शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा पनि कोरोना विरुद्धको खोप लगाउन सुरु

बुधबार, १४ माघ २०७७, १७ : १३
बुधबार, १४ माघ २०७७

सुर्खेत । कर्णाली प्रदेशमा १० मध्ये ९ जिल्लामा बुधबार कोरोनाविरुद्धको खोप  अभियान सुरु भएको छ । कोरोनाविरुद्ध फ्रन्टलाइनका योद्धालाई पहिलो चरणमा खोप लगाउन थालिएको हो । कर्णाली प्रदेशका १० जिल्लामध्ये ९ जिल्लामा खोप लगाउन सुरु गरिसकिएको छ भने डोल्पामा केही समयपछि खोप लगाउन सुरु गरिने बताइएको छ । 

कर्णाली स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा.रविन खड्कालाई पहिलो खोप दिएर कर्णालीमा खोप कार्यक्रम सुरु भएको हो । डा.खड्काले भने, ‘बाँकी रहेको जिल्लाहरुमा पनि खोप पठाइसकिएको छ ।’  खोपका लागि कर्णालीमा १२ वटा खोप केन्द्र तोकिएको छ । ती सबै खोप केन्द्रबाट खोप दिन सुरु गरिएको उनले बताए । 

कर्णाली प्रदेश अस्पतालमा बुधबार बिहान १०ः३० मा खोप दिन सुरु गरिएको हो भने दैलेखलगायत अन्य जिल्लामा १२ बजेभित्रको अवधिमा खोप लगाउन सुरु गरिएको खड्काले रातोपाटीलाई बताए ।  पहिलो चरणअन्तर्गत कर्णालीमा ११ हजार ७ सय ८० डोज खोप दिइने छ ।

जसमध्ये सुर्खेतमा सबभन्दा बढी २ हजार ७८१, दैलेखमा २ हजार, जुम्लामा १ हजार ७०२, कालिकोटमा १ हजार २१, जाजरकोटमा १ हजार १०५, सल्यानमा १ हजार १२३, मुगुमा ५४७, डोल्पामा ५११, रुकुम पश्चिममा ५०० र हुम्लामा ४५० डोज खोप बाँडफाँट गरिएको निर्देशनालय बताएको छ । 

कोरोना भाइरसविरुद्ध सुरुवातदेखि नै फ्रन्टलाईनमा रहेर काम गरिरहेका व्यक्तिहरुलाई पहिलो चरणमा खोप दिइएको हो । कोरोनाको प्रतिकार्यका लागि सुरु देखि नै खटिएका सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख नवराज कँडेलले भने, ‘खोप लगाउँदा सुरुमा थोरै दुखे पनि खासै फरक अनुभूति त भएन ।’

कोरोना संक्रमणको सिकार भइसकेका कँडेल भन्छन्, ‘यो त एउटा विज्ञानको जितजस्तै लाग्यो ।’  उनले खोप लगाए पनि सतर्कता अप्नाइरहनुपर्ने बताए । ‘ढुक्क हुने वातावरण छ त भन्न सकिँदैन’ उनले भने, ‘खोप आएता पनि बचावटका कुराहरुलाई हामीले भुल्नु हुन्न् ।’ 

यस्तै स्वास्थ्य निर्देशनालय कर्णाली प्रदेशमा कार्यरत नोदनारायण चौधरीले खोप लगाउँदा निकै उत्साहित भएको बताए । यद्यपि, खोप लगाउँदा फरक अनुभूति भने केही नभएको उनले बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप