शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा कोरोनाका कारण बुद्धिजिवी एवम् पूर्व गोर्खा डा लक्सम्बाको निधन

बुधबार, १४ माघ २०७७, ०८ : २९
बुधबार, १४ माघ २०७७

लण्डन । बेलायतका कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएका नेपाली समुदायका एक चर्चित बुद्धिजिवी एवम् पूर्व गोर्खा अभियन्ता डा चन्द्र लक्सम्बाको मंगलबार निधन भएको छ । श्रीमती र दुई छोराहरुसँग बेलायतमा बस्दै आएका ५९ वर्षीय डा. लक्सम्बाको पुर्ख्यौली घर ताप्लेजुङ भएपनि पछिल्लो समय धरानमा बस्दै आएका थिए । कोरोना संक्रमण भएपछि अस्पतालमा उपचार गराइरहेका लक्सम्बाको सोमबारबाट स्वास्थ्य एक्कासी बिग्रिएको उनका सहकर्मी डा. कृष्ण अधिकारीले उल्लेख गरेका छन् । बेलायतको फार्नबरोस्थित फ्रेमली पार्क अस्पतालमा भेन्टिलेटरमा उपचारकै क्रममा उनको निधन भएको हो  ।

पछिल्लो समय डा लक्सम्बा नेपालस्थित ओपन युनिभर्सिटीमा प्राध्यापकका रुपमा कार्यरत थिए । उनी भूतपूर्व गोर्खा आन्दोलन एवम् एनआरएनए अभियानमा पनि योगदान गर्दै आएका थिए । बेलायतको अक्सफोर्ड युनिभर्सिटीमा रिसर्च फेलोका रुपमा समेत काम गरेका उनी स्टडिज फर नेपाल ‘सिएनएस’ यूकेका पूर्व अध्यक्ष थिए । बेलायतमा नेपालीको जनगणना गर्नमा उनको उल्लेख्य योगदान थियो । केही समयअघि मात्रै उनलाई नेपाल सरकारले लुम्बिनी बौद्ध विश्वविधालयमा प्राज्ञका रुपमा मनोनित गरेको थियो ।

सन् २००६ मा गैर आवासीय नेपाली संघ बेलायतको उपाध्यक्ष समेत रहेका लक्सम्बाले १९ वर्ष ब्रिटिश सेनामा काम गरेका थिए । नेपाल पत्रकार महासंघ बेलायत शाखाका पूर्व सल्लाहकार, युरोपको नेपालीपत्र साप्ताहिक तथा गोरखा आवाज पाक्षिकका पूर्व सम्पादक तथा भूतपूर्व  सैनिक संघको सल्लाहकार समेत रहेका स्व. लक्सम्बाको निधनले बौद्धिक एवम् सामाजिक क्षेत्रमा ठूलो क्षति पुगेको बेलायतस्थित विज्ञ तथा सामाजिक अभियन्ताहरुले बताएका छन् ।

बेलायतमा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि यहाँ बसोवास गर्ने नेपालीहरु पनि निकै प्रभावित बन्दै गएका छन् । विशेषगरि पूर्व गोर्खा सैनिक र तिनका परिवारहरु कोरोनाको शिकार बन्ने गरेका छन्  । दश दिनअघि कोरोना संक्रमणका कारण बेलायतस्थित बेजिङस्टोक अस्पतालमा निधन भएका पूर्व गोर्खा क्याप्टेन हर्क बहादुर गुरुङकी पत्नी चन्द्र कुमारी गुरुङको सोमबार निधन भएको  छ । १६ जनवरीका दिन ९२ वर्षका पूर्व गोर्खा गुरुङको  स्थानीय  बेजिङस्टोक हस्पिटलमा निधन भएको थियो । तर, ९१ वर्षीया उनकी श्रीमतीको भने सोमबार घरमै निधन भएको र उनलाई  भने कोरोना नभएको पारिवारिक स्रोतले बताएका छन् । दश दिनअघि निधन भएका श्रीमानको अन्त्येष्टि समेत हुन नपाउँदै श्रीमतीको पनि निधन भएपछि बेलायतको नेपाली समुदाय शोकाकुल बनेको छ । महामारी शुरु भएयता बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको छ भने संक्रमितको संख्या झन्डै ३७ लाख पुगेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप