बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बैङ्कहरुको नाफा : ५१ प्रतिशत वृद्धिदेखि ६२ प्रतिशत गिरावटसम्म, कसको कति ?

बिहीबार, १५ माघ २०७७, ११ : १५
बिहीबार, १५ माघ २०७७

वाणिज्य बैङ्कहरुको नाफा वृद्धिमा अस्थिरता देखिएको छ । बैङ्कहरुले पुस मसान्तमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैङ्कहरुको वित्तीय प्रगति अरु प्रतिस्पर्धी बैङ्क र अघिल्लो वर्षको आफ्नै प्रगति भन्दा भिन्न देखिएको हो । चालु आर्थिक वर्षको मध्यावधि समयसम्म आइपुग्दा कुनै बैङ्क उत्साहजनक ढंगबाट नाफा वृद्धि गर्न सफल भएका छन् भने कुनै बैङ्कको नाफामा भने उच्च रुपले गिरावट आएको छ । 

यो अवधिमा नाफा वृद्धि भएका बैङ्कहरुले ५१.५१ प्रतिशतसम्म नाफा बढाएका छन् । नाफा घट्का बैङ्कहरुको नाफा अधिकतम ६२.५१ प्रतिशतसम्मले घटेको छ । वित्तीय विवरण प्रकाशित गरेका वाणिज्य बैङ्कमध्ये अधिकतम २ अर्ब ३१ करोड रुपैयाँदेखि न्यूनतम २० करोड रुपैयाँसम्म नाफा कमाएको देखिएको छ । सर्वाधिक नाफा ग्लोबल आईएमई बैङ्कको हो भने सबैभन्दा कम नाफा सिभिल बैङ्कको हो । 

९ वटा बैङ्कको नाफा बढ्यो
हालसम्म २६ वटा वाणिज्य बैङ्कले वित्तीय विवरण प्रकाशित गरेकोमा १० वटा बैङ्कको नाफा वृद्धि भएको छ । यी मध्ये कुमारी बैङ्क, एनएमबि बैङ्क, सिटिजन्स बैङ्क, प्रभु बैङ्क, प्रभइम कमर्शियल बैङ्क र ग्लोबल आईएमई बैङ्क, मेगा बैङ्क नेपाल बंगलादेश बैङ्क यो अवधिमा उत्साहजनक नाफा वृद्धि गर्ने बैङ्कहरु हुन् । त्यस्तै, एनआईसी एशिया बैङ्क र सनराइज बैङ्कको नाफामा समेत सामान्य सुधार भएको छ । मर्जरको सिनर्जी प्राप्त भएको र व्यवस्थापन खर्चमा मितव्ययिता कायम गर्न सफल भएका कारण यी बैङ्कहरुको नाफा बढेको पाइएको हो । 


पुस मसान्तमसम्मको वित्तीय विवरण अनुसार यो अवधिमा कुमारी बैङ्कले सबैभन्दा बढी प्रतिशत नाफा बढाएको छ । सो बैङ्कले अघिल्लो वर्षको तुलनामा नाफामा ५१.५१ प्रतिशत सुधार गरेर १ अर्ब २१ करोड रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष सो बैङ्कको नाफा ८० करोडमा सीमित थियो । 

दोस्रो सर्वाधिक नाफा कमाउने बैङ्क एनएमबि बनेको छ । सो बैङ्कले पुस मसान्तसम्मको अवधिमा ४७.६९ प्रतिशत नाफा बढाएर १ अर्ब ६१ करोड रुपैयाँ नाफा पुर्याएको छ । अघिल्लो वर्ष सो बैङ्कले १ अर्ब ९ करोड रुपैयाँ मात्रै नाफा कमाएको थियो । 

सिटिजन्स बैङ्कले पनि ४५.०२ प्रतिशतले नाफा बढाएको छ । यो वर्षको पुससम्म ९८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको बैङ्कले अघिल्लो वर्षको सोही अवधिमा ६७ करोड ८८ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । 
प्रभु बैङ्क पनि यो वर्ष नाफा वृद्धिमा आक्रामक देखिएको छ । सो बैङ्कले पछिल्लो ६ महिनामा १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष भन्दा ३९.८७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष प्रभु बैङ्कको नाफा १ अर्ब ८ करोडमा सीमित थियो । 

प्राइम कमर्शियल बैङ्कको नाफा वृद्धि पनि प्रभु बैङ्ककै हाराहारीमा देखिएको छ । सो बैङ्कले यो अवधिमा ३९.४१ प्रतिशतले नाफा वृद्धि गरेको छ । यो वर्ष १ अर्ब ८१ करोड नाफा कमाएको बैङ्कले अघिल्लो वर्ष १ अर्ब ३० करोड नाफा कमाएको थियो । 

ग्लोबल आईएमई बैङ्कले पनि आफ्नो नाफामा ३७.३२ प्रतिशत वृद्धि गर्दै वाणिज्य बैङ्कमध्येकै सबैभन्दा धेरै नाफा कमाउने बैङ्क बनेको छ । अघिल्लो वर्ष १ अर्ब ६८ करोड रुपैयाँ नाफा कमाएको बैङ्कले यो वर्ष नाफाको आकार २ अर्ब ३१ करोड रुपैयाँ पुर्याएको हो । 

त्यस्तै, मेगा बैङ्कले यो वर्षको पहिलो ६ महिनाका १ अर्ब ३० करोड नाफा कमाएको थियो । अघिल्लो वर्षको सोही अवधिमा ९५ करोड २ लाख रुपैयाँले नाफा कमाएको थियो । यो वर्षको नाफा अघिल्लो वर्षको भन्दा ३७.२९ प्रतिशत बढी हो । 

नेपाल बंगलादेश बैङ्कले पनि यो अवधिमा १६.६७ प्रतिशत नाफा बढाएको छ । बैङ्कले अघिल्लो वर्ष कमाएको ८० करोड ७८ लाख नाफामा सुधार गर्दै यो वर्ष ९४ करोड २५ लाख रुपैयाँ पुर्याएको हो । 
एनआईशी एशिया बैङ्क र सनराइज बैङ्कको नाफामा सामान्य वृद्धि भए पनि यो २ प्रतिशत भन्दा कम छ । एनआईशी एशिया बैङ्कले अघिल्लो वर्ष २ अर्ब १ करोड रुपैयाँ नाफा कमाएकोमा यो वर्ष २ अर्ब ६ करोड रुपैयाँ नाफा कमाएको छ । यो २.२० प्रतिशत सुधार हो । त्यस्तै, सनराइज बैङ्कले अघिल्लो वर्ष कमाएको ९४ करोड ४४ लाखको नाफालाई वृद्धि गर्दै यो वर्ष ९४ करोड ९४ लाख रुपैयाँ पुर्याउन सफल भएको हो । 

१६ बैङ्कको नाफा घट्यो 
वित्तीय विवरण प्राप्त भएका २६ वाणिज्य बैङ्कमध्ये १६ वटा बैङ्कको नाफा भने घटेको छ । ती बैङ्कहरुको अधिकतम ६२ प्रतिशतसम्म नाफा घटेको छ । हिमालयन बैङ्क, नेपाल एसबीआई बैङ्क, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क, एभरेष्ट बैङ्क, सभिलि बैङ्क, सेञ्चुरी बैङ्क र एनसीसी बैङ्कको नाफामा उच्च गिरावट आएको छ । त्यसबाहेक लक्ष्मी बैङ्क, सिद्धार्थ बैङ्क, सानिमा बैङ्क, नेपाल इन्भेष्टमेन्ट बैङ्क, माछापुच्छ्रे बैङ्क, नबिल बैङ्क र नेपाल बैङ्कको नाफा भने सामान्य घटेको छ । व्यवसायको विस्तार गर्न असफल भएको, खराब कर्जा बढेको तथा सञ्चालन खर्चमा तीव्र वृद्धि भएका कारण यी बैङ्कहरुको नाफा घटेको पाइएको छ । 

यो अवधिमा हिमालयन बैङ्कको नाफा सबैभन्दा बढी ६२.५१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष पुस मसान्तसम्म महिनामा १ अर्ब ७४ करोड नाफा कमाएको बैङ्कको यो वर्षको यही अवधिको नाफा ६५ करोड ३३ लाखमा सीमित भएको छ । 

त्यस्तै, नेपाल एसबीआई बैङ्कको नाफा पनि घटेर १ अर्ब रुपैयाँबाट ५१ करोड रुपैयाँमा सीमित भएको छ । यो करिब ४९ प्रतिशतको गिरावट हो । 
स्ट्यान्डर्ड चार्टर्ड बैङ्कको नाफा १ अर्ब ४० करोड रुपैयाँबाट घटेर ७२ करोड ७६ लाख रुपैयाँमा सीमित हुँदा ४०.७० प्रतिशतले नाफा गुमाएको देखिएको छ । 

एभरेष्ट बैङ्क अघिल्लो वर्षको १ अर्ब ५१ करोड नाफा कमाएको अवस्थाबाट झरेर यो वर्ष ९६ करोडमा सीमित भएको छ । यो ३६.२९ प्रतिशतको गिरावट हो । 

सबैभन्दा कम नाफा भएको सिभिल बैङ्कले अघिल्लो वर्ष ३१ करोड ६२ लाख रुपैयाँ नाफा कमाएकोमा यो वर्षको सोही अवधिमा २० करोड २८ लाख रुपैयाँ नाफा कमाएको छ । यो ३५.८६ प्रतिशत बराबरको गिरावट हो । 
सेञ्चुरी बैङ्कले यो वर्ष ४६ करोड ६६ लाख रुपैयाँ नाफा कमाउँदा नाफाको गिरावट २८.२५ प्रतिशतले भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैङ्कको नाफा ६५ करोड ३ लाख रुपैयाँ थियो । 

एनसीसी बैङ्कको नाफा १८.८२ प्रतिशतले घटेर ६१ करोड ४० लाखमा झरेको छ । अघिल्लो वर्ष सो बैङ्कको नाफा ७५ करोड ६घ लाख रुपैयाँ रहेको थियो । त्यस्तै, ८० करोड ७१ लाख रुपैयाँ नाफा कमाएको लक्ष्मी बैङ्कले यो वर्ष नाफा १०.६२ प्रतिशतले गुमाएको छ । अघिल्लो वर्ष सो बैङ्कले ९० करोड ३० लाख नाफा कमाएको थियो । 

सिद्धार्थ बैङ्कले पनि यो अवधिमा ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष सो बैङ्कले १ अर्ब २ करोड नाफा कमाएको थियो । सिद्धार्थले पनि यो वर्ष १०.५० प्रतिशत नाफा गुमाएको छ । 
सानिमा बैङ्कको नाफा भने यो वर्ष ७.३८ प्रतिशतले घटेर १ अर्ब ६ करोडमा झरेको छ । अघिल्लो वर्ष बैङ्कले १ अर्ब १४ करोड नाफा कमाएको थियो । त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैङ्कको नाफा ४.७७ प्रतिशतले घटेर १ अर्ब ५८ करोडमा झरेको छ । अघिल्लो वर्ष सो बैङ्कले १ अर्ब ६६ करोड नाफा कमाएको थियो ।

माछापुच्छ्रे बैङ्कको नाफा २.३२ प्रतिशतले घटेर ८० करोड २७ लाखमा झरेको छ । नबिल बैङ्कको नाफा १.२७ प्रतिशतले घटेर २ अर्ब १ करोड झर्दा नेपाल बैङ्कको नाफा यो वर्ष ०.१५ प्रतिशतले घटेर १ अर्ब ३५ करोड ४ लाखमा झरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप