शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविन : जसको कार्टुनले कयौँ पटक हङ्गामा मच्चायो

'कार्टुनले कसैको तारिफ गर्दैन'
मङ्गलबार, २० माघ २०७७, ०९ : ५०
मङ्गलबार, २० माघ २०७७

अविन श्रेष्ठ नेपालका चर्चित कार्टुनिस्ट हुन् । २०५० सालबाट यो पेसामा आबद्ध भएका उनले अहिलेसम्म हजारौँ कार्टुन बनाइसकेका छन् । विशेष गरेर राजनीतिक व्याङ्ग्यमा कार्टुन निर्माण गर्दै आएका उनी बेलाबेलामा सामाजिक, आर्थिक र अन्य विषयका पनि कार्टुन कोर्ने गर्छन् ।

आफ्नो सिर्जनामार्फत राजनीतिक वृत्तमा कयौँ पटक हङ्गामा मच्चाउन सफल उनले कार्टुनका कारणले थुप्रै पटक धम्कीको सामाना पनि गर्नु परेको छ । कार्टुनलाई समाजले नराम्रो दृष्टिल हेर्ने समयमा कार्टुनिस्टको पेसा रोजेका श्रेष्ठले ‘नेपाली टाइम्स’बाट पत्रपत्रिकाका लागि कार्टुन कोर्न थालेका थिए । त्यसपछि हिमालय टाइम्स नेपाली, राजधानी, समय हुँदै विगत एक दशकभन्दा लामो समयदेखि उनी कान्तिपुर दैनिकमा आबद्ध छन् । २०६१ मा आफ्नै कार्टुनहरुको सङ्ग्रह ‘बेस्ट अफ अविन’ (अविनको कार्टुन सङ्ग्रह भाग–१) निकालेका उनले अहिले भने त्यसैकै अर्काे सङ्ग्रह भाग दुई ल्याएका छन् । उनी कार्टुनिष्ट क्लबका अध्यक्ष समेत हुन् । उनको कार्टुनिस्ट यात्रा र  अहिले आएको कार्टुनको पुस्तकका बारेमा गरिएको कुराकानी उनकै शब्दमा ।

साभार : कान्तिपुर दैनिक

पीडा पोख्ने माध्यम

कार्टुन पीडाको अभिव्यक्ति हो । कुनै पनि विकृति विसङ्गति देखेपछि मलाई एउटा पीडा हुन्छ । त्यो पीडा व्यङ्ग्यका रूपमा पोख्ने एउटा माध्यम हो कार्टुन । म जहाँ जहाँ नराम्रो छ त्यो विषय कार्टुनमा उतार्ने गर्छु । त्यसैले पनि मलाई नराम्रो खोज्दै हिँड्ने गरेको आरोपसमेत लाग्ने गरेको छ । ‘राम्रो काम कति भएका छन् । त्यतातिर किन नजर जाँदैन ?’ मलाई प्रश्न गर्छन् ।

राम्रो त यसै राम्रो छ, उसै राम्रो । नराम्रो सुधारको अपेक्षा राखेर कार्टुन बनाउने गरिन्छ । जहाँ विकृति छ, नराम्रो भएको छ ती सबै कुरा राम्रो होस् भनेर मैले कार्टुनमार्फत औँला ठड्याउने गरेको हुँ । त्यो सुधारको बाटोमा जान्छ । त्यसमा सम्बन्धित व्यक्तिको ध्यान पुग्छ भन्ने कार्टुनको उद्देश्य हो । सुधार त हाम्रो बसमा छैन ।

कोर्न सजिलो छैन

मेरा धेरै कार्टुन राजनीतिक विषयवस्तुमा केन्द्रित छ । यो सौभाग्य भनौँ वा दुर्भाग्य, मेरा ९० प्रतिशत कार्टुनमा पनि त्यस्तै विषय छन् । हाम्रा पाठकले राजनीतिमा धेरै चाख राख्ने भएकाले पनि अन्य कुरा कार्टुनबाट ढिला बुझ्लान् वा नबुझ्लान् । राजनीतिक भने भन्नासाथ बुझ्ने मेरो बुझाइ हो । किनभने घरमा पनि आमाबाबुको स्वस्थ्य कस्तो छ, धेरैलाई थाहा हुँदैन । राजनीति नेता तथा प्रधानमन्त्रीको स्वस्थ्य थाहा हुन्छ ।

कार्टुन समाचार होइन । त्यो एन्लाइसस हो । काटुर्न पाठकले बुझ्न त्यो विषयमा सरोकार भएका समाचार पाठकले पहिल नै सुनिसकेको हुनुपर्छ । अहिलेका पाठक पूरै अपडेट हुने विषय भनेको राजनीतिबाहेक अरू केही छैन । त्यसैमा केन्द्रित रहेको कार्टुन पाठकले सजिलै बुझ्छन् ।

म राजनीतिक विषयमा धेरै कार्टुन बनाउँछु । यसको मतलब अन्य विषय थाहा नभएको होइन । बेलाबेलामा सामाजिक, वातावरण विषयमा पनि बनाउँछु । वातावरण विषयमा बनाएको कार्टुनहरु मेरा ६, ७ चोटि प्रदर्शनीमा पनि राखिएका थिए । बेलाबेलामा धारा, पानी, सडक, शिक्षा, स्वस्थ्यलगायत विषयमा समेत कार्टुन बनाएको छु ।

कार्टुन बनाउन सजिलो छैन । जुन विषयमा कार्टुन बनाउने हो, त्यसको गहिराइसम्म पुग्नु जरुरी छ । गहिराइमा पुगेर बुझ्दा त्यहाँ राजनीति नै भेटिन्छ । शिक्षा, स्वास्थ्यदेखि हरेक ठाउँ राजनीति घुसेकै छ । अन्य विषयमा कार्टुन कोर्छु भन्दा पनि घुमिफिरी राजनीति जोडिन्छ ।

साभार : कान्तिपुर दैनिक

फुर्ने अवस्था धेरै रहन्छ

कहिलेकाहीँ कार्टुन फुराउन निकै कठिन भएर तनाव हुन्छ । जति कोसिस गरे पनि फुर्दैर्फुदैन । त्योबेला कस्तो लाइन रोजिएछ भन्ने लाग्छ । कहिले टिभीको समाचारको स्क्रोलिङ हेर्दैमा फुर्छ । त्यो समय मेरोजस्तो सजिलो काम संसारमा कसैको छैन भन्ने लाग्छ । त्यसैले यो पेसा कति सजिलो, कति गाह्रो भनेर भन्न सकिने अवस्था छैन ।

समाचार हेर्दा, पत्रपत्रिका पढ्दासमेत विषय नपाएको अवस्था धेरै छ । कहिले एउटै विषयमा कति बनाउने भन्ने हुन्छ । जस्तै ‘वार्ता भयो सहमति भएन ।’ एक समय यस्ता कति दिन भए राजनीतिमा ।

कहिले ठूलो कान्ड घट्यो भने पनि विषय पाउन सकिन्न । त्यो  समय सडक, बिजुली र पानीको रोज्नुपर्छ । यस्ता विषय रोज्दा आफैसमेत कार्टुन हुनुपर्ने हुन्छ । यस्तो अवस्था छ भने म कार्टुन कोर्दिनँ । किनभने कार्टुन फुरेन भने बनाउँदिनँ भनेरै जागिर खाएको हो । कार्टुन नफुर्ने अवस्था धेरै रहन्छ ।

चित्र कोर्यो भने घरमा कुट्थे

कार्टुनिस्ट बन्छु भनेर सोचेर म यो क्षेत्रमा लागेको होइन । २०, २१ वर्षको उमेरमा क्षेत्रमा होमिएको हो । यो उमेर गीत सुन्यो गायक बन्न मनलाग्ने, फिल्म हेर्यो हिरो बन्न मनलाग्ने र खेल हर्यो खेलाडी बन्न मनलाग्ने उमेर पनि हो ।

सानैदेखि म राम्रो चित्र बनाउँथे । त्यतिबेला चित्रकलामा स्कुल टप थिएँ । उमेर बढ्दै जाँदा देशका नराम्रा कुराले पीडा हुन थाल्यो । आफू चित्र बनाउने भएकाले चित्रमार्फत ती पीडा पोख्न थाले । सुरुसुरुमा त्यतिकै बनाउन थालेँ । विभिन्न पत्रपत्रिकामा पठाउँथे । जति बनाउँथे, एउटा पनि खेर गएनन् । सबै छापिन्थ्यो ।

त्यो समय व्यावसायिक रूपमा पठाएको थिइनँ । पैसा पनि चाहिँदैन थियो । नाम भए पुग्थ्यो । पैसा नआए पनि कामबाट मलाई मज्जा आइरहेको थियो । जहाँ मज्जा आउँछ । त्यहाँ मानिस बिग्रन्छ । त्यो मज्जाले गर्दा कति वर्षसम्म म बिनातलब काम गर्न थाले । फ्रीमा काम गर्दै जाँदा बाहिर मेरो एक किसिमको स्थान बनिसकेको रहेछ । त्यसपछि भने डिमान्ड गर्न थाले ।

त्यतिबेला चित्र कोर्यो भने घरमा कुट्थे । बागबजारमा साइन बोर्ड पसल खोलेर बस्ने भयो भनेर हेप्थे । चित्र कोर्ने काम नराम्रो मानिन्थ्यो । अहिले समय फेरियो । धेरैले आफ्नो छोराछोरीलाई आर्टिस्ट बनाउनुपर्यो भन्न थालेका छन् ।

विसं २०५० सालदेखि कार्टुनिस्टको जागिर सुरु गरेको मैले अहिले पनि चल्दैछ । चन्द्रलाल झाको ‘नेपाली टाइम्स पत्रिकाबाट सुरु भएको मेरो यात्रा हिमाल टाइम्स् दैनिक (नेपाली), राजधानी, समय हुँदै अहिले कान्तिपुरमा छु ।

पहिले त मेरो मिडिया यात्रा सुखद रहेछ । कहीँ त्यसै, कहीँ थोरै तलब, राजधानीमा ६ महिना बाँकी भएको तलब विवाहको कारणले उठ्यो । समयमा साप्ताहिकले बौद्धिक पाठमाझ यो काटुनिस्ट भनेर मलाई चिनायो । २०६५, २०६६ तिर कान्तिपुरमा आबद्ध भएको थिएँ । कान्तिपुर यात्रा अहिले जारी छ । पहिले कार्टुनिस्टलाई धेरै गाह्रो थियो । अहिले सजिलो छ । पछिल्लो समय काठमाडौँमा काटुनिस्ट मात्र हैन, जुनै क्षेत्रमा पनि नाम कमायो भने बाँच्न सजिलो रहेको मेरो बुझाइ हो । अहिले कार्टुनिस्ट नाम, दाम दुवै कमाएकाले होला धेरैले मेरो छोराछोरीलाई कार्टुनिस्ट बनाउनुपर्यो भन्न थालेका छन् ।

अहिले कार्टुनमा अवसर छ । प्रिन्ट मिडियाले मात्र स्थान दिएका छन् । अनलाइनले अझै अवसर दिन सकेका छैनन् । अनलाइनले कार्टुनलाई स्थान दियो भने यसको भविष्य निकै राम्रो छ ।

कार्टुनले तारिफ गर्दैन

कार्टुनले कसैको तारिफ गर्दैन । मेरा कार्टुनले कयौँ पटक हङ्गामा मच्चाएको छ । त्यसका कारणले धम्कीहरु कति आए आए । माओवादी शान्ति प्रक्रियामा भर्खर भर्खर आएको समय थुप्रै धम्कीहरु आउँथ्यो । त्यो समयदेखि नचिनेका फोन उठाउन छाडे । अफिसमा मेरो नम्बर कसैलाई नदिनुस् भने । नचिनेको इमेल पनि हेर्दिनथेँ ।

कार्टुनको विषयलाई लिएर अहिलेसम्म मुद्दामामला झल्नु परेको छैन । किनभने काटुर्न बनाउँदा म आफै सेल्फसेन्सरसिपमा रहन्छु । राजनीतिक दबाब सामान्य हो ।

पहिले र अहिले पनि कार्टुनिस्टलाई प्रविधिले केही फरक पारेको छैन । पहिले र अहिले पनि कार्टुन हातैले कोर्नुपर्छ । पहिले कलमले सेतो कागजमा कोरिथ्यो । अहिले त्यसरी नै कम्प्युटर बोर्डमा कोर्नुपर्छ । पठाउन, निकाल्न भने प्राविधिकले केही सजिलो गरिदिएको छ ।

बेस्ट अफ अविन

विसं २०५० देखि अहिलेसम्म मैले हजारौँ कार्टुन कोरेको छु । २०६१ मेरो कार्टुनको पहिलो पुस्तक ‘बेस्ट अफ अविन’ अविनको कार्टुन सङ्ग्रह भाग १ बजारमा आयो । त्यसमा सुरुको समयदेखि २०६१ समयका कार्टुन समेटिएको थियो । अहिले फेरि त्यसैको भाग २ किताब ल्याएको छु ।

विसं २०६२/०६३ को आन्दोलनदेखि २०७७ सम्म राजनीतिमा जेजति कार्टुन बने यो पुस्तकमा अटाएका छन् । यो पुस्तकमा समेटिएका कार्टुन न पहिले बनेका थिए, न पछि बन्नेछन् । यो हिसाबले पनि पुस्तक विशेष छ ।

२०६२ देखि २०७५ सम्मको समयमा धेरै नयाँ राजनीतिक अभ्यास भए । १० वर्षको जनयुद्ध, माओवादीको शान्ति प्रक्रिया, सयौँ वर्ष पुरानो राजतन्त्रको पूर्णविराम, गणतन्त्र घोषणा, संविधान सभा निर्वाचन, संविधान सभा गठन, घोषणा लगायत थुप्रै महत्त्वपूर्ण परिवर्तन भए ।

ती सबै घटना कार्टुनका माध्यमले पुस्तकमा समेटिएका छन् । यस हिसाबले पनि कार्टुनका पारखी लगायत सबैका लागि यो उपयोगी रहेको छ ।

राजनीतिमा रुचि राख्ने पछिल्लो पुस्ता र आउने पुस्ताका लागि पनि पुस्तक गहकिलो खुराक हुनसक्छ । आर्ट तथा पत्रकारिताका विद्यार्थीका लागि समेत यसले स्रोत पुस्तकको रूपमा समेत काम गर्नेछ । किताबमा त्यो बेलाको घटनाक्रम जसरी घटे त्यसरी नै क्रमबद्ध रूपमा राखेको छु । कार्टुन हेर्नेले त्यो बेलाको घटनाक्रम कसरी कुन बाटो हिँडेको थियो भनेर सजिलै बुझ्न सक्छन् ।

तस्बिर : कृष्ण खड्का

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप