शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालभित्र मनमुटाव बढ्दै

‘ओली कदम’ विरुद्धको आन्दोलनमा किन सहभागी हुँदैनन् राजकिशोर ?
बिहीबार, ०८ माघ २०७७, १६ : २६
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि विघटनविरुद्धको दोस्रो चरणको आन्दोलन सम्पन्न गरेको छ । माघ ७ गते दोस्रो चरणको आन्दोलन सम्पन्न गरेको जसपा नेपाल तेस्रो चरणको आन्दोलनको आन्तरिक तयारीमा जुटेको छ । तर सो पार्टीका एक शीर्ष नेता प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको ‘असंवैधानिक कदम’ विरुद्धको आन्दोलनमा सुरुदेखि नै सहभागी भएका छैनन् । उनी हुन्– पार्टीका कार्यकारिणी समिति सदस्य राजकिशोर यादव ।

प्रतिनिधिसभा विघटन सही हो भनेर उनी आन्दोलनमा सहभागी नभएका भने होइनन् । नत उनले प्रधानमन्त्री ओलीको कदमलाई समर्थन नै गरेका छन् । उनी जसपा नेपालप्रतिको असन्तुष्टिका कारण आन्दोलनमा सहभागी नभएका हुन् । उनले आफू अध्यक्षमण्डलका सदस्य रहेको राष्ट्रिय जनता पार्टी नेपाल र तत्कालीन समाजवादी पार्टीबीच उत्साहपूर्वक एकीकरण गराएका थिए । 

तर एकीकरणपछि समितिहरु बन्न लाग्दा उनी असन्तुष्ट बनेका थिए । सुरुमा कार्यकारिणी समिति बनाउँदा उनले असन्तुष्टि जनाएका थिए । कार्यकारिणी समितिमा उनी पक्षका एकजना नेतालाई पनि नराखेका कारण उनको असन्तुष्टि थियो । कार्यकारिणी समितिमा तत्कालीन राजपा नेपालका अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर र राजेन्द्र महतोले आफ्ना पक्षका अधिकांश नेता राखेका थिए तर अध्यक्षमण्डलका सदस्य राजकिशोर यादव र अनिलकुमार झाबाहेक उनी पक्षका एकजना नेतालाई पनि राखिएको थिएन ।

त्यसमा असन्तुष्टि जाहेर गरेपछि पार्टीमा छलफल भयो । छलफलपछि उनीहरुका पनि एक–एकजना नेतालाई कार्यकारिणी समितिमा राखिएको थियो । त्यसपछि राजकिशोर यादव पार्टीमा सक्रिय भएका थिए । तर जब केन्द्रीय समिति बन्न थाल्यो, अनि पुनः त्यही असन्तुष्टि दोहोरियो ।

तत्कालीन राजपा नेपालबाट केन्द्रीय समितिमा कति जना सदस्य पठाउने भन्नेमा विवाद भएको थियो । त्यतिबेला पनि तत्कालीन अध्यक्षमण्डलका सदस्यहरु महन्थ ठाकुर र राजेन्द्र महतोले आआफ्ना मान्छेहरु बढी राखेर केन्द्रीय सदस्यहरुको नामावली पठाएका थिए । त्यसपछि राजकिशोर यादवलगायतका केही नेताले आफ्नो तर्फबाट छुट्टै नामावली जसपा नेपालमा बुझाएका थिए । यसरी केन्द्रीय समितिको नामावलीलाई लिएर पार्टीमा विवाद देखिएपछि केन्द्रीय समितिको संख्या नै बढाइयो । 

केन्द्रीय समितिको विवाद सकेपछि समायोजनाको प्रकृया सुरु भयो । त्यतिबेला राजकिशोर यादव पनि पार्टीका बैठकहरुमा सहभागी हुन थालेका थिए । त्यतिकैमा पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । संसद विघटन भएपछि जसपा नेपालले तत्कालै प्रतिकृया जनाउँदै उक्त कदमको विरोध ग¥यो ।

राजकिशोर यादवले पनि प्रधानमन्त्री ओलीको कदमको विरोध गरे । सञ्चारमाध्यममा प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री ओलीको कदम लोकतन्त्र विरोधी रहेको भनेका थिए ।
जसपा नेपालले जब आन्दोलनको कार्यक्रम तय ग¥यो, अनि पुनः राजकिशोर यादव असन्तुष्ट देखिए । किनकि उनलाई कुनै जिम्मेवारी नै दिइएको थिएन । पहिलो चरणको आन्दोलन कार्यक्रममा उनलाई कुनै जिम्मेवारी दिइएको थिएन र उनी कतै पनि गएनन् । पहिलो चरणको आन्दोलनको कार्यक्रम सकिएपछि पुस २५ गतेदेखि दोस्रो चरणको आन्दोलनको कार्यक्रम तय भयो तर उनलाई वरीयताक्रममा विभेद गरियो ।

पार्टीले माघ ३ गते सिरहामा हुने विरोधसभाका लागि राजकिशोर यादवलाई त्यहाँ वक्ताको रुपमा पठाउने कार्यतालिका सार्वजनिक ग¥यो । तर उनलाई पार्टीको वरीयताक्रममा सबभन्दा पछाडि राखियो । एउटा पार्टीका अध्यक्ष भइसकेका, पूर्वमन्त्री समेत रहेका, सिरहाबाटै प्रतिनिधिसभा चुनाव जितेका उनलाई कार्यकारिणी सदस्यहरु रेणु यादव, प्रकाश अधिकारी, विजय यादवभन्दा तल वरीयतामा राखियो । जसका कारण उनी फेरि असन्तुष्ट भए । त्यही असन्तुष्टिका कारण उनी जसपा नेपालको कुनै पनि आन्दोलनमा सहभागी भएनन् ।

केन्द्रीय सदस्य एवं नेता राजकिशोर यादव निकट मानिने राहुल यादवले भने, उहाँ (राजकिशोर यादव) पार्टीका नेता हुनुहुन्छ, एउटा पार्टीको नेतृत्व गरेर समाजवादी पार्टीसँग एकीकरण गर्नुभएको हो तर जसपा नेपालमा उहाँलाई एउटा सामान्य कार्यकर्ताजस्तो पनि व्यवहार भएन । आन्दोलनको कार्यक्रम घोषणा त भयो तर उहाँलाई कुनै जिम्मेवारी दिइएन, त्यही भएर उहाँ कुनै पनि कार्यक्रममा सहभागी हुनुभएन ।’

पार्टीमा पद र मर्यादाको ठूलो महत्व हुने उनको भनाइ थियो । उनले प्रश्न गरे, ‘नत्र पार्टीमा किन चाहियो पदाधिकारी ? किन चाहियो वरीयताक्रम ?’ उनले पार्टीमै विभेद भएपछि अरुसँग लड्न कुन नैतिकताले जाने भनेर नै यादव आन्दोलनमा नगएको तर्क गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप