मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

भारतसँगको विद्युत व्यापारमा नेपाललाई झट्का : व्यापारका लागि भारतीय ढोका बन्द भएकै हो ?

सोमबार, १२ माघ २०७७, ०९ : ११
सोमबार, १२ माघ २०७७

काठमाडौं । नेपालले भारतसँगको विद्युत व्यापारको अवसर गुमाएको छ । योसँगै नेपालले गरेको पहिलो तर असफल प्रयासले भारतमा विद्युत व्यापारको ढोका नै बन्द भएको त होइन भन्नेबारे बहस सुरु भएको छ ।

विद्युत व्यापारका लागि भारत र बंगलादेशमा नेपालले ठाउँ खोजिरहेको बेला भारतसँगको विद्युत व्यापारमा नेपाललाई झट्का लागेको छ । वर्षायाममा खेर जाने बिजुली बेच्न तम्सिए पनि भारतमा विद्युत व्यापारको अवसर तत्कालका लागि नेपालले गुमाएको हो ।

भारतीय बजारमा उपलब्ध मूल्यको तुलनामा नेपालले प्रस्ताव गरेको विद्युत बिक्री मूल्य महँगो भएको भन्दै भारतले नेपाललाई प्रतिस्पर्धाबाट बाहिर निकालेको हो । प्रतिस्पर्धाबाट बाहिरिएसँगै भारतसँगको विद्युत व्यापारको अवसर नेपालले गुमाएको छ ।

प्राधिकरणले ढल्केवर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइन (डिएम लाइन) बाट प्रति युनिट भारु ४.१८ (६.६८८ रुपैयाँ) मा बिजुली किनिरहेको छ । सोही दरमा बेच्न बोल कबोलमा नेपालले प्रस्ताव पेश गरेको थियो । तर, नेपालले भन्दा अन्यले पेश गरेको विद्युत दर सस्तो भएपछि नेपाल प्रतिस्पर्धाबाट बाहिरिन पुग्यो ।

दिल्लीस्थित डिआरपिएल नामको विद्युत व्यापार कम्पनीले २५ मेगावाटदेखि ७०० मेगावाटसम्म बिजुली बेच्न इच्छुक कम्पनीबाट प्रस्ताव माग्दै अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । यही बोलपत्रका आधारमा एनटिपिसी विद्युत व्यापार निगम लिमिटेडमार्फत २५ मेगावाट बेच्न प्राधिकरणले प्रतिस्पर्धामा भाग लिएको थियो ।

भारतमा सोलार बिजुलीको मूल्य प्रतियुनिट भारु झण्डै २ रुपैयाँ नजिक छ । जलविद्युत २४ सै घण्टा उपलब्ध हुने र सोलार ८ घण्टामात्र उपलब्ध हुने भएकाले सोलारभन्दा हाइड्रोको बिजुली मूल्य केही बढी हुनु स्वाभाविक भएको व्यवसायी शैलेन्द्र गुरागाई बताउँछन् ।

हाल बिजुली धेरै खपत हुने समयमा नेपालमा विद्युत अपुग हुने गर्छ । त्यसलाई पूर्ति गर्न भारतबाट विद्युत आयात भइरहेको छ । तर, राति १२ बजेदेखि बिहान ४ बजेसम्मको बिजुली खपत कम हुने अर्थात् ५० प्रतिशत विद्युत खेर गइरहेको विज्ञ तथा व्यवसायीहरुको भनाइ छ ।

पहिलो प्रयासले पाठ सिकायो : प्राधिकरण

यता नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत व्यापारको बाटो बन्द नभइ आगामी दिनमा ब्यापारमा सहभागी हुने ‘आइडिया’ सिकेको जनाएको छ । प्राधिकरणका प्रवक्ता मदन तिमल्सिना भारतले मागेको टेण्डरमा नेपाल नपरेको भए पनि व्यापारको बाटो पूर्ण रुपमा बन्द नभएको बताउँछन् । अब यस्तै खालको प्रतिस्पर्धामा भाग लिने आइडिया सिकेको उनको तर्क छ ।

उनले भने, ‘हाम्रो पहिलो प्रयास थियो । उताबाट अझै घटाउन सकिन्छ कि भनेर सोधेको रहेछ, तर हाम्रो बोर्ड बैठक पनि नबसेको कारण तत्काल जवाफ फर्काउन सकिएन । अब अरु डेण्डरमा प्रतिस्पर्धा होला ।’

भारतसँग नयाँ मोडालिटीमा व्यापारबारे छलफल हुने प्रवक्ता तिमल्सिनाको भनाइ छ । प्राधिकरण सञ्चालक समितिको बैठक चाँडै नै बसेर भारतसँगको व्यापारमा कसरी अघि बढ्ने भन्ने टुङ्गो लाग्ने प्राधिकरणले जनाएको छ ।

नेपाल र भारतबीचको विद्युत व्यापारको लागि इनर्जी बैंकिङको सम्झौता गत वर्ष भएको थियो । यसबाट व्यापार सहजीकरण हुने विश्वास पनि छ ।

कम मूल्यमा बिक्री गर्नुपर्थ्यो : व्यवसायी

नेपालले विद्युत व्यापारको ‘ब्रेक थ्रु’ का लागि कम मूल्यमै भएपनि विद्युत बेच्नुपर्ने व्यवसायीको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादक संघका पूर्व अध्यक्ष शैलेन्द्र गुरागाई भारतसँग कम मूल्यमा भए पनि व्यापारको सुरुवात गर्नुपर्नेमा त्यसो नभएको बताउँछन् ।

यद्यपि, सरकारको केही सीमाका कारण र किनेको मूल्यभन्दा तल गएर किन बिक्री गरेको भन्ने प्रश्न आउने डरले कम मूल्य प्रस्ताव गर्न नसकेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘सबैभन्दा कम मूल्यको अनुमान सबैलाई थाहा थियो । २५ मेगावाट भनेको थोरै हो, यसबाट ब्रेक थ्रु गर्नुपर्थ्यो ।’

नेपालमा सोलारको बिजुलीसँग दाँजेर जलविद्युतको मूल्यलाई महँगो भन्ने गलत बुझाइ फैलिएको भन्दै उनले जलविद्युतको न्युनतम रेट भनेको ३ रुपैयाँ भारु अर्थात् नेपाली ४.८० रुपैयाँ रहेको बताए । भारतमा २० रुपैयाँसम्म विद्युत महसुल रहेको उनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप