मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

२१ औं शताब्दीको पहिलो मानव चन्द्रयात्रा : के नयाँ अमेरिकी राष्ट्रपति बाइडेनले अभियानलाई प्राथमिकतामा राख्छन् ?

बुधबार, १४ माघ २०७७, ०८ : ३५
बुधबार, १४ माघ २०७७

अमेरिकाको प्रतिष्ठित संस्थान 'नेशनल  एरोनॉटिक्स  एण्ड  स्पेस  एडमिनिस्ट्रेशन' (नासा ) को महत्वाकांक्षी अभियान 'आर्टिमिस मिसन' (Artemis Mission) बारे सारा संसारलाई तीव्र चासो छ। यसो हुनु स्वाभाविक पनि हो। नासाले यस अभियानमा काम थालनी गरिसकेको छ। यस अभियानको अन्तिम लक्ष्य आउँदो सन २०२४ मा २० औं शताब्दीको छैठौं दशकको  पुनरावृत्ति गर्दै एकजना महिला र एकजना पुरुषलाई चन्द्र धरातलमा ओराल्ने रहेको छ। नासाले यस का लागि व्यक्ति चयन पनि गरिसकेको छ।

यस अभियानको पहिलो चरणका लागि बनेको 'स्पेस लन्च सिस्टम' (Space Launch System  - SLS) पहिलो 'हॉट टेस्ट'मै  परीक्षण  प्रारम्भ हुन साथ 'क्यान्सिल' भएको छ। यो समाचार प्रकाशित हुन साथ प्रश्न उठन थालेका छन् कतै  'आर्टिमिस' कार्यक्रम स्थगनमा त पर्दैन।  अमेरिकामा बदलिएको राष्ट्रपतिका कारणले पनि यस खाले आशंका व्याप्त भइरहेका छन्।

केही दिन पहिला 'एसएलअस रकेट'को इंजिन परीक्षणको एउटा महत्वपूर्ण परीक्षण रद्द गरिएको समाचार छ। यो परीक्षण रद्द हुनाले 'आर्टिमिस' अभियानमा नकारात्मक प्रभाव पर्ने अनुमान गर्न  थालिएको छ। 'आर्टिमिस' अभियान अन्तर्गत यसै वर्षको अन्त्य सम्ममा 'एसएलएस रकेट'ले अभियानमा प्रयुक्त हुने 'ओरियोन' यानलाई   मानवरहित अवस्थामा चन्द्रमामा पुर्याई पृथ्वीमा फिर्ता ल्याउने रहेको छ।

नासाको 'ह्यूमन स्पेस फ्लाइट' विभागका  प्रमुख कैथी लॉर्ड्स भन्छन् - यस वर्षको अन्त्य सम्ममा हामीले चन्द्रमासम्मको दुइतर्फी 'टेस्ट फ्लाइट' गर्नु छ ,तर त्योभन्दा पहिला सबै कुराको अति सूक्ष्म परीक्षण गर्नु पर्ने हुन्छ।  गत साता सम्पन्न भएको एउटा परीक्षणमा 'एसएलएस रकेट' का सबै चार वटा इन्जिन एक मिनटसम्म मात्रै प्रज्वलित रहन सके।यस कारण परीक्षणलाई स्थगित गरियो। 

मिसिसिपीस्थित नासाको स्टेनिस स्पेस सेण्टरमा गरिएको यस परीक्षण मा रकेट का चार वटै इन्जिनलाई ८ मिनटसम्म प्रज्वलित हुनु पर्थ्यो। यस परीक्षण का लागि प्रख्यात बोईंग कम्पनीले २१२ फिट अग्लो  प्रमुख चरण परीक्षण संयंत्र बनाएको हो।  यस्मा आधुनिक कम्प्यूटर, विभिन्न इलेक्ट्रानिक उपकरणका अतिरिक्त तरल हाइड्रोजन र अक्सिजन ट्याङ्क जडान गरिएका थिए।

नासा का सम्बन्धित विषेशज्ञहरुले परीक्षण स्वतः रोकिएको (ऑटोमैटिक शटडाउन) को बताएका छन् र यसो हुनुको कारण रकेटको यस चरणका लागि तय गरिएका कडा परीक्षण मानक हुनु हो। परीक्षणमा रकेटको एउटा इन्जिनले  हाइड्रोलिक सिस्टम सुरक्षाको निश्चित मानकलाई 'क्रस' गर्यो  यस कारण फ्लाइट कम्प्यूटरले ६७ सेकेण्डमै परीक्षणलाई स्वचालित रुपमा बन्द गरिदियो।

नासाका अधिकारीका अनुसार 'परीक्षण मानकमा परिवर्तन गर्नु  अहिले नै आवश्यक   छैन, हामी उपलब्ध तथ्यांकको विश्लेषण गर्छौं।’ मिसिसिपीको 'स्टेनिस स्पेस सेन्टर' मा रकेटको अर्को परीक्षण गर्ने वा नगर्नेबारेमा पनि अन्योल कै अवस्था छ।  अमेरिकामा नयाँ राष्ट्रपति आएपछि  नासा प्रमुख जिम ब्रिडेनस्टाइनले आफ्नो पदबाट राजीनामा दिएका छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले  आफू सत्तामा आएपछि जिम ब्रिडेनस्टाइनलाई सन २०१७ मा नासा प्रमुख बनाएका थिए। यस्तोमा नासालाई रकेटको अर्को परीक्षण गर्ने अथवा यसलाई प्रक्षेपण कार्य हेतु सोझै फ्लोरिडा को केनेडी स्पेस सेन्टर पठाई दिने कुनै निर्णय लिन गाह्रो बनेको छ।

नासाका सम्बन्धित विज्ञहरुका अनुसार रकेटको 'कोर स्टेज' अर्थात प्रमुख चरणका परीक्षणका लागि नौ पटकभन्दा बढी इन्धन भर्न सकिदैन।  'स्टेनिस स्पेस सेन्टर' मै अर्को परीक्षण गरिएको खण्डमा परीक्षण संख्यामा कटौती हुन जान्छ । नासा प्रमुखको पद रिक्त भएका कारण कुनै पनि निर्णय हुन सकिरहेको छैन।  वर्तमान राष्ट्रपति बाइडेनको यस महत्वाकांक्षी 'आर्टिमिस' अभियानप्रतिको दृष्टिकोण कस्तो रहने छ, यसले नै यस अभियानको भविष्य तय गर्नेछ। नासालाई आफ्नो नयाँ कार्यकारी प्रमुखको प्रतीक्षा छ।   

०००

२० औं शताब्दीको छैठौं दशक सन १९६९ मा पहिलो पटक चन्द्र  आरोहण गर्ने सफलता अमेरिकाले नै पाएको थियो। त्यस पछि लगालग अमेरिकाले सातवटा चन्द्र अभियान पठाएर १२ जना अमेरिकीलाई चन्द्र धरातलमा ओरालेर पृथ्वीमा फर्काउने सफलता पाएको थियो। अमेरिकाबाहेक अन्य कुनै पनि देशले अहिलेसम्म चन्द्रमामा मानिस पठाउने काम गरेको छैन ।

Title Photo: https://cdn.mos.cms.futurecdn.net/

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी विज्ञान डेस्क
रातोपाटी विज्ञान डेस्क
लेखकबाट थप