शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कविता : हे सहिद, तिमीलाई लाख लाख अभिवादन छ , मरेर पनि नमर्ने अमर आत्माका लागि

शुक्रबार, १६ माघ २०७७, ११ : २७
शुक्रबार, १६ माघ २०७७


तिमी त अमर भयौ तर हामी मृत्युलोकमा

तिम्रै अमरत्वको गीत गाएर बसेका छौँ

तिमी मुलुकको लागि मरेर जाँदा

हाम्रा मनमा अमर भएर रहँदा

ती मुलुक मार्नेहरुले तिम्रो सालिकमा

छुँदा पनि हामीले केही गर्न सकेनौँ

त्यो को हो जो आफू मरेर पनि जीवित छ ?

त्यो कोहो जो अब फेरि जन्म मृत्युको चक्करमा हुने छैन ?

त्यो त मेरालागि , मेरो देशका लागि

सहादत दिएको सहिद हो जो मभित्रै जीवित छ

जो व्योमपथबाट नेपालको रक्षा गरिरहेको छ

नेपालको किल्लाको सुरक्षा गरिरहेको छ

भन्न त भनियो ऊ छैन रे मारियो रे

तर

ऊ कहाँ गएको छ र ?

किनभने ऊ हामीभित्रै जीवित छ

ऊ मेरो माटोको सुवास हो

ऊ मेरो वनको बास्नादार वनफूल हो

ऊ त्यो साना साना बालकको तोते बोलीमा बोल्छ

ऊ ती वैज्ञानिकहरुको खोजीमा देखिन्छ

ऊ त्यो सगरमाथाको चुचुरोमा बसेर नेपालको चियो गर्छ

र प्रत्येक पटक सगरमाथाको उँचाई बढाई रहन्छ

अनि नेपालको भलोमात्र चाहने कल्पना गर्नेलाई प्रेरणा दिन्छ

हो ऊ त्यही सहिद हो जो म, तिमी , तपाईँ र हामीभित्र नेपाल भएर बाँच्छ

यो देशको स्वतन्त्रता—जसलाई सिध्याउन धेरै लागेका थिए र

अहिले पनि लागेकै छन्

तर खबरदार आज पनि ऊ त्यसकै रक्षक हो

जसको ऊ नै पुजारी हो र थियो

अनि मुख्य पात्र र कर्ता उही थियो र हो

यो देशको प्रजातन्त्र—जसको मुख्य लक्ष्यमा स्थापना भएको थियो

यो देशको विकास—जसको कल्पनामा अमिट छाप रहेको थियो

र त ऊ त्यही सपना साकार गराउन

निर्भयताका साथ सहादत दिन लालायित भएको थियो

अनि ऊ निःस्वार्थ यो माटोका रक्षाका लागि

यो माटोका सुरक्षाका लागि

यहाँका जनताको भविष्यका लागि अगाडि बढ्यो निडर भएर

र आततायीको बुटले, , बोलीले र गोलीले मारियो

त्यसपछि ऊ मेरो देशको सहिद भयो

भन्दछन्—८४लाख योनि घुमेरमात्र मानव चोला पाइन्छ

भन्दछन्—त्यस्तो मानव जीवनलाई पनि

मानवता र मुलुकका लागि न्यौछावर गर्ने

महामानव नै त सहिद कहलाउँछन्

हे सहिदहरु हो—वर्षमा एकदिनमात्र तिमीहरुलाई सम्झेका होइनौँ

हामी त सधैँ तिमीलाई सम्झेरमात्र आफ्नो दिनको सुरुवात गर्छौँ

तिमीलाई सम्झेरमात्र जीवनको महत्वलाई पानीको फोका भन्दा पनि

मुलुकको लागि कसरी समर्पण गर्न सकिन्छ भनेर

प्रेरणाको श्रोत मानेका छौँ त्याग र तपस्याको प्रतिमूर्तिका रुपमा

ती समयका पथप्रदर्शकलाई नमन छ

ती मेरा आध्यात्मिक रक्षकलाई प्रणाम छ

ती सहिदहरुलाई सलाम छ

नमस्कार छ लाख लाखपटक

जसले जीवनको बलीदान दिएर

मरेर पनि मरेका छैनन्

फेरि हाम्रो मुटुमा

अमर जीवन बाँच्न सकेका छन्

ती सहिदहरुलाई नमस्कार छ

ती सहिदहरुलाई फेरि पनि दशऔँला जोडेर नमस्कार छ

सहिदहरुलाई सलाम छ प्रणाम छ

भित्रै अन्तरआत्माबाट आफ्ना जीवन प्रदर्शकका लागि

जो म¥यो नमर्नका लागि

जो म¥यो अमरत्वका लागि

त्यो नै सहिद हो

मेरो देशको, मेरो संसारको

मेरो जीवनको र मेरो आत्माको ढुकढुकी

त्यो नै सहिद हो श्रद्धाञ्जलि शब्दको ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हरिविनोद अधिकारी
हरिविनोद अधिकारी
लेखकबाट थप