शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यो त हाम्रै सम्पति रहेछ !

शनिबार, १७ माघ २०७७, १४ : ५५
शनिबार, १७ माघ २०७७

गत वर्ष १ डिसेम्बरका दिन एउटा  क्षुद्रग्रह (ऐस्टेरॉयड)पृथ्वीका नजिक भई आफ्नो यात्रा पथमा अगाडि बढ्यो। कुनै पनि ऐस्टेरॉयड पृथ्वीको  नजिक आउँदा वैज्ञानिक खेमामा हल्लीखल्ली मचिन्छ।  कारण एउटै हो 'आगोले पोलेको कुकुर बिजली चम्कँदा तर्सिन्छ ।'

वैज्ञानिकहरुलाई थाहा छ– विगतमा कुनै ऐस्टेरॉयड खसेर पृथ्वीमा 'जीवनको राम नाम सत्य' भएको थियो। ऐस्टेरॉयड सौर्यमण्डलका हामी मानिसभन्दा पुराना सदस्य हुन्, यिनको निर्माण सौर्यमण्डलको निर्माण हुँदा ताका नै भएको थियो।

कुनै पनि ऐस्टेरॉयड पृथ्वीको नजिक आउँदा वैज्ञानिकहरु चिन्तित हुने गर्छन्।  १ डिसेम्बर २०२० मा आएको ऐस्टेरॉयडबारे पनि यस्तै भयो।  कारण यो पृथ्वीको धेरै नै नजिक अर्थात पृथ्वी र चन्द्रमाको दूरी भन्दा पनि नजिक आई रहेको थियो। यसलाई २०२० so नाम दिई वैज्ञानिकले यसबारे अनुसन्धान गर्न थाले। सामान्यतया कुनै पनि ऐस्टेरॉयड आफ्नो यात्रा पथमा हिँड्ने क्रममा पृथ्वीका नजिक हुँदै अघि बढ़ने गर्छ। तर यस ऐस्टेरॉयडले भने पृथ्वीको कक्षाको  परिक्रमा गर्न थाल्यो।  अब कुनै पनि 'सेलेस्टिकल बड़ी' (खगोलीय पिण्ड ) ले पृथ्वीको परिक्रमा गर्छ भने त्यसलाई उपग्रह अर्थात चन्द्रमा अथवा प्राकृतिक 'स्याटेलाइट' भनिन्छ।  यसलाई सानो चन्द्रमा (mini moon) को उपमा पनि दिइयो। तर अब यो सानो चन्द्रमा पृथ्वीलाई अलविदा भनी यात्रा पथमा अघि बढ्न तैयार भएको छ। पृथ्वीलाई अलविदा भन्नुभन्दा पहिला यो सानो चन्द्रमा आउने सोमवार १ फेब्रुअरीका दिन पृथ्वीका झन नजिक आई बिदा हुनेछ।

यसबारे अनुसन्धान गर्दा अमेरिकी अंतरिक्ष संस्था नासाले रोचक जानकारी हात पारेको छ।  नासाका अनुसार यो कुनै प्राकृतिक पिण्ड न भएर मानिस निर्मित वस्तु हो। यो ऐस्टेरॉयड नभएर २० सेप्टेम्बर १९६६ मा अमेरिकाले चन्द्र मिसनअन्तर्गत प्रक्षेपित गरेको Surveyor 2 रकेट बुस्टर पो रहेछ।  यो यसभन्दा पहिला पनि पृथ्वीको नजिक आएर गई सकेको थियो तर यस पटक भने यसले  झण्डै ३ महीना पृथ्वीको कक्षामा रही परिक्रमा गरिरह्यो र मार्च महीनामा पुनः पृथ्वीको कक्षाबाट अनन्त अन्तरिक्षमा जाँदैछ।

'भर्चुअल टेलिस्कोप प्रोजेक्ट' का अनुसार पृथ्वीको गुरुत्वाकर्षणले मुक्त भएर यसले सूर्यतिरको यात्रा गर्नेछ। अमेरिकी अन्तरिक्ष संस्था नासाले सुदूर अन्तरिक्षबाट पृथ्वीका नजिक भएर जाने सबै पिण्डको अध्ययन गर्छ। नासा प्राकृतिक चट्टान र मानव निर्मित वस्तुमा सजिलै छुट्याउन सक्छ ।  तपाईंसंग प्रविधि उपलब्ध भए तपाईं पनि गर्न सक्नु हुन्छ। अन्तरिक्षमा घूमी रहेका प्राकृतिक चट्टानको गति अत्यधिक हुन्छ।  अनन्त अन्तरिक्षमा यी प्राकृतिक चट्टान ११ किमी प्रति सेकेण्ड देखि ७२ किमी प्रति सेकेण्ड सम्म ( अहिलेसम्म ज्ञात भए अनुसार ) को गतिले घुमिरहेका हुन्छन्।  तर वस्तु मानव निर्मित छ भने पृथ्वीको नजिक आउँदा ( पृथ्वी को गुरुत्वाकर्षण प्रभावी हुँदा ) यिनको गति कम हुन्छ। सानो चन्द्रमाको उपमा पाएको Surveyor 2 को रकेट बूस्टरले  पृथ्वीको परिक्रमा गर्दा यसको गति जम्मा ०.६ किमी प्रति सेकेण्ड रहेको थियो। पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त भई सूर्यतिर प्रस्थान गर्दा यसको गति अचम्मले पुनः वृद्धि हुन्छ। यो वृद्धि सयौं गुना पनि हुन सक्छ।  यसको कारण यसमा सूर्यको गुरुत्वाकर्षण प्रभावी हुनु नै हो ।

पृथ्वीको सतहदेखि ४० हज़ार किमीमाथि सम्म रहेका मानव निर्मित वस्तुको गति पृथ्वीको गतिसँग समान हुन्छ।  अर्थात यहाँ रहेका वस्तुले पृथ्वीको एक परिक्रमा २४ घण्टामा गर्छन्।  तर  वस्तु पृथ्वी सतहको जति करीब हुन्छ उसको गति पृथ्वीको गुरुत्वाकर्षणका कारण त्यति नै वृद्धि हुन्छ। वस्तु पृथ्वी सतह देखि ४०० किमीमाथि मात्रै हुन्छ  भने यस उचाईमा रहेको वस्तुले पृथ्वीको एक परिक्रमा ९० मिनेटमै पूरा गर्छ।  इन्टरनेश्नल स्पेस स्टेशन (ISS) मानव निर्मित अन्तरिक्षमा स्थापित गरिएको प्रयोगशाला हो। यो कुनै किसिमको इन्जिन अथवा इन्धन प्रयोग नगरिकन नै ९० मिनेटमा पृथ्वीको एक परिक्रमा पूरा गर्छ।  यहाँ रहेका वैज्ञानिकले एक दिनमा १६ पटकसम्म सूर्योदय भएको देख्न पाउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप