शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भीषण कार दुर्घटनापछि यी व्यक्तिले पाए नयाँ अनुहार र दुई हात

शुक्रबार, २३ माघ २०७७, ०७ : ५५
शुक्रबार, २३ माघ २०७७

ट्रान्सप्लान्ट र शल्यक्रियाबारे त तपाईंले धेरैकुरा सुन्नभएको होला तर अ‍ेमेरिकामा डाक्टरको एक समूहले पहिलो पटक अचम्मको ट्रान्सप्लान्ट गरेका छन् । न्यूर्याक शहरको एनवाईयू लेंगोन हेल्थ सेन्टरका डाक्टरले पहिलो पटक एक व्यक्तिको अनुहार र दुबै हात सफलतापूर्वक ट्रान्सप्लान्ट गरेका छन् । 

अमेरिकाको यूनाइटेड नेटवर्क फर अर्गन सेयरिङका अनुसार संसारभरी अहिलेसम्म कम्तीमा १८ वटा अनुहारको ट्रान्सप्लान्ट र ३५ वटा हातको ट्रान्सप्लान्ट गरिसकिएको छ तर अनुहार र दुबै हात एकैपटक ट्रान्सप्लान्ट गर्नु निकै मुश्किल काम हो । यस्तो ट्रान्सप्लान्ट गर्ने कोसिस एक पटक सन् २००९ मा दोस्रोपटक सन् २०११ मा गरिसकिएको छ तर दुबैपटक यो असफल भयो । अन्त्यमा यसपटक डाक्टर यो ट्रान्सप्लान्ट गर्न सफल भए । 

वास्तवमा सन् २०१८ मा न्यूर्जीमा बस्ने २२ वर्षका जो डिमियोको आफूले चलाएको कार दुर्घटना भएको थियो । डेमियो नाइट सिफ्ट गरेपछि कम्पनीबाट घर गइरहेका थिए । कार चलाउँदै गर्दा उनलाई निद्रा लाग्यो र उनको कार एउटा पोलमा ठोक्किएर पल्टियो । कारमा भयंकर आगलागी भयो । यद्यपि, वरिपरिका मानिसहरुले कसै गरी डिमियोलाई कारबाट तानेर बाहिर निकाले । 

यो घटनापछि डिमियो पूर्ण रुपमा जलेका थिए । डिमियो थुप्रै महिनासम्म कोममा रहे र उनको २० शल्यक्रिया र विभिन्न प्रकारको छाला सम्बन्धि उपचार गरियो । त्यसपछि पनि उनको दृष्टि गुमेको थियो र हात चलाउन असमर्थ थिए । सन् २०१९ मा डिमियोको मेडिकल टिमले एक जोखियुक्त ट्रान्सप्लान्ट गर्ने निर्णय लियो । 

डाक्टरले यसका लागि डोनरको खोजी गर्न सुरु गरे । डाक्टरलाई यस्ता पुरुष डोनरको आवश्यक थियो जसको स्किन टोन र हात डिमियोसँग मेल खान्थ्यो । डाक्टरलाई ६ प्रतिशत मात्रै आशा थियो । डाक्टर डोनरको खोजीमा रहेका बेला कोरोना महामारी सुरु भयो । 

अगस्टको महिनामा अन्ततः डाक्टरले सही डोनर पाए र उनले कोभिड–१९ वार्डमा नै ट्रान्सप्लान्ट युनिट बनाए । उनीहरुले डिमियोका दुबै हात र नसालाई पातलो टाँकाले जोडे । डाक्टरले डिमियोको पूरा अनुहार पनि ट्रान्सप्लान्ट गरे । 

डिमियोका मेडिकल टिमका डाक्टर एडुआर्डो रोड्रिग्जले स्थानीय मिडियासँगको कुराकानीमा भने, ‘ट्र्याक रेकर्डको आधारमा हामी सफल हुने सम्भावना निकै कम देखिएको थियो । तर डिमियोको नयाँ अनुहार र हातलाई ट्रान्सप्लान्ट अस्विकार गरेन ।’

नोभेम्बरमा अस्पताल छोडेपछि डिमियो एक रिह्याबलिटेशन सेन्टरमा बसिरहेका छन् जहाँ उनी दैनिक शारीरिक र बोलीको थेरेपी लिने गर्छन् । हालैको आफ्नो सेसनका बेला उनले आफ्ना आँखीभौं माथि उठाउन, आँखा खोल्न बन्द गर्न, मुख समात्न, औंला तल माथि उठाउन र सिठी बजाउन अभ्यास गरे ।

डिमियो आफ्ना आमाबुवासँग बस्छन् । उनी अब आफैंले कपडा लगाउन सक्छन्, आफैं खाना खान सक्छन् । अमेरिकन न्यूज एजेन्सी एसोसिएटेड प्रेससँगको कुराकानीमा डिमियोले भने, ‘जीवनमा नयाँ मौका पाउँदा तपाईं हार मान्न सक्नुहुन्नँ । मलाई थाहा छ यो मेरो लागि निकै सुरुवाती अवस्था हो । मैले असाध्यै प्रेरणा पाइरहेको छु र ममा धैर्य छ । म हरेक कुराको डटेर सामना गर्नसक्छु ।’

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप