बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

चुनावको तयारीमा जुटे निर्वाचन कार्यालय

आइतबार, ११ माघ २०७७, १७ : ०२
आइतबार, ११ माघ २०७७

काठमाडौं । सरकारले आगामी वैशाखको १७ र २७ गते आम निर्वाचनको घोषणा गरेसँगै जिल्ला निर्वाचन कार्यालय दोलखा निर्वाचनका तयारीमा जुटेको छ ।  कार्यालयले निर्वाचन आयोगको निर्देशनअनुसार प्रत्येक स्थानीय तहमा नामावली अद्यावधिक र हरेक मतदानस्थलको स्थलगत अनुगमनको काम अघि बढेको कार्यालय दोलखाका प्रमुख गोमा धमालाले जानकारी दिइन् ।

विसं २०७४ मा सम्पन्न भएको निर्वाचनमा  जिल्लामा तोकिएको मतदानस्थल मतदान केन्द्रका बारेमा परिवर्तन गर्नुपर्ने वा थपघट गर्नुपर्ने विषयमा गाउँपालिकाबाट सुझाव आएसँगै प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अवलोकन गर्ने र यही माघ १२ गते आयोजना गरेको बैठककमा सुझाव पेश गर्ने तयारी रहेको उनले बताइन् ।

कार्यालयले मतदाता नामवली अद्यावधिक तथा मतदानस्थलका विषयमा यही माघ ७ गते जिल्लाको सर्वदलीय बैठक बसी छलफल गरिसकेको छ । सर्वदलीय बैठकमा गौरिशङ्कर, शैलुङ र वैत्येश्वर गाउँपालिकाका विभिन्न वडामा रहेको मतदानस्थल परिर्वतन गर्नका लागि सिफारीस भएको थियो । सात गाउँपालिका र दुई नगरपालिका रहेको जिल्लाको स्थानीय तहमा तीन गाउँपालिकाबाट मतदानस्थल परिर्वतनका लागि सिफारीस भएसँगै प्रमुख जिल्ला अधिकारी रमेश शिवाकोटी सहित जिल्लाका सुरक्षा निकायका प्रमुखहरुको टोलीले अनुगमन गरिरहेको छ । सुरक्षा समितिको अनुगमनपश्चात् सुझावअनुसार मतदानस्थल परिर्वतन वा थप घट गर्ने विषयमा निणर्य हुने  कार्यालय प्रमुख धमलाले जानकारी दिइन् ।

निर्वाचनको घोषण गरेसँगै गतपुस ५ गतेदेखि तस्वीरसहितको मतदाता नामावली थप गर्न रोक लगाएपछि मतदाता नामावली अद्यावधिक गर्न लागिएको हो । एक सङ्घीय र दुई प्रदेश निर्वाचन क्षेत्र रहेको जिल्लामा  कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तहका केन्द्रमा मतदाता नामवली अद्यावधिक गर्न लागेको छ । 

उक्त कार्यक्रमअनुसार माघ १५ गते सबै मतदान केन्द्रमा मतदाता नामवली प्रकाशन हुने र १६ देखि १८ गतेसम्म मतदाता नाम वा विवरणमा भएको त्रुटि सच्याएन, दोहोरो नाम हटाउन, झुठो विवरण पेश भएका सच्याउनका लागि उजुरी गर्न सकिने जनाइएको छ ।  

 कार्यालयले प्रत्येक स्थानीय तहमा निर्वाचन सम्पर्क व्यक्तिको छनोट गरिसकेको छ । सात गाउँपालिकाबाट पाँचौँ तहका कर्मचारी र दुई नगरपालिकाबाट छटौँ तहका कर्मचारीमध्येबाट स्थानीय तह निर्वाचन सम्पर्क व्यक्ति छनोट गरिसकेको छ । छनोट भएका निर्वाचन सम्पर्क व्यक्तिलाई कार्यालयले आज १ दिनको प्रशिक्षण आयोजना समेत गरेको छ । स्थानीय तह निर्वाचन सम्पर्क व्यक्तिलाई तालीम दिइसकेपछि प्रत्येक स्थानीय तहमा खटाउने तयारी भइरहेको छ । 

१० हजार मतदाता वृद्धि 
डडेल्धुरा– डडेल्धुरामा पछिल्लो तीन वर्षमा १० हजार बढीले मतदाता सङ्ख्या बढेको छ । विसं २०७४ को निर्वाचनमा ३८ हजार ५२६ महिला र ३७ हजार २५४ पुरुष गरी मतदाताको सङ्ख्या ७५ हजार ७८० थियो । आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचन कार्यालयको तथ्याङ्गअनुसार यस वर्ष पुससम्म मतदाताको सङ्ख्या ८६ हजार १०१ पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्याको बढेको छ । महिलाको सङ्ख्या ४३ हजार ३५९ छ भने पुरुषको सङ्ख्या ४२ हजार ७४२ पुगेको छ ।  विसं २०७४ पछि तीन वर्षको अवधिमा १० हजार ३२१ ले मतदाता बढेको जिल्लामा ७७ मतदानस्थल र ११० मतदान केन्द्र रहेका छन् । यस वर्ष मतदाता सङ्ख्या बढेकाले मतदानस्थल तथा मतदान केन्द्र बढाउने तयारी भइरहेको कार्यालय प्रमुख कृष्णसिंह नायकले जानकारी दिए ।

निर्वाचन आयोगले यही माघ १५ गतेदेखि २१ गतेसम्म देशभरका सबै स्थानीय तहका केन्द्रमा मतदाता नामावली आद्यावधिक कार्यक्रम सञ्चालन गर्न निर्देशनअनुसार जिल्लामा पनि मतदाता नामावली अद्यावधिक गर्न लागिएको छ । 

तस्बिरसहितको मतदाता नामावली सङ्कलन 

डोटी– जिल्लामा तस्वीरसहितको मतदाता नामावली सङ्कलन शुरुआत भएको छ । जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन कार्यलाई तीव्रता दिएको छ ।  जिल्लामा निर्वाचनसम्बन्धी गतिविधि व्यापकरुपमा अघि बढेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख दलबहादुर मलासीले जानकारी दिए । उनले भने, “वैशाखमा हुने निर्वाचनका लागि हामीले सबै कार्य अगाडि बढाएका छौँ, निर्वाचनको तयारीका विषयमा सरोकारवालासँग छलफल पनि भइरहेको छ ।”

आयोगले यही माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने तयारी गरेकोसमेत उनले जानकारी दिए । कार्यालयका अनुसार विसं २०७४ मा भएको निर्वाचनभन्दा आगामी वैशाखमा हुने निर्वाचनमा कम्तीमा पनि १० प्रतिशत मतदाता थपिने भएका छन् । विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा जिल्लामा कूल ५७ हजार ४०० महिला र ४९ हजार १४३ पुरुष गरी कूल एक लाख छ हजार ५४३ मतदाता रहेका थिए । उक्त निर्वाचनमा सङ्घीय प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ ६९ हजार ३२ अर्थात् ६४।७९ प्रतिशत मत खसेको थियो भने समानुपातिकतर्फ ६९ हजार १४९ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ । 

खसेका मतमध्ये प्रत्यक्षतर्फ तीन हजार ९१० र समानुपातिकतर्फ सात हजार ४१६ मत बदर भएको निर्वाचन कार्यालयको तथ्याङ्कमा उल्लेख गरिएको छ ।  कार्यालयका अनुसार जिल्लामा अहिले कूल मतदाता सङ्ख्या एक लाख १७ हजार ६१७ रहेको छ । जिल्ला निर्वाचन कार्यालयले यही माघ १५ गतेदेखि २१ गतेसम्म दाबी विरोधको समयसमेत तोकेको छ । जिल्लाका कूल महिला ६२ हजार ३४१ र पुरुष ५५ हजार २७६ मतदाता रहेका छन् । माघ १५ देखि २१ सम्म नौवटै स्थानीय तहको कार्यालयमा दाबी विरोधको समय राखिएको छ । उक्त अवधिमा मतदाता नामावलीमा भएको नाम सच्याउने, नाम हटाउने, केन्द्र सच्याउने जस्ता काम हुने कार्यालय प्रमुख मलासीले जानकारी दिए ।

जिल्लामा आठ वटा मतदान केन्द्र बढ्नसक्ने सम्भावना रहेको बताइएको छ । विसं २०७४ को निर्वाचनमा जिल्लाका ११५ स्थानमा कूल १५७ मतदान केन्द्र रहेका थिए । अहिले मतदाता सङ्ख्या बढेकाले १६४ वा १६५ सम्म हुने सम्भावना रहेको कार्यालयले जनाएको छ ।  दिपायल सिलगढी नगरपालिका–६ मा रहेको साविकको शैलेश्वरी विद्यालयको मतदान केन्द्र र बडीकेदार गाउँपालिका–४ डिकेवनमा रहेको केन्द्र सार्नुपर्ने अवस्था रहेको  कार्यालय प्रमुख मलासीले बताए ।

उनले भने– “सिलगढीमा रहेको शैलेश्वरी विद्यालय अर्को विद्यालयमा  गाभिइसकेको हुँदा त्यहाँबाट केन्द्र सार्नुपर्ने देखिन्छ ।  बडिकेदारको डिकेवनमा रहेको वडा कार्यालयमा आगजनी भएपछि भवन नभएका कारण मतदान केन्द्र सानुपर्ने अवस्था आएको छ ।” मतदान स्थलहरु थप्नु पर्ने जनाउँदै विभिन्न क्षेत्रबाट माग आएको भए पनि व्यवस्थापन गर्न समस्या हुने भएकाले तत्काल थप्नका लागि निकै गृहकार्य गर्नु उनको भनाइ छ । 

आयोगको निर्देशनअनुसार जिल्ला निर्वाचन कार्यालयले निर्वाचनसम्बन्धी कार्यक्रमहरु अघि बढाइरहेको बताइएको छ ।

जिल्ला निर्वाचन कार्यालय तयारीमा  

फुङ्लिङ–जिल्ला निर्वाचन कार्यालय तापलेजुङले मतदाता नामावली अद्यावधिक, दाबी विरोध र संशोधनसहितका कार्यक्रम शुरुआत गरेका छ । स्थानीय तहको केन्द्रलाई आधार मानी गत पुस ५ गतेसम्म दर्ता भएका  मतदाताको नामावली प्रकाशन यही माघ १५ गते गरी १६ गतेदेखि १८ सम्म नाम सच्याउने र दाबी विरोधका लागि उजुरी दिने, २१ गतेभित्र छानविन गरी नाम हटाउन परेका निवेदनउपर सुनुवाइ गर्ने र माघ २६ गते अन्तिम नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गर्ने कार्यालयले जनाएको छ ।

जिल्ला निर्वाचन अधिकारी मोहनप्रसाद कोइरालाका अनुसार प्रतिनिधिसभाको एक निर्वाचन क्षेत्र रहेको जिल्लामा ८५ हजार ४६७ मतदाता छन् । ती मध्ये ४० हजार १४५ महिला र ४५ हजार ३२२ पुरुष रहेको प्रस्तुत तथ्याङ्कमा उल्लेख गरिएको छ । जिल्लाको एकमात्र फुङ्लिङ नगरपालिकामा आठ हजार ३५६ महिला र आठ हजार ३९८ पुरुष गरी १६ हजार ७५४ मतदाता रहेका छन् ।

यस्तै आठराई त्रिवेणी गाउँपालिकामा चार हजार ३६९ महिला र चार हजार ९०२ पुरुष गरी नौ हजार २७१, मैवाखोला गाउँपालिकामा तीन हजार ३९५ महिला र तीन हजार ८३५ पुरुष गरी सात हजार २३०, मेरिङदेन गाउँपालिकामा तीन हजार ७९६ महिला र चार हजार ४ ५२ पुरुष गरी आठ हजार २४८ जना मतदाता रहेका छन् । 

यस्तै मिक्वाखोला गाउँपालिकामा दुई हजार ९०६ र तीन हजार ४९४ पुरुष गरी छ हजार ४००, सिदिंवा गाउँपालिकामा तीन हजार ८६८ महिला र चार हजार ६६० पुरुष गरी आठ हजार ५२८, सिरिजङ्गा गाउँपालिकामा पाँच हजार २२३ महिला र पाँच हजार ९४९ पुरुष गरी ११ हजार १७२, पाथिभरा याङ्वरक गाउँपालिकामा चार हजार ३०३ महिला र चार हजार ८७७ पुरुष गरी नौ हजार १८० र फक्ताङलुङ गाउँपालिकामा दुई हजार ९२९ महिला र चार हजार ७५५ पुरुष गरी आठ हजार ६८४ जना मतदाता रहेका छन् । 

कामका लागि तीव्ररुपमा तयारी थालिएको जिल्ला निर्वाचन अधिकारी कुमार भट्टराईले बताए । राजनीतिक दलका नेताहरुले कोभिड– १९ का कारण रोजगारी गुमाएर फर्केका र नामावलीमा नाम छुट भएका नागरिकको मताधिकार सुरक्षित गर्न नाम दर्ताको म्याद माघ महिनाभर बढाउनका लागि आयोगसँग माग गरेका छन् ।

नामावली अद्यावधिक गर्ने समय लम्ब्याउन माग

पाँचथर– जिल्लास्थित सरोकारवालाले निर्वाचन आयोगद्वारा तय भएको मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रमको समय लम्ब्याउन माग गरेका छन् । आयोगको निर्देशनबमोजिम जिल्ला निर्वाचन कार्यालयले यहाँका स्थानीय तहमा यही माघ १५ गतेदेखि २१ गतेसम्म मतदाता नामावली अद्यावधिक गर्ने कार्यक्रम तय गरेको छ । 

उक्त अवधि लम्ब्याएर माघ मसान्तसम्म पु¥याउन राजनीतिक दल तथा नागरिक क्षेत्रका अगुवाले माग गरेका हुन् । जिल्ला निर्वाचन कार्यालयले फिदिममा आयोजना गरेको अन्तक्र्रियाका सहभागी सरोकारवालाले छोटो समयमा सबै मतदाताले आफ्नो विवरण अद्यावधिक गर्न नसक्ने भन्दै समय लम्ब्याउन माग गरेका हुन् । सरोकारवालाले मतदान गर्ने उमेर पूरा भएका तर वैदेशिक रोजगारीमा रहेका कारण मतदाता नामावलीमा नाम समावेश गर्न नपाएका मतदाताहरुलाई समेट्ने प्रवन्ध गर्न आग्रह गरे । 

जिल्लाका केही वडामा मतदानस्थल थप्नुपर्ने आवश्यकता रहेको बताउँदै सरोकारवालाले निर्वाचनसम्बन्धी ऐन संशोधन गर्नुपरे सोसमेत गर्न माग गरे । अन्तक्र्रियामा प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले सरोकारवालाको मागलाई आयोगमा पठाइने र मतदाताले सहजरुपमा मतदान गर्ने व्यवस्था गर्न पहल गरिने बताए ।

जिल्लामा हाल कूल एक लाख ३२ हजार ७९८ जना मतदाता रहेका छन् । तीमध्ये महिला ६३ हजार ५८६ जना र पुरुष ६९ हजार २१२  छन् । प्रतिनिधिसभा सदस्यको एउटा निर्वाचन क्षेत्र रहेको जिल्लामा १०१ मतदानस्थल तथा १७० मतदान केन्द्र छन् । जिल्लामा हाल सबैभन्दा बढी फिदिम मावि खेल मैदान मतदानस्थलमा चार वटा मतदान केन्द्र रहेका छन् । 

मतदाता नामावली अद्यावधिक गर्ने कार्यका लागि स्थानीय तहका कर्मचारीलाई सहायक नाम दर्ता अधिकारी नियुक्त गरी कार्य सम्पादन हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । मतदाता नामावली अद्यावधिक गर्ने क्रममा सबै मतदातालाई नामावलीमा आफ्नो नाम तथा अन्य विवरण हेर्ने एवं अद्यावधिक गर्नका लागि सहज पहुँज प्रदान गरिने कार्यालयले जनाएको छ ।  सहायक नाम दर्ता अधिकारीलाई आवश्यक सामग्री, मतदाता नामावली तथा अभिमुखीकरण कार्यक्रम निर्वाचन कार्यालयले प्रदान गर्ने कार्यालयका निमित्त प्रमुख सरोज मेहताले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप