शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

रिहानाले सोधिन् – किसान आन्दोलनमा किन कुरा हुँदैन ? कंगनाको जवाफी ट्वीट – किनभने उनीहरु आतंककारी हुन्

बुधबार, २१ माघ २०७७, ०८ : ०३
बुधबार, २१ माघ २०७७

भारतमा कृषि कानूनविरुद्ध दिल्लीसँग जोडिएका विभिन्न सीमामा किसानले प्रदर्शन गरिरहेका छन् । अघिल्लो वर्ष नोभेम्बरको अन्तिम हप्तादेखि किसान सिंघु, गाजिपुर र टिकरी सीमामा लगातार डटिरहेका छन् । 

किसानको यो आन्दोलनको चर्चा भारतमा मात्रै नभई यो अन्तर्राष्ट्रिय मुद्दा बनिसकेको छ । 

बेलायतका सांसद तनमनजीत सिंह धेसीसमेत थुप्रे चर्चित व्यक्तित्वले भारतको किसान आन्दोलनबारे आफ्नो प्रतिक्रिया दिइसकेका छन् । 

यो सूचीमा अब पप स्टार रिहानाको नाम पनि समावेश भएको छ । 

रिहानाले फेब्रुअरी २ तारिखमा भारतको किसान आन्दोलनमाथि एउटा ट्वीट गरिन् । 

उनले सीएनएनको एउटा स्टोरीको लिङ्क सेयर गर्दै लेखिन्, ‘आखिर हामी यसबारे किन कुरा गरिरहेका छैनौं ?’ यो ट्वीटसँग उनले ह्याशट्याग #FarmersProtest पनि लगाएकी छिन् । 

रिहानाको यो ट्वीट अत्यधिक चर्चामा आएको छ । भारतमा रिहाना टप ट्वीटर ट्रेन्डमा छिन् । 

रिहानाको ट्वीटमा मिश्रित प्रतिक्रिया आइरहेको छ । कतिले यसलाई पब्लिसिटी स्टन्ट बताइरहेका छन् भने उनले किसानहरुको आवाज उठाएको भन्दै उनको प्रशंसा पनि गरिरहेका छन् । 

तीमध्ये कंगना रनौतको जवाफ सबैभन्दा बढी चर्चित भएको छ । 

रिहानाको ट्वीटमा कंगना रनौतले जवाफ दिँदै लेखेकी छिन्, ‘यसबारे कसैले पनि कुरा गरिरहेका छैनन् किनभने उनीहरु किसान होइनन् आतंककारी हुन् जसले भारतलाई टुक्र्याउन चाहन्छन् ताकि चीनजस्तो देशले हाम्रो राष्ट्रमाथि कब्जा जमाउन सकोस् र अमेरिकाजस्तै चाइनिज कोलोनी बनाउन सकून् । तिमी शान्त भएर बस मूर्ख, हामीहरु तिमीहरुजस्तो मूर्ख होइनौं जसले आफ्नो देश बेचेका छन् ।’

ग्रेटा थनबर्गले पनि गरिन् समर्थनः

यद्यपि, कंगनाको यो ट्वीटमा धेरै मानिसहरुले आपत्ति जताएका छन् र उनलाई यस्तो प्रकारको प्रतिक्रिया नदिन सुझाव दिएका छन् ।

रिहानापछि अब स्विडिश पर्यावरण कार्यकर्ता ग्रेटा थनबर्गले पनि किसानको समर्थनमा ट्वीट गरेका छन् । ग्रेटा थनबर्गले ट्वीट गर्दै भनिन्, ‘हामी भारतमा किसानको आन्दोलनसँग एकजुट छौं ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप