शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आगामी निर्वाचन : देउवा र वामदेवको हिसाब–किताब उस्तै !

काँग्रेसको विरोध प्रदर्शन ओलीलाई सहारा
शुक्रबार, १६ माघ २०७७, १४ : २३
शुक्रबार, १६ माघ २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलित प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस सहरभन्दा गाउँमा केन्द्रित देखिएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलील पुस ५ मा लिएको प्रतिनिधिभा विघटनको ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदमविरुद्ध १३ पुसबाट काँग्रेसले जिल्ला मातहतमा विरोध प्रदर्शन ग-यो । फागुन ३ गते जिल्लास्तरमा विरोध प्रदर्शनको घोषणा गरिएको छ ।

यता सरकारले वैशाख १७–२७ का लागि घोषणा गरेको मध्यावधि निर्वाचनको तयारी कार्यक्रममा पनि काँग्रेस पूर्णरुपमा सामेल छ । केन्द्रदेखि जिल्ला तहमा निर्वाचनका कार्यक्रममा सहयोग गर्ने काँग्रेसले नीति लिइसकेको छ । सोही अनुसार पार्टीका जिल्ला कार्यसमितिलाई सर्कुलर पनि पठाइएको छ । निर्वाचन आयोगले देशव्यापी चुनावी गतिविधि जारी राखेको छ ।

तीन वर्ष जनताबाट टाडिएका काँग्रेस नेता कार्यकर्ता यतिबेला निर्वाचन क्षेत्र केन्द्रित दौडमा छन् । कोही जनता रिझाउन त कोही निर्वाचन क्षेत्रको खोजीमा रहेको पाइन्छ । जसबाट ओली समूहलाई सहजता प्रदान भएको छ ।

यता, संसद विघटनको विषयमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रक्रिया जारी छ । मुलुकले राजनीतिको एउटा कोर्स समात्न अदालतको निर्णय पर्खिरहेको छ । काँग्रेस भने सरकार पक्षको चुनावी जोड र विपक्षीको संसद पुनस्र्थापनाको दुवै मार्चामा सामेल भएको पाइन्छ । ०७४ को चुनावी परिणामबाट घायल भएका काँग्रेसी नेता कार्यकर्तामा नेकपामा आएको विभाजनबाट उत्साह देखिएको छ । त्यो उत्साहले काँग्रेसीजनलाई ०७४ को म्यान्डेट बिर्साइदिएको छ । त्यसमा पनि नेकपा नेतृत्वको सरकारले नै सो म्यान्डेटलाई बिसर्जन गरिदिएपछि काँग्रेसलाई सजिलो भएको छ । त्यही भएर काँग्रेसका विरोधसभाले विरोध कम चुनावी अभियानको बढी झल्को देखिएको छ ।

तीन वर्ष जनताबाट टाडिएका काँग्रेस नेता कार्यकर्ता यतिबेला निर्वाचन क्षेत्र केन्द्रित दौडमा छन् । कोही जनता रिझाउन त कोही निर्वाचन क्षेत्रको खोजीमा रहेको पाइन्छ । जसबाट ओली समूहलाई सहजता प्रदान भएको छ । ओली पक्षका नेता सुवास नेम्वाङले काँग्रेसकै सहारा लिएर सरकारको पक्षमा मुख खोलेका थिए ।

पुस ५ मा संसद विघटनभएपछि मौन वर्तमा रहेक नेम्वाङले गत माघ ३ मा काँग्रेसको चुनावी रुझान समातेर सरकारका पक्षमा सार्वजनिक अभिव्यक्ति दिएका थिए । ‘म अरु भन्न चाहन्न तर तोकिएको समयमा निर्वाचन गर्नुपर्छ, हुन्छ । देश त निर्वाचनमा गइसकेको छ,’ उनको दाबी थियो, ‘स्वयम् हेर्नुस्, प्रतिपक्ष (नेपाली काँग्रेस) निर्वाचनमा गइसकेको छ ।’

प्रतिपक्षले सरकारका कदमको चर्चा र टिप्पणी गर्नुलाई अन्यथा मान्नु नहुने नेम्वाङको मत थियो  ‘उहाँहरुले यो असंवैधानकि भनेर विरोधका कार्यक्रम राख्नुभएको छ । त्यो अचम्मको कुरा होइन, उहाँहरुले पहिलो चरणमा १६५ निर्वाचन क्षेत्रमा आमसभा राख्नुभयो । त्यसपछि गाउँ–नगरमा आमसभा, अब वडावडासम्म गर्नुभयो । हाम्रा प्रतिपक्ष, प्रतिस्पर्धीले त निर्वाचनसम्बन्धी काम झण्डैझण्डै भ्याउन थाल्नुभयो,’ उनले भनेका थिए ।

प्रदेश एकका ओली पक्षीय कार्यकर्तालाई उनले भने, ‘तपाईं हामीलेचाहिँ अझै पनि धेरै काम गर्न बाँकी छ । यसले सिंगो देश निर्वाचनमय हुनेतर्फ अघि बढिरहेको छ ।’ यो कुरालाई केन्द्रविन्दु बनाएर अगाडि बढ्नु आफूहरुको जिम्मेवारी भएको नेम्वाङको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले पनि सुरुमै काँग्रेस निर्वाचनमा जाने विश्वास व्यक्ति गर्दै चुनाव हुने ग्यारेन्टी गरेका थिए । पछि मात्र उनले निर्वाचनको दिशामा आउन सिंगो देशलाई आग्रह गरेका थिए ।

केही दिनअघि काँग्रेस नेता भीमसेन दास प्रधानसँगको भेटमा पनि नेम्वाङले काँग्रेसको गतिविधिले निर्वाचनमुखी माहोल बनेको सुनाएका थिए । नेम्वाङका अनुसार संसद विघटन विरुद्धको प्रदर्शनबाट ओली पक्षले दबाब महसुस गरेको छैन । त्यसको पुष्टि हुनेगरी दाङको ओलीले प्रचण्डले धम्क्याउन जमाना सकिएको जिकिर गरेका थिए ।

अदालतबाट आफ्नो पक्षमा फैसला आउनेमा विश्वस्त देखिएकाले ओलीले निर्वाचनका लागि अर्को चुनौती देखेका छैनन् । ‘चुनाव हुँदै छ । चुनाव हुँदै छ, हामी जित्दै छौँ । चुनाव भनेकै त्यही हो कसैले जित्ने कसैले हार्ने,’ ओलीमा आक्रमकता र आत्मविश्वास प्रकट हुन्छ ।

लोकप्रियताको ग्राफ जाँच्न चुनावी मैदानमा आउन उनको आह्वान छ । ओलीको यही आह्वान नेम्वाङले प्रधानसँगको भेटमा पनि सुनाएका थिए ।

‘गएको चुनावमा ठूलो लहर आएको थियो, हाम्रो पार्टीको पक्षमा । दुई पार्टी मिलेर चुनावमा गएका थियौँ, त्यहाँ हामीले पाएको मत ४३ लाख हो । काँग्रेसले प्राप्त गरेको मत ३० लाख हो,’ उनले सुनाएका थिए, ‘पाँच–सात लाख मतदाता बढेका पनि होलान् । मतदाता बढे पनि भोटिङ औसत हुन्छ । अब हामीले प्राप्त गरेको भोट बाँडिने हो भने साढे २१ लाख हुन्छ । २२ लाख मत कसैले पाए पनि हामीलाई पछारिदिन्छन् ।’

देउवा र बामदेवको हिसाब– किताब उस्तै !

तर नेकपा उपाध्यक्ष बामदेव गौतम ओलीको आत्मविश्वास र दाबी खण्डित हुने दाबी गर्छन् । वैशाखमा चुनाव भए दुई तिहाई ल्याउँछौँ भन्ने ओली समूहको दाबी छ । दुई वर्षपछि चुनाव भए हामी बहुमत ल्याउँछौँ भन्ने प्रचण्डको समूह भनाइ छ । बुधबार एकता राष्ट्रिय अभियानको घोषणासभामा गौतमले भने उनीहरुको दाबी खण्डित हुनेगरी कार्यकर्तालाई हिसाब दिए ।

‘मैले तपाईंहरुलाई हिसाब दिन्छु । गएको चुनावमा ठूलो लहर आएको थियो, हाम्रो पार्टीको पक्षमा । दुई पार्टी मिलेर चुनावमा गएका थियौँ, त्यहाँ हामीले पाएको मत ४३ लाख हो । काँग्रेसले प्राप्त गरेको मत ३० लाख हो,’ उनले सुनाएका थिए, ‘पाँच–सात लाख मतदाता बढेका पनि होलान् । मतदाता बढे पनि भोटिङ औसत हुन्छ । अब हामीले प्राप्त गरेको भोट बाँडिने हो भने साढे २१ लाख हुन्छ । २२ लाख मत कसैले पाए पनि हामीलाई पछारिदिन्छन् ।’

यस्तो अवस्थामा आफूहरु पराजित हुनेबाहेक अरु विकल्प नभएको उनको दाबी थिए । ‘हाम्रो मत विभाजित हुने पक्का छ, काँग्रेसले पछारिदिन्छ । फुटेर पनि बहुमत ल्याउँछौं भन्नु सिद्धान्ततः पनि गलत छ । जुटेर निर्माण गर्न सकिने शक्ति आज फुटेर पनि प्राप्त गर्छौँ भन्दै हुनुहुन्छ ।’

विगतमा तत्कालीन नेकपा एमाले विभाजन हुँदा आफूले भोगेको हविगतको पनि गौतमले स्मरण गराएका थिए । ‘मैले पनि चार वर्ष यस्तै भाषण गर्दै हिँडेको थिए । फुटेर बाहिर गएको मेरो पार्टीको के अवस्था भयो तपाईंहरुले देख्नुभयो, एउटा पनि सीट जित्न सकेन । कम्युनिष्ट पार्टी फुटेपछिको दुःख हामी सबैले बुझेका छौँ,’ उनको भनाइ थियो ।

गौतमले नेकपा विभाजनपछिको हिसाब किताब गरे झै काँग्रेसले पनि नेकपा विभाजनको हिसाब किताब गर्न थालेको छ । नयाँ संरचना अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रको कूल संख्या १६५ रहेको छ । समानुपातिकतर्फ कूल ११० सिट छ ।

२०७४ सालमा प्रतिनिधिसभाको निर्वाचनमा पहिलो स्थानमा रहेको तत्कालीन एमालेले ३१ लाख ७३ हजार ४९४ मत पाएको थियो । काँग्रेसले ३१ लाख २८ हजार ३८९ मत पाएको थियो । तत्कालीन माओवादी केन्द्रले १३ लाख ३ हजार ७२१ मत पाएको थियो । एमालेले प्रत्यक्षतर्फ ८० र समानुपातिकमा ४१ सिट पाएको थियो । माओवादीले प्रत्यक्षतर्फ ३६ र समानुपातिकमा १२ सिट पाएको थियो ।

काँग्रेसले प्रत्यक्षतर्फ मात्रै २३ र समानुपातिकमा ४० सिट जितेको थियो । यो तथ्यांकका आधारमा आगामी निर्वाचनमा दुई टुक्रा भएको नेकपा एक आपसमा भिँड्दा सबैभन्दा आफूलाई फाइँदा हुने काँग्रेसको बुझाइ छ । नेकपा विभाजनपछि निर्वाचनमा जाँदा हुने लाभका विषयमा सभापति देउवाले आफूपक्षीय नेताहरुसँग हिसाब किताब गर्न थालिसकेको बुझिएको छ ।

बुढानीलकण्ठले निकालेका हिसाब किताब अनुसार तत्कालीन एमाले र माओवादी केन्द्रबीच चुनावी गठबन्धन हुँदा ४२ स्थानमा झण्डै ४ हजार मत अन्तरले काँग्रेस उम्मेदवार पराजित भएका थिए ।

आगामी निर्वाचनमा नेकपा दुई टुक्रामा विभाजन भएका कारण काँग्रेसलाई ४२ स्थानमा जित निकाल्न कठिन नहुने काँग्रेसको बुझाइ छ ।

तर समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीको मिलनबाट प्रदेश दुईमा केही कठिनाइ थपिएको काँग्रेसको बुझाइ छ ।

०७४ मा चुनावी प्रत्यक्ष र समानुपातिक गरी ३४ सिट जितेको समाजवादी र राजपाको गठनबन्धन यतिबेला जनता समाजवादी पार्टीका रुपमा एक भएको छ । ०७४ का ५ दलले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाएका थिए ।

तीमध्ये २ वटा पार्टी एक आपसमा मिलेका कारण ३ पार्टीमा सीमित भए । नेकपा फुटेको अवस्थामा अब राष्ट्रिय पार्टीको सङ्ख्या ४ पुगेको छ । मुख्य रुपमा यीनै दलबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

यसमा अहिलेको अवस्था आफू अनुकुल भएको काँग्रेस नेताहरुको बुझाइ छ । आगमी निर्वाचनमा काँग्रेसले कम्तिमा १ सय सिटसहित शीर्ष स्थान हासिल गर्ने लक्ष्य राखेको छ । प्रत्यक्षमा ६० बढी सिट र समानुपातिकतर्फ ४० लाख मतको टार्गेट राखेको काँग्रेस ४० बढी सिट पाउने हिसाबमा छ । देउवालाई यही हिसाब किताबबाट चुनावी माहोलले तानेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप