बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेसका पाँच ‘रणनीतिक योजनाकार’ मैदानमा

संवैधानिक संकटमाथि नीतिको खोजी
बिहीबार, १५ माघ २०७७, १३ : ५९
बिहीबार, १५ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि उत्पन्न परिस्थितिका बीच पार्टीलाई राजनीतिकरुपमा उचाइमा पु¥याउन नेपाली काँग्रेस नयाँ रणनीतिको खोजीमा जुटेको छ । प्रधानमन्त्री ओलीले ५ पुसमा चालेको कदमकै कारण संवैधानिक संकटका साथै नेकपा समेत विभाजित बनेको अवस्थामा काँग्रेसभित्र नयाँ रणनीति बनाउनकै लागि औपचारिक तथा अनौपचारिक छलफल चलिरहेको बताइएको छ । यो रणनीति काँग्रेसको १४ औं महाधिवेशनसँग समेत जोडिएको छ । 

पार्टीको आन्तरिक छलफलमा पार्टीको १४ औं महाधिवेशन कहिले र कसरी सम्पन्न गर्ने भन्ने चिन्ता र चासो समेत नेताहरुबाट प्रकट हुने गरेको छ । घोषित (आगामी फागुन ७–१०) मितिमा महाधिवेशन नहुने पक्का भएपछि अर्को मिति तोक्न प्रतिनिधिसभा विघटनको निर्णयबारे सर्वोच्च अदालतको फैसलाको पर्खाइमा काँग्रेस रहेको छ ।

प्रधानमन्त्रीको कदम ‘असंवैधानिक’ भन्दै आएको काँग्रेस महाधिवेशनको विषयमा आफै असंवैधानिक बाटोउन्मुख देखिएकाले महाधिवेशनसँग जोडिएका विवादित विषय टुंग्याउन नेताहरु लागिरहेको बताइन्छ । 

आगामी १९ फागुनमा सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद विधानतः थप गरिएको एक वर्ष पूरा हुँदैछ । नियमित तालिकामा महाधिवेशन गर्न नसक्दा विधानतः एक वर्ष म्याद थपिएकोमा उक्त अवधिमा पनि महाधिवेशन नहुने पक्का छ । अब संविधानतः ६ महिनाभित्र महाधिवेशन गराउनुपर्ने चुनौती खडा भएको छ । 

संवैधानिक संकटसँग जुधिरहेका बेला काँग्रेसलाई वैधानिक संकटले पनि घेर्दै आएको छ । यी दुबै चुनौती पार गर्न काँग्रेसभित्रका ‘रणनीतिक योजनाकार’हरु मैदानमा देखिएका छन् । प्रतिनिधिसभा विघटनमा अहिलेसम्म काँग्रेसले ‘सर्प पनि नमर्ने र लठ्ठी पनि नभाँचिने’ नीति अख्तियार गरेको छ । पार्टी भित्रप्रति पुनःस्थापना र निर्वाचनमा जोड गर्ने दुबै पक्षको भावनालाई आत्मसाथ गरेर अगाडि बढेको देखिन्छ । जसबाट आफ्नो मतलाई ब्याख्या गर्ने नेताहरुलाई वातावरण मिलेको छ ।

पार्टीमा काँग्रेसका रणनीतिक योजनाकारहरुले रणनीति बनाउँदै लगेका छन् । काँग्रेसमा सभापति, दुई उपसभापति, दुई महामन्त्री दुई सहमहामन्त्री, कोषाध्यक्ष र प्रवक्तासहित केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्य गरी १२५ बढी केन्द्रीय नेताहरु छन् । अब रणनीति मेकरका विषयमा चर्चा गरौँ ।

कृष्णप्रसाद सिटौला  


सिटौला झापा जिल्लाबाट काँग्रेस राष्ट्रिय राजनीतिमा प्रवेश गरेसँगै पार्टीभित्र रणनीतिक भूमिकामा छन् । तत्कालीन माओवादीलाई शान्ति सम्झौतामा ल्याउनेदेखि संविधान निर्माणसम्म सिटौलाले रणनीति भूमिका निर्भाह गरेका पाइन्छ । 

योबीचमा सिटौलाले पार्टी राजनीतिमा पनि रणनीतिकारकै रुपमा व्यक्तित्व बनाएका छन् । राष्ट्रिय तथा पार्टी राजनीतिमा प्रतिपक्षी कित्तामा देखिएका सिटौलाले अहिले पनि रणनीतिक चाल चालिरहेका छन् ।
पार्टीमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता पौडेलबीच देखिने विवादको किनाराको साक्षी मात्र छैनन् सिटौला । त्यसलाई हल गर्न पनि उनी अग्रहर हुँदै आएका छन् । गत वर्ष पौडेल समूहले केन्द्रीय समिति बैठक नै बहिस्कार गर्ने अवस्था आयो । उपसभापति विमलेन्द्र निधि र प्रकाशमान सिंहबीचको वार्ताले सार्थकता पाउन नसकेपछि सिटौला मैदानमा उत्रिएका थिए । त्यसपछि मात्र केन्द्रीय समिति बैठकमा जाने अवस्था बनेको थियो ।  

पार्टीमा तेस्रो धारको नेतृत्व गरिरहेका सिटौला बेलाबेला मध्यस्तकर्ताका रुपमा प्रकट हुने गरेका छन् । पछिल्लो समय प्रतिनिधिसभा विघटन सन्दर्भमा अदालतको फैसला कुर्नुपर्ने मुडमा देखिएका सभापति देउवालाई आन्दोलनको मैदानमा लैजान पनि सिटौलाले अग्रसरता लिएका थिए । जसले पौडेल र देउवाबीच देखिएको मतभेद घटाउन मद्यत गरेको थियो ।

विमलेन्द्र निधि


काँग्रेसभित्र निधिलाई काँग्रेसका संस्थापक नेता बीपी कोइरालाको विश्वास र बुबा महेन्द्रनारायण निधिको सहयोगको फ्युजनका रुपमा हेरिन्छ । २०३६ सालमा भएको नेवि संघको जनकपुर अधिवेशनमा ६० प्रतिशत महाधिवेशन प्रतिनिधि बेनुपराज प्रसाईंको पक्षमा देखिँदा पनि बीपीले विमलेन्द्रलाई नेविसंघको अध्यक्ष बनाइ छाडेका थिए ।

उनले पछि कृष्णप्रसाद भट्टराईको लिगेसी देउवाको साथमा आफूलाई छुट्टै रूपमा स्थापित गरेको पाइन्छ ।

निधिमा पार्टीभित्र एजेण्डा ल्याउने, तर्क गर्ने, त्यसमा अरूलाई सहमत गराएर निर्णय गर्ने खुबी छ । आफ्नो विरोधी कित्तामा भएपनि काँग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले पनि निर्णायक घडीमा निधिको सुझाव लिने गरेका थिए ।

०७३ मा भने तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर विमलेन्द्र गेम चेञ्जरकै रुपमा देखिएका थिए । तत्कालीन एमाले–माओवादी गठबन्धन तोडेर माओवादी–काँग्रेस सहकार्य सम्भव पारेपछि नेपाली राजनीतिका उनी गेम चेञ्जरका रुपमा देखिएका थिए ।

किनभने चरम अविश्वासको तहमा झरेको काँग्रेस–माओवादी सम्बन्धलाई अविश्वसनीय रूपमै सहकार्यमा लगेर नयाँ सत्ता गठबन्धन बनाउने प्रमुख खेलाडी थिए, विमलेन्द्र । यतिबेला प्रतिनिधिसभा विघटन र नेकपा विभाजनमा पनि निधिको नाम जोडिने गरेकै छ ।

भारतसँग खटपट देखिए त्यसलाई सल्टाउन समेत निधिले अग्रसरता लिँदै आएको लुकेको छैन । राजनीतिक तर्कमा अब्बल उनी काँग्रेसभित्र समन्वयकारी नेता मध्येका एक हुन् । 
गिरिजाप्रसाद शक्तिमा आएपछि निधि सधैं विपक्षी खेमाको बलियो खम्बाका रूपमा उभिएका विमलेन्द्रले देउवालाई १३ औं महाधिवेशनमा सभापति बनाउन पनि रणनीतिक भूमिका निर्वाह गरेका थिए । सभापति देउवालाई इतर पक्षले बाँधा खडा गर्दा पनि निधि नै मैदानमा उत्रिने गरेको पाइन्छ ।

गत वर्ष संस्थापन इतर समूहले केन्द्रीय समिति बहिष्कार गर्दा संस्थापन पक्षबाट वार्ता टोलीमा बसेर तत्कालका लागि विवाद साम्य पारेका थिए । केहीले प्रकाशमान सिंहको निवास चाक्सीबारी त कहिले पौडेल निवास बोहोराटार धाउने काम निधिबाटै भएको थियो ।

पार्टीको संगठन नीति अनुसन्धान तथा प्रशिक्षण विभागको नेतृत्वमा रहेका निधिलाई काँग्रेसका कतिपय नेता पार्टीको आर्किटेक्ट भन्न पनि रुचाउँछन् ।
निधिले १४ औं महाधिवेशनमा सभापतिका लागि आकांक्षा प्रकट गरेपछि देउवा झस्किए पनि पार्टी र राष्ट्रिय राजनीतिको रणनीतिक मोर्चामा निधिले ब्रेक लगाउन परेको छैन ।

पूर्णबहादुर खड्का 


काँग्रेसमा सादगी र सरल नेताको छवि बनाएका महामन्त्री खड्का आन्तरिक रणनीतिका माहिर खेलाडी मान्छिन् । काँग्रेसका सन्त नेता स्वर्गीय कृष्णप्रसाद भट्टराईका विश्वास जित्दै पार्टी राजनीतिमा पकड बनाएका खड्का काँग्रेसको शक्तिशाली मानिने महामन्त्री (मनोनित) पदमा ०७५ वैशाख २१ बाट आसिन छन् । योबीचमा खड्का पार्टी संगठन, सडक र सञ्चार माध्यमको अग्रपंक्तिमा नदेखिए पनि पार्टीभित्र रणनीतिक चाल चालिरहेको छन् ।

पार्टीभित्र वा राष्ट्रिय राजनीतिका विवाद र बहसका विषयमा खड्काको मनौताभित्र कुटनीतिक शक्ति भरिएको काँग्रेस नेताहरुको बुझाइ छ । २०७२ को संविधान निर्माणको निर्णायक घडीमा र काँग्रेसको महासमिति बैठकमा पार्टीको विवाद समाधान गर्न उनी निकै सक्रिय भएका थिए ।

राजनीतिक रुपमा चतुर, सूचनामा बलियो पहुँच र संगठनमा पनि पकड भएका खड्काले अहिले देखिन र सुनिने गरी आफूलाई पस्थिति गराएको पाइँदैन । तर आफ्नो उक्त सामर्थ्य उनले रणनीतिमा उपयोग गरेको भने पाइन्छ ।
पार्टीमा निर्वाचित महामन्त्री शशांक कोइरालाको भूमिका कमजोर भएको लाभ उठाउँदै उनी संगठानिक रुपमा भित्रभित्रै खेलिरहेको काँग्रेस नेताहरुको बुझाइ छ । 

मिनेन्द्र रिजाल

काँग्रेस नेता मिनेन्द्र रिजालले लामो समय सभापति शेरबहादुर देउवालाई रणनीति निर्माणमा सहयोग गर्दै आएका थिए । काँग्रेसमा ‘वान मेन आर्मी’को छवी बनाएका नेता विद्यार्थी राजनीतिबाटै उदाएका नेता हुन् । रिजालामा राष्ट्रिय तथा अन्तराष्ट्रिय राजनीति, आर्थिक र कुटनीतिक गतिविधिमाथि गहिरो अध्यायन छ ।

समन्वयकारी र व्यवहारिक पाटोले उनी पार्टीभित्र निर्णायक पात्रका रुपमा उदाएको पाइन्छ ।वर्तमान सभापति शेरबहादुर देउवाले पार्टी विभाजन गर्दा पनि रिजालले बलियो साथ दिएका थिए । पछिल्लो समय उनी देउवा कित्ता छैनन् ।

प्रकाशमान सिंह, नारायण खड्का, बलबहादुर केसीलगायतसँगै रिजालले पनि देउवाको साथ छोडेका थिए । तर देउवाले अझै पनि रिजालसँग सम्बन्धको दुरी बढाएको पाइँदैन । देउवाले अर्थपूर्ण भेटघाट वा छलफलमा रिजाललाई सम्झिने गरेको देखिन्छ । त्यस पछाडिको कारण रिजालाको कुटनीतिक क्षमता नै हो । उनी देउवासँगै वरिष्ठ नेता पौडेलसँग पनि समय परिस्थितिको सही मूल्यांकन गरी पार्टीभित्र सहमतिको खाका तयार पार्ने सक्ने नेता मध्येका एक हुन् ।

पछिल्लो समय त रिजाललाई महामन्त्री शशांक कोइरालाको ‘ब्रेन’ समेत भन्ने गरिन्छ । महामन्त्री कोइरालालाई रिजालको साथ सहयोग र सुझाव रहने गरेको छ । कोइराला पनि उनी बिना आन्तरिक छलफल  वा बैठकमा सहभागी भएको बिरलै पाइन्छ । पार्टीले कुनै ठोस नीति निर्माणका लागि गरिने छलफलमा रिजालाको उपस्थिति अनिवार्य बनेको छ । राष्ट्रिय तथा बाह्य राजनीतिमाथि बलियो पडक राख्ने भएकाले पनि पार्टीले बनाउने नीति र रणनीतिमा उनी प्रवेश पाउने पाउने गरेका छन् ।

रमेश लेखक
२०३७ मा नेपाल विद्यार्थी सङ्घ हुँदै काँग्रेसमा छिरेका लेखक २०४७ सालबाट काँग्रेसको राजनीतिमा सक्रिय छन् । पार्टीभित्र पनि सबै पक्षको स्वीकार्य नेतामध्येभित्र पर्ने उनी कानुनी मामिलाका ज्ञातासमेत हुन् ।
अध्ययनशील नेताको छवी बनाएका लेखक कानुनका विषयवस्तुसँगै राजनीतिक घटनाक्रमलाई सूक्ष्मरूपमा बुझ्ने र विश्लेषण गर्ने क्षमता राख्छन् ।

जसबाट सभापति देउवा पनि प्रभावित भएको पाइन्छ । सुदूरपश्चिम तथा राष्ट्रिय राजनीतिमै लेखक देउवाका खास सहयोगी मध्येमा पर्छन् । लेखकलाई पनि काँग्रेसभित्र सभापति देउवाको ब्रेन भनेर टिप्पणी गरिन्छ । केही दिनअघि वरिष्ठ नेता पौडेलले केन्द्रीय समिति बैठकमै संसद विघटनका सन्दर्भमा लेखकले राखेको धारणापछि देउवाको ब्रेन आएको धारणा भनेका थिए । देउवा आन्तरिक भेटघाटमा निस्किँदा सहयोगीका रुपमा पहिलो रोजाइ नै लेखक पर्ने गरेको लुकेको छैन ।

प्रतिनिधिसभा विघटनअघि प्रधानमन्त्री ओलीसँग देउवाले गर्ने औपचारिक तथा अनौपचारिक बैठकका साक्षी लेखक पनि हुन् । सुदूरपश्चिम काँग्रेसमा देउवापछिको हैसियत बनाएका लेखक केन्द्रमा रणनीति निर्माणमा हाबी भइरहेको पाइन्छ ।

काँग्रेसका पाँच रणनीतिक योजनाकारसँगै नेता रामशरण महत, प्रदीप गिरी, प्रकाशशरण महत, नारायण खड्कालगायतलाई पनि निर्णायक पात्रका रुपमा हेरिन्छ । उनीहरुले अन्तर्राष्ट्रिय निकायसँगको सम्बन्ध, प्रशासनमा पकड, आन्तरिक शक्ति केन्द्रसँगको हिमचिम, स्रोत जुटाउन र त्यसको परिचालनमा पार्टीका लागि योगदान गरिहरको पाइन्छ । काँग्रेसभित्र उनीहरुबाट समझदारी तय भएपछि त्यसले नीतिको आकार ग्रहण गर्दै आएको छ । 

यतिबेला उनीहरुले कस्तो रणनीति बनाउँछन् भन्ने प्रतिक्षाको विषय बनेको छ । जसबाट मुलुकको संवैधानिक संकट र काँग्रेसको वैधानिक संकटले दिशा पाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप