बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश नम्बर २ : प्रदेशसभा सदस्य यसरी सम्झन्छन् ३ वर्षे अवधि

प्रदेशको नाम र स्थायी राजधानीको नामाकरण गर्न नसक्नु नै प्रदेश सरकारको मुख्य चुनौती
बुधबार, २१ माघ २०७७, २० : ५४
बुधबार, २१ माघ २०७७

जनकपुर । प्रदेश नम्बर २ को प्रदेशसभाले ३ वर्ष पूरा गरेको अवसरमा भव्य कार्यक्रम आयोजन गरेको छ । प्रदेशसभाको वार्षिकोत्सव मनाउदैँ गर्दा सत्तापक्ष, प्रमुख प्रतिपक्षी तथ प्रतिपक्षी दलका नेताहरुले प्रदेशसभाको ३ वर्षे अवधि उपलब्धिमूलक रहेको टिप्पणी गरेका छन् । ३ वर्षे  अवधिमा दर्जनौँ विधेयकहरु परित भएको, हाउसमा टेबुल रहेका अन्य बाँकी विधेयकहरुको निर्माण प्रकृयामै रह्नुले मुख्य उपलब्धि रहेको प्रदेशसभा सदस्यले बताएका छन् ।

सभामुख सरोज कुमार यादवले प्रदेशसभा संचालनमा दलहरुको समन्वय र सहकार्यले प्रदेशसभाबाट कामकारवाहीमा सहज भएको बताए । सभामुख यादवले ३ वर्षको अवधिमा कहिल्यै पनि सभा संचालन गर्न असहजता अनुभव नभएको बताउँदै उनले भने– ‘३ वर्षे अवधि सहजतापूर्वक नै प्रदेशसभा संचालन भएपनि तर प्रदेशका नाम र स्थायी राजधानी टुंगो लगाउन नसक्दा असहजता महसुस भईरहेको छ ।

सभामुख यादवले विगतको कुरा स्मरण गर्दै भने– प्रदेशको नाम र राजधानीका लागि आफूले नै पहल गरेर एक पटक प्रयास गरेको र सोही अनुरुप मतदान भएपनि त्यो प्रयास सफल हुन सकेन ।

त्यस्तै प्रमुख प्रतिपक्षी नेकपाका संसदीय दलका नेता शत्रुध्न महतोले प्रदेशसभाको कामकारबाहीको प्रशंसा गरेका छन् । उनले प्रदेशको नाम र स्थायी राजधानी तोक्न सत्तारुढ  दलले सहमतिको वातावरण बनाउनका लागि प्रयत्न गर्न नचाहेको बताए । उनले नेकपाको आन्तरिक कलहले प्रदेशसभाको कामबारवाहीमा कुनै प्रकारको प्रभाव नपरेको समेत बताए । त्यस्तै प्रतिपक्षी नेपाली कांग्रेसका संसदिय दलका नेता रामसरोज यादवले विपक्षी दलहरुको रचनात्मक सहयोगका कारण प्रदेशसभाबाट दर्जनौँ विधेयकहरुको निर्माण गर्न सरकारलाई सहज भएको बताए ।

उनले प्रदेशको नाम र स्थायी राजधानी सत्तापक्षकै बलमिच्याईका कारण तय हुन नसकेको दावी गर्दै उनले सत्तारुढ दलले प्रदेशको नामाकरण गर्न नसकेपनि कमसेकम स्थायी राजधानी नाम टुंगो लगाउनका लागि एकमत बनाउनका लागि पहल गर्नुपर्ने आवश्यकता रहेको औल्याएँ ।

सबै संसदीय दलहरुको आ–आफ्नै अडानका कारण प्रदेशको नाम र स्थायी राजधानी टुंगो लाग्न नसकेको बेला उनले ऐतिहासिक धार्मिक, सांस्कृतिक र पहिचानका आधारमा नामाकरण गर्नमा जोड दिए । उनले भने– ‘हामी यस प्रदेशको समृद्ध संस्कृति मैथिली र भोजपुरीलाई जोडेर मिथिला–भोजपुरा नाम राख्नु पर्ने माग गरिरहेका छौँ, तर सत्ता पक्ष मधेश प्रदेश हुनु पर्ने अडान लिएकाले आफूहरुलाई मान्य छैन ।’ उनले अघि थप्दैँ भने– ‘जुन माग लिएर मधेशीहरु सहीद भए अर्थात २२ जिल्लाको एक मधेश प्रदेश भएको भए हामीलाई मधेश प्रदेश बनाउनु पर्नेमा विमति थिएन, तर त्यस्तो नभएको र यो प्रदेशमा मिथिला संस्कृतिको भरिपूर्ण रहेकोले मिथिला भोजपुरा नै हुनुपर्ने हाम्रो अडान छ ।’

त्यसैगरी नेकपाका प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभाको ३ वर्षको अवधि संतोषजनक रहेपनि सरकारले विजनेश समयमै दिन नसकेको टिप्पणी गरे । उनले सोचे अनुरुप काम हुन नसकेको बताए । उनले भने– ‘प्रदेशसभालाई गतिलो बनाउने काम प्रदेश सरकारको हो, तर त्यसमा प्रदेश सरकार चुकेको नै छ ।’ प्रमुख सचेतक विश्वकर्माले नाम र राजधानीको विषयमा निक्र्यौल तर्फ नलाग्नुमा प्रदेश सरकार नै दोषी रहेको आरोप समेत लगाए ।

नेपाली कांग्रेसका सचेतक उपेन्द्र कुश्वाहाले प्रदेशसभाबाट भएका कयौँ निर्णयहरु आफूहरुलाई जानकारी तथा प्राविधिक कुराहरुमा आफुहरुसंग समन्वय र सहकार्य नै नगरेको भन्दै उनले असन्तुष्टि पोखे । उनले प्रदेशको नाम र स्थायी राजधानीको टुंगो लगाउन नसक्नु नै मुख्यमन्त्री तथा मन्त्रीहरुकै षड्यन्त्र रहेको बताए ।

सत्तारुढ जसपाका सचेतक शैलेन्द्र कुमार यादवले नाम र राजधानी तोक्नका लागि प्रदेश सरकारले सबै दलसंग समन्वय र सहकार्यको प्रयास गरेपनि दलहरुको आ–आफ्नै अडानका कारण टुंगो लाग्न नसकेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप