शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्थायी बन्ध्याकरणमा पुरुषले देखाएनन् रुचि

मङ्गलबार, २० माघ २०७७, १५ : ४४
मङ्गलबार, २० माघ २०७७

नवलपरासीको दक्षिणी क्षेत्रका पुरुषले परिवार नियोजनको स्थायी बन्ध्याकरणका लागि अनिच्छा देखाएका छन् । स्वास्थ्य कार्यालय परासीले जिल्लामा सञ्चालन गरिरहेको स्थायी बन्ध्याकरण शिविरमा बन्ध्याकरण गर्नेमा महिला मात्र देखिएका छन् । 

यही माघ ५ गतेदेखि जिल्लाको विभिन्न स्थानीय तहमा सञ्चालन गरिएको बन्ध्याकरण शिविरमा अहिलेसम्म ४०० जनाले सेवा लिएकामा सबै महिला मात्रै रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख कृष्णप्रसाद पोखरेलले बताए ।  जिल्लाको दक्षिणी क्षेत्रअन्तर्गतका सुस्ताको नर्सही स्वास्थ्यचौकी, प्रतापपुरको प्रतापुर स्वास्थ्यचौकी र जनगन्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्र, सरावलको भुजहवा स्वास्थ्यचौकी र पाल्हीनन्दन गाउँपालिकाको हरपुर स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पुरुष नआएको उनले बताए ।

“शिविरमा महिला र पुरुष दुबै आउनुपर्ने हो तर महिला मात्र आउनुभएको छ, यो विगतदेखिकै प्रचलन रहेछ, सजिलोको हिसाबले त महिलाभन्दा पुरुषको बन्ध्याकरण गर्न सहज हुन्छ”, उनले भने ।

स्वास्थ्य कार्यालयले यही माघ २८ गतेसम्म जिल्लाका सातै स्थानीय तहमा स्थायी बन्ध्याकरणको शिविर सञ्चालन हुने जनाएको छ । सन्तानको रहर पुगेका दम्पतीलाई बन्ध्याकरणमा सहभागी हुने कार्यालयले अनुरोध गरेको छ । बन्ध्याकरणमा ५०० जनाको लक्ष्य लिएकामा अहिले चार पालिकाबाट मात्रै ४०० बढीले सेवा लिएकाले लक्ष्यभन्दा बढीलाई सेवा दिनुपर्ने अवस्था आएको कार्यालयले जनाएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष नै नागरिकको घरदैलोमा पुगेर बन्ध्याकरण शिविर सञ्चालन गर्दै आएको छ ।  

स्थायी बन्ध्याकरणको सेवा नेपाल सरकारले निःशुल्क प्रदान गर्दै आएको छ । शिविर सञ्चालन गर्दा उत्साहजनक उपस्थिति हुने गरेपछि पृथ्वीचन्द्र अस्पताल परासीबाट पनि दैनिकरुपमा बन्ध्याकरणको सेवा सञ्चालनको तयारी गरिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप