बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव माओवादीको नाममा शिक्षकले वडाध्यक्षलाई दिए  ज्यान मार्ने धम्की

आइतबार, ११ माघ २०७७, १९ : २२
आइतबार, ११ माघ २०७७

देउखुरी । दाङ देउखुरीको राजपुरमा एक शिक्षकले वडाध्यक्षलाई ज्यानमार्ने धम्कि दिएका छन् । राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर खड्कालाई सोही वडाको माबि सिक्टामा कार्यरत प्रधानाध्यापक बिष्णु खत्रीले केही दिनभित्रै सिध्याई दिने धम्की दिएका हुन ।

वडाध्यक्ष खड्काले सुरक्षाको मागसहित दोषीलाई कानुनी कारवाहीका लागि प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरीसँग गुहार मागेका छन् । घटना भएको दोस्रो दिन माघ ८ गते वडाध्यक्षले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सम्बोधन गर्दै दोषी शिक्षक खत्रीलाई कानुनी कारवाहीको माग गरेका छन् ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखारिया घर भएका खत्रीले आफूलाई धम्की दिएको वडाध्यक्ष खड्काले उल्लेख गरेका छन् ।

प्रधानाध्यापक खत्रीले माघ ७ गते सिफारिस लिन वडा कार्यालयमा गएको समयमा वडाध्यक्षलाई त्यस्तो धम्की दिएको पत्रमा उल्लेख छ । खड्काले यसअघि पनि प्रधानाध्यापक खत्रीले विप्लवको नामबाट चन्दा माग्ने र निदिए सिध्याइदिने जस्ता धम्की दिने गरेको जाहेरीमा उल्लेख छ ।

वडाध्यक्ष खड्काका अनुसार यसअघि पनि प्रधानाध्यापक खत्रीले सोही विद्यालयमा कार्यरत एक महिला शिक्षिकालाई समेत हातपात गरेका थिए । उनले यसअघि पनि विप्लवलाई चिन्छौँ भन्दै धम्क्याउने गरेको तथा राम्रोसँग बस्नु सुत्नु नदिए रातिमा आएर सिध्याइदिन्छु भनेर धम्कीहरु दिने गरेको आरोप वडाध्यक्षको छ ।

सूर्यौदय प्राथमिक विद्यालय बनकट्टीबाट काजमा माध्यामिक विद्यालय सिक्टामा आएका शिक्षक खत्री राहतकोटाका शिक्षक हुन् । उनी योभन्दा अघिआफू नै प्रधानाध्यापक हुनुपर्ने जिकिर गर्दा विवादमा मुछिएका थिए । त्यतिबेला शिक्षिकालाई हातपात गरेको अभियोगमा उनलाई ईलाका प्रहरी कार्यालय गढवाले पक्राउ गरि ५ दिनसम्म हिरासतमा लिएको थियो ।

धरौटीमा रिहा भएका प्रधानाध्यापक खत्रीको मुद्दा अझै फैसला भने हुन सकेको छैन । तर प्रधानाध्यापक खत्रीले भने उल्टै  वडाध्यक्षले आफू माथि गाली बेइजती गरेको बताए ।

राजपुर गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष खड्काको अभियोगमा सत्यता नभएको खत्रीका दाबी छ । माघ ७ गते दिउँसो साढे १ बजेतिर विद्यार्थी कमल वलीको सर्टिफिकेटमा नाम बिग्रेर कमलबहादुर वली भएकोमा त्यसैको सिफारिस लिन जाँदा उल्टै वडाध्यक्षले आफूमाथि गाली बेइजती गरेको खत्रीको आरोप छ ।

आफू वडा कार्यालयमा गएर वडाध्यक्षलाई बुवा भनेर सम्वोधन गरे पनि वडाध्यक्ष एक्कासी गाली गलौजमा उत्रिएको खत्रीले बताए। 

वडाध्यक्षले आफ्नाविरूद्ध प्रहरीमा जाहेरी दिएको भए अब आफू पनि कानुनी लडाई लड्ने खत्रीले बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप