मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

महामारीलाई अवसरमा बदलेकी १७ वर्षीया जया

अनलाइन सपिङ फ्रम ‘ट्वीङ्कल्स’
शनिबार, १७ माघ २०७७, ११ : २९
शनिबार, १७ माघ २०७७

जया राजभण्डारीको घरमा सधैँ काम गर्न आउने दिदी एकाएक काममा आउन छाडिन् । कारण थियो– कोरोना महामारी र लकडाउन । जया कै आमाले हो दिदीलाई केही समय काममा नबोलाउने निधो गरेको । घरको काम अब जया र उनकी आमा आफैले गर्दै थिए ।

महामारी दिन प्रतिदिन बढ्दै गइरहेको थियो । लकडाउन पनि लम्बिँदै थियो । घरघरमा गएर काम गरेर गुजारा चलाउने दिदीहरु कामविहीन बन्दै गएका थिए । यो देखेर जयाको मनमा दया त थियो नै, उनीहरुप्रति हामी पनि जिम्मेवार हुनुपर्छ भन्ने सोच पलायो । उनले आमालाई भन्न सकिनन् कि दिदीलाई घरमै बोलाउँ । तब उनले विभिन्न उपायहरुको खोजी गर्न थालिन् । क्षणिक राहत दिनेहरु त धेरै देखिए तर दिर्घकालिन राहतबारे कसैको ध्यान गएको जयाले देखिनन् । अतः उनले राहतस्वरुप दिदीहरुलाई काम उपलब्ध गराउने योजना बुनिन्, आज जयासँग थुप्रै दिदीहरु मात्रै होइन सडक छेउमा कल लिएर कामको प्रतिक्षा गरिरहेका दाईहरुले पनि काम पाएका छन् ।

सन् २०२० कतिका लागि अभिशाप बनेर आयो भने कतिका लागि अवसर । कोरोना महामारीले कतिलाई बेरोजगार बनायो, कतिका व्यापार व्यवसाय बन्द भए । दिनभरी मजदुरी गरेर छाक टार्नुपर्ने वर्गको त बेहाल नै भयो । घरघरमा गएर काम गर्नेहरुलाई कोरोनाको डरले काममा नआउन भनियो । यसले उनीहरुको गाँस खोसियो।

फेरि पनि, यही महामारीले कतिलाई रोजगारी दिलायो र कतिले नयाँ व्यापार व्यवसायको सुरुवात गरी महामारीको भरपुर उपयोग गर्न सफल भए । महामारीले सिर्जना गरेको असहज परिस्थितिलाई अवसरको रुपमा परिणत गर्नेमध्ये एक हुन्– १७ वर्षीया जया राजभण्डारी ।

महामारीले रोजगारी खोसिएका धेरै नागरिक आ–आफ्ना थातथलोमा फर्किँदै थिए । फर्किन नसकेका वा राजधानीमै स्थायी बसोबास भएकाहरु कोही सडकमा खानाको प्रतीक्षामा बसेका, त कोही राहतको प्रतीक्षामा । त्यस्तालाई रोजगारी दिनकै लागि लकडाउनको उपयोग कसरी गर्नेबारे जया दिनरात अध्ययनमा लागिन् । ब्रिटिस कलेजमा ए लेभल अध्ययनरत जयाको यो हर्कतले उनकी आमालाई कता कता छोरीले पढाई बिगार्ने पो हो कि भन्ने चिन्ताले तर्साएको थियो । उनले जयालाई यी सबैबाट टाढा बस्न र पढाईमा ध्यान दिन भनिन् तर जयाले रोकिने छाँटकाँट देखाइनन् ।

सधैँजसो आफ्नो घरमा आएर सम्पूर्ण कामकाज गरिदिने एकजना दिदी लकडाउनपछि बेरोजगार भएकोमा उनलाई निकै दुःख थियो । आफू बस्ने रेसिडेन्सीका घरहरुमा काममा आउने दिदीहरु, आफन्तहरुकोमा काम गर्न आउनेहरुलाई पनि माहामारीको डरले काममा बोलाउन नसकेको देखेपछि जयालाई तिनै दिदीहरुका लागि भए पनि केही गर्नुपर्छ भन्ने लाग्यो र, उनले महामारी र लकडाउनलाई एउटा अवसरको रुपमा प्रयोग गर्ने गरी योजना बनाइन् ।

जया अर्थात् एक १७ वर्षीय किशोरीको कलिलो दिमागले सिर्जेको योजनाले नेपालमा कान्छी उद्यमीको जन्म गरायो र सुरु भयो ‘ट्वीङ्कल्स’ । ट्वीङ्कल्सले दिदीहरुलाई काममात्र दिएन, उनीहरुलाई सिप विकास गर्न पनि सहयोग गर्यो । सायद नेपालमा कान्छी उद्यमी (योङ्गेस्ट इन्टरप्रेनर) को रुपमा उदाएकी छिन् जया । उनले सुरु गरेको ‘ट्वीङ्कल्स’ नामक कम्पनीले चार महिनाको अवधिमै युवामाझ लोकप्रियता कमाउन सफल भएको छ । ट्वीङ्कल्सबाट राम्रो आम्दानी मात्रै होइन सबैतिरबाट प्रशंसा पाउँदा उनी झनै उत्साहित भएकी छिन् । 

जयाको यो योजना कामविहीनलाई काम दिनेमात्रै नभएर उनको जीवनकै एउटा महत्वपूर्ण ‘टर्निङ पोइन्ट’ थियो भन्दा उनकी आमालाई अहिले निकै गर्व महसुस हुन्छ रे । जयाकी आमाको नाम हो ट्वीङ्कल । आमाको संघर्षबाट प्रेरित उनले त्यही संघर्षलाई मूर्त रुप दिन आमाकै नामबाट कम्पनी खोलेको बताउँछिन् । छोरीहरु पनि सक्षम छन्, उनीहरुलाई साथ दिनुपर्छ भनेर ट्वीङ्कलले छोरीलाई ‘ट्वीङ्कल्स’ सञ्चालन गर्ने अनुमतिमात्रै होइन सुरुदेखि साथ दिँदै आएकी छिन् ।

विश्व प्रख्यात अनलाइन स्टोर अलिबाबाका संस्थापक ज्याक माले भनेका थिए, ‘युवाहरुलाई सहयोग गरौं । सानालाई सहयोग गरौं । किनभने साना नै भोलि ठूला हुन्छन् । युवाहरुको दिमागमा तपाईले रोपिदिएकै बीउ हुन्छ र जब ती ठूला हुन्छन्, तिनीहरुले संसारलाई परिवर्तन गर्नसक्ने ताकत राख्छन् ।’ यो भनाइ जयामा पनि लागु भएको छ । त्यसैले जयाजस्ता केही गर्न खोज्ने पुस्तालाई राज्यको तर्फबाट सहयोग र साथ मिलेमा अवश्य पनि समृद्धिमा टेवा पुग्ने देखिन्छ । युवा पुस्तालाई अगाडि बढ्न प्रेरित गर्नु राज्यको दायित्व भएको जया बताउँछिन् । 

नेपालमा अहिले अनलाइन व्यापार फस्टाउने क्रममा छ र यही भिडमा थपिएको हो ‘ट्वीङ्कल्स’ । अझ महामारीपछिको अवस्थामा त अनलाइन खरिदविक्री धेरैको प्राथमिकतामा परेको छ । सामान्यतया बजारमा गएर सामान खरिद गर्दाको जुन संस्कार छ, त्यही संस्कार अहिले सञ्चालनमा आएका अनलाइनहरुले अनुसरण गर्दै आएको पाइन्छ । तर यही भिडमा फरक सोच, फरक शैली र फरक मान्यताका साथ ट्वीङ्कल्स अगाडि बढिरहेको छ । ट्वीङ्कल्सको खास विशेषता भनेको कुनै पनि सामान खरिद गर्नेका लागि परम्परागत शैलीभन्दा विल्कुलै फरक शैलीको अनुसरण गर्नु हो ।

ट्वीङ्कल्स मात्र सिल्भर लाइनिङ 

कोरोना महामारीले जब मुलुक लकडाउनमा गयो तब सवै परिवार एकत्रित भए । परिवारसँग समय बिताउन कि त बिदा, कि त चाडबाडलाई नै कुर्नुपर्ने अवस्थामा लकडाउनले धेरैलाई घरभित्र सीमित गरिदियो । परिवारसँग समय गुजार्न नपाउनेहरुका लागि भने यो सुनौलो अवसर नै बन्यो ।

जयाले कहिल्यै परिवारसँग लामो समय बिताउन पाएकी थिइनन् । उनका लागि लकडाउन उपयोगीमात्रै होइन, परिवारसँग समय बिताउने अवसर पनि बन्यो । घरभित्र सीमित हुनुपर्दा सधैँजसो व्यस्त रहने एयरलाइन्स कि जागिरे आमाको माया र हजुरबुबा–हजुरआमाको स्नेहले उनलाई पुलपुल्याएन कि बरु परिपक्व बन्न पो प्रेरित गर्यो ।

‘ट्वीङ्कल्स’ नामक कम्पनीको लोगो उनी आफैले डिजाइन गरिन् । कम्पनीले कस्ता सामान उत्पादन गर्ने र विक्री वितरण गर्ने, सबैको डिजाइन आफै गरिन् । जया भन्छिन्, ‘ट्वीङ्कल्स इज वन्ली द सिल्भर लाइनिङ, सुरुवात गरिसकेँ, यो नेपालको अनलाइन बजारका लागि विल्कुलै नयाँ प्रयोग हुनेछ । यसलाई अगाडि बढाएर नेपालमा मात्र होइन विदेशमा पनि पुर्याउन चाहन्छु ।’

जयाका अनुसार सामाजिक सञ्जाल (इन्स्टाग्राम, फेसबुक अनि टिकटक)मार्फत केही नयाँ बनाएर पोस्ट गर्ने बित्तिकै यसको माग भइहाल्छ । बजारले के खोजिरहेको छ भन्ने आजभोलि सामाजिक सञ्जालले छर्लङ्ग पारिदिने भएकाले पनि बजार बुझ्न सजिलो भएको उनी बताउँछिन् ।

जब जयाले ट्वीङ्कल्स सञ्चालनमा ल्याइन्, तब घरघरमा आएर काम गर्ने उनका चिनजानका दिदीहरुले मात्रै होइन, सडकमा मेसिन राखेर सिलाइको काम गर्दै आएकाहरु जो लकडाउनसँगै कामविहीन भएका थिए, उनीहरुले पनि काम पाए । उनले मेसिन चलाउन जान्ने र मेसिन हुने दिदीहरुलाई सिलाईको काम दिइन् भने मेसिन नभएकाहरुलाई त्यसको व्यवस्थापनको काम दिइन् । यसले उनीहरुलाई दुईचार पैसा कमाउन र जीविकोपार्जन गर्न सहज भएको जया बताउँछिन् । काम नभएर छटपटाएकाहरुलाई काम दिएर दुईचार पैसा हात पर्दा उनीहरुको अनुहारमा देखिएको खुशीको बयान गर्न नसक्ने जया बताउँछिन् ।

सधैँजसो अनलाइन खरिद गर्ने जयालाई यो अनलाइन व्यापारलाई अलि व्यवस्थित र आकर्षक बनाउन नसकेको देख्दा कताकता खल्लो लाग्थ्यो । आफूले पैसा खर्चेर खरिद गरेको सामान इज्जतका साथ वा विशेष प्याकेजिङ भएर आइदिए हुने भन्ने लाग्थ्यो जयालाई । जयाले जति समान अनलाइनमार्फत खरिद गरिन्, त्यसमा उनलाई सधैँ खट्किएको थियो प्याकेजिङ । त्यसैले ट्वीङ्कल्समा उनले प्याकेजिङलाई प्राथमिकतामा राखेकी हुन् ।

ट्वीङ्कल्समार्फत खरिद गरेको सामान ग्राहकले उपहारकै स्वरुपमा प्राप्त गर्दछन् अर्थात् आकर्षक प्याकिङका साथ पाउँछन् । ट्वीङ्कल्सले हाल सिल्कबाट बनेका पहिरनहरु, मास्क, हेयर ब्याण्ड, हेड ब्याण्ड, सिरानीको खोल, कुसनका खोल, झोला, गरगहना, हस्तकलाका सामानहरु, छालालाई मुलायम बनाउने स्क्रबलगायत चकलेट, मिठाई, अचार उपलब्ध गराउँदै आइरहेको छ । यी सबै सामान ट्वीङ्कल्सका आफ्नै उत्पादन हुन् ।

ट्वीङ्कल्स सुरु गरेपछि जयालाई आउने म्यासेजले कहिलेकाहीँ म सही बाटोमा रहेछु भन्ने महसुस हुन्छ । घुम्ने–खाने अनि साथीभाइसँग रमाउने उमेरमा तिमीले गरेको यो कामले हामीलाई प्रेरणा मिलेको छ भन्ने युवाहरुको म्यासेजले उनलाई झनै उत्साहित बनाउने गरेको छ ।

फालिएका कागज र कार्टुनबाट प्याकेजिङ

कोरोना महामारी र लकडाउनले बजार ठप्प भएको अवस्थामा प्याकेजिङका लागि उनकी हजुरआमाको पुरानो (परम्परागत) तरिकाले काम गर्यो । खेर जाने सरसामानको प्रयोग गरेर हजुरआमाले प्याकेजिङका लागि झोलाको व्यवस्था गरिदिनुभयो । ऊबेला झोलाको चलन नहुँदा कागज र पुराना कपडाबाट झोला तथा खाम बनाइ सामान प्याक गर्ने चलनलाई हजुरआमाले पुनः प्रयोगमा ल्याइदिनुभयो । यसले पनि जयालाई उत्साहित बनायो । हजुरआमाको यो शैली उनले सामाजिक सञ्जालमा राख्दा यसले थुप्रै ताली पायो ।

हजुरआमाले पुराना कागज, पत्रपत्रिका र कार्टुनहरुलाई भातको माड प्रयोग गरी खाम तथा झोला बनाउन सघाउनु भयो । जसबाट भएका प्याकेजिङले ग्राहक खुशी भए । यसले प्लास्टिकको प्रयोगमा पनि कमी ल्याउने र फालिने चिजविजको पनि प्रयोग हुने भयो । त्यतिमात्रै होइन, हरेक प्याकेजमा ट्वीङ्कल्सको लोगो अंकित स्टिकर लगाएर डेलिभरी गर्दा ग्राहकमाझ कम्पनीको विश्वसनीयता बढ्दै गएको उनी बताउँछिन् । आमा र हजुरआमाको साथले उनलाई लकडाउनकै समयमा पनि सामान खरिद गर्न र नयाँनयाँ सरसामानको उत्पादन गर्न सहज बनाइदियो । 

जब स्थिति सामान्य बन्दै गयो, जयाले विशेष प्रकारको प्याकेजिङको लागि ट्वीङ्कल्सको नाममा कागजका डब्बा निर्माण गरिन् । चाडपर्व तथा विशेष अवसरमा कसैले ट्वीङ्कल्सबाट सामान खरिद गर्दा विशेष खालको प्याकेजसहित प्राप्त गर्दछ । मानौं सामान खरिद गरिएको होइन कि कतैबाट उपहार प्राप्त भएको छ ।

सप्लाई चेनमा ट्वीङ्कल्स

ट्वीङ्कल्स सञ्चालनमा आएको चार महिनाको अवधिमा आफ्नो सप्लाई चेन विस्तार गर्न सफल भइसकेको छ । हाललाई अमेरिकामा यसले आफ्नो विक्री सुरु गरिसकेको छ । छिट्टै नै बेलायतमा पनि ट्वीङ्कल्स खुल्ने जया बताउँछिन् । नेपालका मुख्यमुख्य शहरहरुमा ट्वीङ्कल्सका उत्पादन पुग्ने गरेका छन् ।

जया नेपालबाट ट्वीङ्कल्सका उत्पादन विदेश लगेर आफ्नो देशलाई प्रतिनिधित्व गर्न पाएकोमा निकै खुसी लागेको बताउँछिन् । विस्तारै यसलाई अन्य मुलुकमा पनि विस्तार गरेर नेपालले खाली गलैंचा, पस्मिनाहरु मात्रै होइन अन्य सरसामानहरु पनि उत्पादन तथा निर्यात गर्न सक्छ भन्ने सन्देश दिन चाहेको जया  बताउँछिन् । नेपाली उत्पादन भन्ने बित्तिकै जुन खालको धारणा बसेको छ, त्यसमा परिवर्तन होस् भन्ने चाहना जयाको छ ।

नेपालमा यसलाई विस्तार गर्दै लैजाने र आगामी दिनमा देशमा मात्र नभएर अन्तर्राष्ट्रिय बजारमा ट्वीङ्कल्सका उत्पादन पुर्याउने जयाको लक्ष्य छ । अमेरिकामा यसले राम्रो बजार पाइरहेको अवस्थामा अन्य मुलुकमा पनि यसले बजार पाउने उनको विश्वास छ ।

छाला र कपालका लागि सिल्क रोजाइमा

पछिल्लो समय कोरोना महामारीबाट बच्न मास्कको प्रयोग ह्वात्तै बढ्यो र यो अनिवार्य पनि थियो । मास्कको निरन्तर प्रयोगले धेरैको अनुहारमा छालाको समस्या निस्कियो । हामीले प्रयोग गर्ने कटन, भेलभेट लगायतका कपडाहरुमा धुलोको मात्रा धेरै हुने र यसले छालाको एलर्जी तथा कपाल झर्ने समस्या पनि उत्तिकै हुन्छ । तर सिल्क छालाको लागि उपयुक्त मानिन्छ ।

सिल्क छालाको लागि लाभदायक छ भन्नेबारे नेपालीहरु अनभिज्ञ नै छन् । अहिले विदेशी सामानको आयात र नेपालमै पनि उत्पादन हुने भएपछि भने सिल्कको प्रयोग बढेको छ । जया ट्वीङ्कल्समा सबैभन्दा धेरै माग सिल्क सिरानीका खोलहरु हुने गरेको बताउँछिन् । त्यसैले हाल जयाले सिल्कका पहिरनहरुको निर्माणमा पनि तीव्रता दिएकी छिन् र सिल्कका पहिरनको माग पनि दिन प्रतिदिन बढेको उनी बताउँछिन् ।

छाला र कपालको सुरक्षाका लागि भनेर नै विदेशतिर सिल्कको प्रयोग बढी हुन्छ । ट्वीङ्कल्सको अवधारणा विकास गर्ने क्रममा छालाका लागि उपयुक्त कपडाबारे अध्ययन गर्दै जाँदा सिल्कको महत्वबारे जयाले थाहा पाएकी थिइन् र प्राथमिकतामा परेको थियो सिल्क । उनले सिल्कबाट विभिन्न डिजाइनका पहिरनहरु (जस्तोः पार्टी ड्रेस, नाइटी, गाउन, क्याजुअल ड्रेस), सिरानीका खोल, कुसनको खोल, मास्क निर्माण गरेकी छिन् । फेसन डिजाइनिङमा रुचि राख्ने जया डिजाइनिङबारे इन्टरनेटबाट नै अध्ययन गर्ने गर्छिन् ।

यतिमात्रै होइन, जयाले अर्डरअनुसार कप पनि उपलब्ध गराएकी छिन् । उपहारका लागि यस्ता कपको माग बढेको जया बताउँछिन् । यसमा विभिन्न प्रेरक भनाइहरु राखेर प्रिन्ट गरिन्छ । यस्ता भनाइले कपहरु आकर्षक त देखिन्छन् नै, मानिसको जीवनमा सकारात्मक ऊर्जा थप्दै जानेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप