मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

जसपा नेपालमा तमलोपा र सद्भावना पार्टी ब्युँताउने अभ्यास

आइतबार, ११ माघ २०७७, १३ : ५७
आइतबार, ११ माघ २०७७

काठमाडौँ । जनता समाजवादी पार्टी गठन भएको १० महिना मात्र भएको छ । तर त्यसले पूर्णता नपाउँदै विभिन्न समस्या देखिन थालेका छन् । तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच गत वैशाखमा एकीकरण भएको थियो । समाजवादी पार्टीलाई फुटबाट जोगाउन रातारात गरिएको एकीकरणबाट बनेको जसपा नेपाल असारमा निर्वाचन आयोगमा दर्ता भयो । पार्टी दर्ता भएदेखि नै जसपा नेपालमा गुट बन्न थालेका थिए ।

अहिले ती गुट प्रस्ट रूपमा देखिन थालेका छन् । पछिल्लो समय जसपा नेपालमा तत्कलीन सद्भावना पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टी सक्रिय हुन थालेका छन् । तत्कालीन सद्भावना पार्टी र तमलोपा तथा अन्य दलहरू मिलेर राजपा नेपाल बनेको थियो । अहिले ती दल पुनः सक्रिय हुन थालेका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव आफ्ना तत्कालीन युवा सङ्गठनमार्फत देशैभरि सक्रिय हुन थालेपछि जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर आफ्ना पुराना तमलोपा र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्ना सद्भावना पार्टी ब्युँताउन थालेका छन् ।

तमलोपा ब्युताउनका लागि हृदयेश त्रिपाठीसँग पनि कुराकानी भइरहेको छ । अध्यक्ष महन्थ ठाकुर निकट एक नेताले भने, “हृदयेश त्रिपाठीले पनि तमलोपा ब्युँताउने पक्षमा हुनुहुन्छ । तमलोपा ब्युँतायो भने आफू पनि आउने भन्नुभएको छ । कुराकानी भइरहेको छ, हेरौँ के हुन्छ ।” केपी शर्मा ओली नेतृत्वको सरकारमा त्रिपाठी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री छन् ।

महन्थ ठाकुरको साथमा तमलोपा बनाउन मुख्य भूमिकामा रहेका त्रिपाठी राजपा नेपाल गठन गर्न पनि सक्रिय भएर लागेका थिए । तर पछि पदमा कुरा नमिल्दा उनी राजपा छाडेर आफ्नो छुट्टै राजनीतिक समूह बनाएका थिए । सो समूहमार्फत सूर्य चिन्हबाट चुनाव लडेका थिए । सूर्य चिन्हबाट चुनाव लडेपछि उनी तत्कालीन एमालेमा जाने पनि चर्चा चलेको थियो । तर हालसम्म उनी कुनै पार्टीमा प्रवेश गरेका छैनन् ।

त्यसको मुख्य कारण हो तमलोपाप्रतिको प्रेम । राजपा नेपालमा रहँदादेखि नै त्रिपाठीले तमलोपा ब्युँताउने प्रयास गरेका थिए । त्यसका लागि सो दलका नेताहरुसँग पटक पटक छलफल पनि गरेका थिए । तर कुरा मिलिरहेको थिएन । अहिले जसपाका अध्यक्ष ठाकुर नै तमलोपा समूहलाई सक्रिय बनाउनुपर्ने अवस्थामा पुगेका छन् । त्यस्तै भयो भने पार्टी नै ब्युँताइदिनेसम्मको सोच बनिरहेको छ । यसका लागि त्रिपाठीसँग पनि छलफल भएको स्रोतको दाबी छ ।

जसपा नेपालका केन्द्रीय सदस्य डा. सुरेन्द्र झा*ले तमलोपा ब्यँुताउने कुरालाई इन्कार गरेका छन् । उनले भने, “तमलोपा विघटन भइसकेको छ । त्यसको कुनै अस्तित्व छैन भने त्यसलाई ब्युँताउने कुरा हुनैसक्दैन । तमलोपाका संस्थापक अध्यक्ष महन्थ ठाकुर जसपा नेपालको पहिलो वरीयताको अध्यक्ष हुनुुहुन्छ । उहाँले जसपाबाहेक अरू कुनै पार्टी ब्युँताउने कल्पनासम्म गर्न सक्नु हुन्न ।” जसपा नेपाल सङ्घीयतावादी दल हो । यसमा नै सबैलाई गोलबद्ध गराउने अभियान चलिरहेको बताउँदै उनले तमलोपा ब्युँताउने कुरामा कुनै सत्यता नरहेको बताए ।

यता जसपा नेपालका वरिष्ठ नेता महतोले सद्भावना पार्टी ब्युँताउने भएको छ । हालै उनले गजेन्द्रनारायण सिंह अध्ययन केन्द्र गठन गर्न लगाएका छन् । जसपा नेपालका केन्द्रीय सदस्य अनिल महासेठलाई संयोजक बनाएर सो केन्द्र निर्माण गरेका हुन् । सो केन्द्रमार्फत महतो देशैभरि सक्रिय हुने स्रोतले दाबी गरेको छ । हालसम्म सो केन्द्रले तराई–मधेसका १७ वटा जिल्लामा आफ्नो सङ्गठन विस्तार गरेको छ । 

केन्द्रले काठमाडौँको अनामनगरमा कार्यालय सञ्चालन पनि गरेका छन् । सो कार्यालयबाट नै वरिष्ठ नेता महतो आफ्ना सम्पूर्ण भेटघाट तथा कार्ययोजनालाई पूरा गरिरहेका छन् । केन्द्रका संयोजक एवं जसपा नेपालका केन्द्रीय सदस्य अनिल महासेठले सद्भावना ब्युँताउने कुरामा कुनै सत्यता नरहेको दाबी गरे । उनले भने, “यो केन्द्र खोल्नुको उद्देश्य गजेन्द्रनारायण सिंहको विचार र योगदानलाई जीवित राख्नु तथा मधेसका युवामा राजनीतिक चेतना बढाउनुरहेको छ ।”

सबै जिल्लामा यो केन्द्रमार्फत पुस्तकालय खोल्ने र वैचारिक तथा राजनीतिक रूपमा युवालाई प्रशिक्षत गराउने योजना रहेको बताउँदै उनले सद्भावना पार्टी ब्युँत्याउनु नै थियो भने राजपा र त्यसपछि जसपा गठन नै हुने थिएन । जसपालाई नै बलियो बनाएर अगाडि बढ्ने प्रतिक्रिया उनले दिए ।

यसअघि डा. सुरेन्द्र चौधरी भएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप