शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको कार्यकाल पूरा गरि राजदूत सुवेदी स्वदेश प्रस्थान

मङ्गलबार, २७ माघ २०७७, ०७ : ३९
मङ्गलबार, २७ माघ २०७७

लन्डन । बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी आफ्नो कार्यकाल पूरा गरी आइतबार दिउंसो ३ बजे कतार एयरवेज मार्फत फर्किएका छन् ।  

साथमा श्रीमती पुनम राज्यलक्ष्मी सुवेदी पनि फर्किएकी छन् । राजदूत सुवेदीलाई लन्डन दूतावासकी उपनियोग प्रमुख रोशन खनालसहित दूतावासका कर्मचारीले विमानस्थल पुगेर विदाइ गरेका थिए । 

गत सेप्टेम्बर महनिामै आफ्नो चारवर्षे कार्यकाल सकिएपनि कोरोना महामारी लगायत नयाँ राजदूत नियुक्ति प्रक्रियामा भएको ढिलाइका कारण उनको बसाइ थप लम्बिएको थियो ।

राजदूत सुवेदीले आइतबार दिउँसो एक विज्ञप्ति मार्फत जानकारी गराउंदै भनेका छन् ‘संयुक्त अधिराज्य (बेलायत) आयरल्याण्ड, र माल्टाका लागि नेपाली राजदूतका रुपमा आफ्नो चार वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गरी म आफ्नी पत्नी पुनमकासाथ आज वि.सं. २०७७ साल माघ २५ गते (७ फेब्रुअरी २०२१) का दिन स्वदेश फर्किरहेको छु । राजदूतका रुपमा नेपाली राजदूतावासमा रहंदा मलाइ प्राप्त मित्रता, स्नेह, आत्मीयता, एवम् सहयोग र सद्भावनाका लागि आदरर्पूर्ण आभार र हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छु ।‘ 

साथै, नेपाल पुगेपछि पनि सम्पर्कमा रहने बाचा गर्दै मित्रता, सुसम्बन्ध, र आत्मीयता सदासर्वदा कायम रहने बताउंदै बेलायात, आयरल्याण्ड र माल्टाबासी सम्पूर्णमा सुख, सुस्वास्थ्य, समृद्धि, शान्ति र प्रगतिको कामना गरेका छन् । बेलायती समाजमा लोकप्रिय बनेका सुवेदीको पछिल्लो एक वर्ष कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थिति नदेखिए पनि भर्चुअल रुपमा सक्रिय नै रहे ।

सन् २०१६ सेप्टेम्बर महिनामा बेलायतका बेलायतका लागि २० औं नेपाली राजदूतका रुपमा डा. सुवेदी बेलायत आएका थिए । बि. सं २०२३ मा झापा जिल्लाको अर्जुनधारा नगरपालिका वडा नं. १ मा जन्मेका हुन् । बेलायतको लिड्स विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा एमए गरेका डा. क्षेत्रीले त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासनमा एमपीए र त्रिविबाटै ‘आधुनिक नेपालको परराष्ट्रनीति र कूटनीति’ विषयमा विद्यावारिधि गरेका हुन् । नेपाल सरकारको परराष्ट्र सेवामा ३२ वर्षदेखि निरन्तर सेवारत छन् ।

आफ्नो कार्यकालमा उनले लन्डन दूतावासको सेवा सुविधालाई थप सहज र चुस्त बनाए । कुनै नेपालीलाई आपत परेमा राती १२ बजे पनि दूतावासको ढोका खोल्न तयार रहेको बाताउने सुवेदीले आपतमा परेका धेरैलाई सहयोग पुर्याए । घुम्ती सेवा मार्फत  विभिन्न स्थानमा गएर आवश्यक  सेवा सुविधा उपलब्ध गराउने जस्ता महत्वपूर्ण योगदानले  बेलायातबासीलाई थप सहज बन्यो । कूटनैतिक र प्रशासनिक काम कारवाहीमा पनि सफल रहेको बताउने राजदूतको कार्यकालका कतिपय कामहरु अझै प्रक्रियामा नै छन् । निकै अघिदेखिको भूतपूर्व गोर्खा सैनिकहरुको समस्या समाधानका लागि सुवेदीले सक्रिय भूमिका निर्वाह गरेका थिए । दूतावासले तय गरेका विभिन्न भौतिक क्रियाकलाप महामारीका कारण स्थगित भए । तैपनि ुभर्चुअलु माध्यमबाटै भएपनि दूतावासको सक्रियता पूर्ण रुपमा ठप्प हुन दिएनन् उनले । ब्रिटेन र नेपालबीचको सम्बन्धमा पनि उल्लेखनीय भूमिका निर्वाह गरेको र विगतमा भन्दा अझ बढी काम भएको सुवेदीले बताएका थिए ।

बेलायतमा राजदूतको साहित्यिक योगदान

साहित्यिक नाम ‘दुबसु क्षेत्री’का नामले परिचित राजदूत सुवेदीले चार वर्षे कार्यकालमा विशेषगरी बेलायती समाजमा नेपाली साहित्य र कला क्षेत्र भने राजदूत सुवेदीको पहलले निकै विकास भएको सम्बन्धित क्षेत्रका मानिसहरु बताउंछन् । आफ्नो कार्यकालमा बेलायतमा भएका र गरेका साहित्यिक सृजना तथा यसको विकासप्रति आफू शतप्रतिशत सन्तुष्ट रहेको राजदूत सुवेदीले स्वीकारेका छन् । सुवेदीको संयोजन र सम्पादनमा छ वटा कृतिहरु ‘बेलायतमा नेपाली कवि र कविता’, ‘बेलायतमा नेपाली कथा’, ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ ‘बेलायतमा नेपाली नाटक’ प्रकाशित भएका छन् ।

सुवेदीले सुप्रसिद्ध आइरिस कवि माइकल डी हिगिन्सका प्रतिनिधि कवितालाई पनि नेपाली तथा अंग्रेजीमा अनुवाद तथा सम्पादन गरेर प्रकाशित गरेका छन् । हिगिन्स आयरल्याण्डका वर्तमान राष्ट्रपति हुन् । गीतसंगीतको क्षेत्रमा पनि उनको उत्तिकै लगाव र योगदान रह्यो । उनले दुईवटा म्यूजिक भिडियो पनि तयार पारे ।

विगतको तुलनामा राजदूत सुवेदीको कार्यकाल बेलायतवासीहरुको लागि निकै स्मरणीय नै रहनेछ । समाजका हरेक पाटालाई सम्बोधन गर्ने प्रयास गरेका छन् उनले । सुवेदीको कार्यकालको मूल्यांकन उनी नेपाल फर्किएपछि हुने धेरैको बुझाइ छ  ।

सुवेदीको कार्यकालपछि बेलायतको नयाँ राजदूतमा नियुक्त भएका लोकदर्शन रेग्मी फाल्गुण पहिलो साताभित्रै लन्डन आइपुग्ने कार्यक्रम रहेको बुझिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप