
खोप भण्डारणको लागि नेपालको क्षमता कति ?

२ देखि ८ डिग्रीमा भण्डारण गर्नुपर्ने खोपलागि कोल्ड चेन नेपालसँग उपलब्ध छ । सरकारले यसअघि नै माइनस २० डिग्री सेल्सियससम्मको खोप भण्डारको क्षमता बढाउनका लागि आवश्यक उपकरण खरीद गर्न ४ करोड रुपैयाँ विनियोजन गरेको थियो । कुल जनसंख्यामध्ये ७२ प्रतिशतलाई खोप दिइने सरकारले निर्णय गरेको छ । कोभ्याक्स फ्यासिलिटिमार्पmत २० प्रतिशतलाई पुग्ने खोप प्राप्त हुन्छ भने बाँकी सरकारले आफै खरीद गर्दा ४८ अर्ब रुपैयाँ बराबर खर्च लाग्ने सरकारले अनुमान लगाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप