शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘तीतो सत्य’ले बनायो ‘छन्दे’

कलाकारितामा निरन्तरताले नै सफल बनाउने हो  : हास्य कलाकार गोपाल ढकाल
मङ्गलबार, २७ माघ २०७७, १२ : २९
मङ्गलबार, २७ माघ २०७७

फिल्मको हिरो भएर पर्दामा छाउने रहर कसलाई पो नहोला र ? रहरले मात्र केही हँुदैन । त्यसका लागि कलाकारितामा होमिनु अनिवार्य छ । हिरो हुने उद्देश्यले कलाकारिता होमिनेमध्ये कमैले मात्र हिरो भएर छाउन पाएका छन् । धेरैले फिल्म क्षेत्रका सपना र रहर त्यगेर अन्य क्षेत्र रोजेका उदाहरण छन् ।

गोपाल ढकाल ‘छन्दे’ ती भाग्यमानी कलाकार हुन् जसको कलाकारिता रोज्नुको उद्देश्य पूरा भएको छ । ढकाल सफल हास्यकलाकार हुने उद्देश्यले अभिनयमा होमिएका थिए, त्यो बन्न सफल भएका छन् ।

‘कलाकारिता रोज्नुको उद्देश्य मेरो हिरो हुने कहिल्यै थिएन’ ढकालले भने ‘हास्य कलाकार बन्छु भनेर आएको थिएँ । त्यही भएँ ।’

ढकाल सफल तथा बिजी हास्यकलाकारमा पर्छन् । पछिल्लो समय उनी सानोपार्दाको सिरियल अभिनय, निर्माण, स्टेज कार्यक्रम र म्युजिक भिडियो अभिनयदेखि निर्देशनसम्म व्यस्त छन् ।

‘दुई स्वस्नीको पोई, कुनामा बसी रोई’ अहिले प्रसारण भइरहेको सिरियलमा उनको मुख्य भूमिका छ, भने ‘टेन्सन साफ’मा उनको लेखन तथा निर्देशनको जिम्मेवारी छ ।

यीबाहेक उनी सिरियलको स्क्रिप्ट लेखनको अलवा म्युजिक भिडियो निर्देशनसमेत गर्दैछन् । ‘जुन दिन मलाई’ बोलको केही दिन अगाडि सार्वजनिक म्युजिक भिडियो उनले नै निर्देशन गरेका थिए ।

अर्काे एक ‘सहर’ बोलको गीत केही दिनमा सार्वजनिक हँुदैछ । ८ दिन नियमित छायाङ्कन भएको गीतको छायाङ्कनपूर्व मुहूर्त गरिएको थियो । म्युजिक भिडिया मुहूर्त भएको सम्भवतः नेपालमै यो पहिलो थियो ।

‘नयाँ कामको थालनी राम्रो कामबाट गर्नुपर्छ भन्ने उद्देश्यले भिडियोको मुहूर्त गरिएको हो’ ढकालले अगाडि भने, ‘कुनै नयाँ रेकर्डको चाहना होइन र छैन पनि ।’

पछिल्लो समय कोरोना र लकडाउनका कारण थुप्रै कलाकार बेरोजगार भए । आर्थिक चपेटमा परे । बहुप्रतिभाका कारण उनी भने खालि भएनन् । आफ्नो कमाइ उनले उल्टै पीडित, दुःखी र कामविहीनको सेवामा लगाए ।

‘अरूलाई सहयोग गर्दा मिल्ने खुसी अनौठो र अतभूत हुँदोरहेछ’ उनले अनुभव राखे ।

‘तीतो सत्य’ले बनायो ‘छन्दे’

ढकाल विसं २०६० सालबाट कलाकारितामा होमिएका थिए । विद्यालय होस् वा गाउँमा आयोजना हुने स्टेज लगायत विभिन्न कार्यक्रम उनी अनेक प्रस्तुतिमार्फत सबैलाई मनोरञ्जन गराउँथे । कलाकारिताको क थाहा नभएका उनी स्थानीय स्तरमा लोकप्रिय कलाकारका रूपमा चिनिन्थे ।

तनहँुका स्थायी बासिन्दा उनलाई एसएलसी अध्ययनका लागि पोखरा र काठमाडौँमध्ये एक रोज्नुपर्ने भयो । धेरैले अध्ययनका लागि पोखरा जान सुझाएका थिए । सानैदेखि कलाकारितामा रुचि भएकाले उनले अध्ययन र कलाकारिता दुवैका लागि उपयुक्त काठमाडौँ ठानेँ । पढ्नका लागि आरआर क्याम्पस भर्ना भएका उनले त्यसपछि कलाकारिता र अध्ययन एकसाथ अगाडि बढाए ।

काठमाडौँमा कलाकारिताको पहिलो पाइला उनले ‘बुद्धको पाइला’ नामक सिरियलबाट सुरु गरे । यसमा पटक पटक अडिसन दिएर उनी छनोट भएका थिए । त्यसपछि ‘हिजो आजका कुरा’ अभिनय गरे । ‘हिजो आजका कुरा’ अभिनय गरेको ५, ६ भाग नपुग्दै उनी हास्य शृङ्खला ‘तीतो सत्य’मा पुगे ।

‘‘तीतो सत्य’ अभिनयका लागि दीपकराज गिरी र दीपाश्रीलाई आफ्नो अगाडिको कलाकारिताबारे सबै बताएँ,’ ढकालले त्यो दिन सम्झिए, ‘छनोट अगाडि एक डाइलग दिनुभएको थियो । त्यो मैले वान टेकमा ओके गरेँ ।’ त्यसपछि मात्र सिरियल ‘तीतो सत्य’का लागि छानिएको उनले सुनाए ।

‘तीतो सत्य’मा करिब दुई वर्ष उनले दर्शकको नोटिसमा नपर्ने सानोतिनो रोल गरे । कलाकारिताको भोको भएकाले पनि उनी २ वर्ष कलेज छोडेर धाएर सुटिङमा पुग्थे । जेजस्तो भूमिका दिन्छन्, त्यही गर्थे ।

विसं २०६२ मा ‘तीतो सत्य’मा ‘छन्दे’ भन्ने चरित्र निस्कियो । दीपक–दीपाले त्यो भूमिका उनलाई दिए । हरेक कुरा गीतमा गाउँने चरित्र भएकाले सिरियलमा त्यो पात्रको नाम ‘छन्दे’ राखिएको थियो । उनले निर्वाह गरेको ‘छन्दे’ पात्र निकै हिट भयो । पात्रसँगै उनी पनि चर्चित भए ।

‘‘छन्दे’ भूमिका चर्चापछि मेरो हातमा सालिमार सिमेन्टको एउटा विज्ञापन हात पर्यो,’ ढकालले भन्दै गए ‘विज्ञापन अभिनयपछि देश–विदेश सबैतिर चिनिए । त्यसपछि मैले कलाकारितबाट पछाडि फर्किएर हेर्नुपरेको छैन ।’

यसैका कारणले उनले नृत्य निर्देशक राजु शाहको फिल्म ‘सपनाको नौलो संसार’ अभिनय अवसर पाएँ । त्यसपछि शाहकै कलाकेन्द्रमा अभिनय प्रशिक्षकको जिम्मेवारी । त्यहीँबाट फिल्म ‘नमस्ते नेपालमा’मा लेखन सहयोगी र अभिनयको अलवा मुख्य सहायक निर्देशकको जिम्मेवारीसमेत बहन गरे ।

कलाकारिता सबैथोक

सानो पर्दाको अलवा उनी फिल्मको पनि राम्रो कलाकार हुन् । फिल्म भने उनले ‘सावधान’बाट डेब्यु गरेका थिए । त्यसपछि ‘सपनाको नौलो संसार’ अभिनय गरेका उनले ‘भाइमारा’, ‘छ एकन छ’, ‘दाइको ससुराली’, ‘दानवीर’, ‘देशदेखि विदेश’, ‘हातमा लाख्यो शून्य’, ‘पहिलो पहिलो माया’, ‘नमस्ते नेपाल’, ‘पर्खिबसेँ’, ‘मन परेपछि’, ‘वडा नं. ६’, ‘पोइ पर्यो काले’, ‘लभु हमेसा’ लगायत थुप्रै अभिनय गरिसकेका छन् ।

‘अहिलेसम्म दुई दर्जनभन्दा बढी फिल्ममा अभिनय गरिसकेको छु । केही फिल्म अभिनय गर्ने तयारीमा छु,’ उनले सुनाए ।

हुन त नेपाली कलाक्षेत्रमा राम्रो आम्दानी छैन भनेर बेलाबेलामा कलाकारले भन्ने गरेका छन् । उनी त्यो भन्दैनन् ।

‘मानिस पैसाबाट कहिलै सन्तुष्ट हुन सक्दैन । काठमाडौँ छिरेपछि जेजति गर्न सकेँ त्यसमा म पूर्ण सन्तुष्ट छु,’ गोपालले भने, ‘म कलाकार बन्न कहाँ पाइन्छ भनेर हिँड्ने मान्छे । अहिले आफ्नै साधन, खाने, बस्ने र अध्ययन खर्च पुर्याएको छु ।’ पोखरामा सानोतिनो जग्गासमेत जोड्न सफल उनी यसलाई नै आफ्नो ठूलो प्रगति ठान्छन् ।

स्टेज कलाकार

सिरियलमा र फिल्मका अलवा ढकाल स्टेजका समेत राम्रा कलाकार हुन् । उनी घण्टौँसम्म स्टेजमा उभिएर दर्शक हसाउँन सक्छन् । सानैदेखि स्टेज कार्यक्रम गर्दै आएका उनले अभिनयमा आउनुपूर्व नाचघर, सभागृह, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलगायतका हलमा समेत स्टेज कार्यक्रम गर्न सफल भएको थिए ।

कलाकारितामा हिट भएपछि दीपक दीपालगायत धेरै कलाकारसँग मिलेर विभिन्न गाईजात्रा कार्यक्रम गरेका छन् । अहिले देशविदेशका स्टेज कार्यक्रममा व्यस्त कलाकारमा पर्छन् उनी । स्टेजमा कमेडी मात्र होइन उनी होस्टसमेत गर्छन् ।

प्रस्तुति र होस्टका रूपमा उनी देशका ५५, ६० जिल्ला कार्यक्रम लिएर पुगेका छन् । विदेशमा बेल्जियम, जर्मनी, नेदरल्यान्ड, फ्रान्स, मलेसिया, यूके, इङ्ल्याड, स्कटल्यान्ड, कतार, थाइल्यान्ड र दुबईलगायत १५, १६ देश पुगेको उनले बताए । एफटीआई इन्डियाबाट समेत उनले कलाकारिता अध्ययनको अवसर प्राप्त गरेका थिए ।

कमेडी सजिलो छैन

कमेडी विश्वमै कलाकारिताको गाह्रो विषयमा पर्छ । गोपाल भने करिब दुई दशकदेखि कमेडीमै रमाउँदै आएका छन् । सधैँ काम गरेर होला पहिलेको तुलनामा अहिले सजिलो महसुस गर्छन् उनी ।

‘हामी कमेडी कलाकार भएकाले जतिखेर पनि कमेडी कसरी गर्ने, कसरी हसाउने भन्ने सोच हुन्छ,’ ढकालले भने, ‘विभिन्न कुरा गतिविधिमा पनि स्वतः कमेडीमा प्लट फुर्ने गर्छ ।’ युट्युब, ट्विटर, ट्रोल्सलगायतले समेत पछिल्लो समय कमेडी प्लट निर्माणमा आफूलाई सहयोग पुग्ने गरेको गोपालले सुनाए । उनले थपे, ‘समाचार, राजनीतिक गतिविधि, विकृति विसङ्गति लगायत त्यसका हरेक पक्षमा सेन्स अफ ह्युमर र सेन्स अफ टाइमिङ मिलाउनुपर्छ । त्यहाँ कमेडी निर्माण गर्न सकिन्छ ।

गायक ‘छन्दे’

कमेडी कलाकारको अलवा ढकाल गायक पनि हुन् । आरआर कलेज अध्ययन समय उनी म्युजिकसमेत पढ्थे । सानैदेखि गीत गाउने उनी त्यतिबेला रहरले चलेका गायक गायिकाको गीतहरु गाउँथेँ ।

आधिकारिक रूपमा उनले गायन अँगालेको विसं २०६२ सालदेखि हो । अभिनयको सिलसिलामा ‘तीतो सत्य’मा ‘छन्दे’ क्यारेक्टर हिट भएपछि उनले ‘फूलमा माउरी’ बोलको गीत निकालेका थिए । त्यो गीत हिट भयो । त्यसपछि फेरि ‘उडायो रेलैले, ठाडो कपाल तोरीको तेलैले’ ल्याए । यो पनि हिट भएपछि उनले लगातार गीतसमेत ल्याउन थाले ।

विसं २०७२ को भूकम्पपछि उनले ‘भइयो धोती न टोपी’ बोलको गीत ल्याएका थिए । त्यतिबेला भूकम्पले पारेको असरको विषयमा बनाइएको यो गीतबाट उनले चौतर्फी तारिफसमेत पाउन सफल भए ।

‘जमाना पनि कस्तो आयो’, ‘झ्याप्प झ्याम्प लभ’, ‘दायाँ छे काली, बायाँ छे गोरी’ लगायत उनका आधा दर्जनभन्दा बढी गीत बजारमा आएका छन् ।

‘रहरले मैले गीत गाउने गरेको थिएँ । गीत हिट हँुदा गायक बन्न सकेँछु भन्ने खुसी लाग्यो’ उनले अगाडि थपे, ‘अहिले ३, ४ वटा गीत ल्याउने तयारीमा छु ।’ उनका गीत प्रायः कमेडी जनराकै हुने गरेका छन् । आफ्ना गीतले सामाजिक विषय समेट्ने भए पनि त्यसले विकृति र विसङ्गतिमा व्याङ्ग्यसमेत प्रहार गर्ने उनले बताए ।

लेखक पनि

गोपाल पछिल्लो समय अभिनयको अलवा स्क्रिप्ट लेखनमा पनि चिनिएका छन् । उनको लेखन रहेको केही सिरियल  फरक फरक टेलिभिजनबाट प्रसारण भइरहेका छन् भने केही प्रसारणको पर्खाइमा छन् ।

लेखन उनले २०६४ मा निर्माण भएको भिडियो फिल्म ‘शेर्पा दाइ’बाट थालेका थिए । यस फिल्ममा उनको समेत मुख्य भूमिका रहेको थियो । त्यसपछि ‘नमस्ते नेपाल’ फिल्ममा निर्देशक राजु शाहलाई सघाएका उनी अहिले स्टेज सोका लागि प्रहसन, नाटक, सडक नाटक, फिल्म, भिडियो फिल्म र टेलिसिरियल लेखन गर्दै आएका छन् ।

दुःख कति कति

कलाकारिताको सिलसिलामा गोपाल पछिल्लो समय देशविदेश घुमिरहेका छन् । उनको लवाइखुवाइ पनि अहिले राम्रो छ । धेरैलाई लाग्न सक्छ कलाकारितामा उनले दुःख गर्नुपरेन ।

तर होइन, कलाकारिताको सुरुको समय उनले धेरै दुःख भोग्नुपरेको थियो । काठमाडौँ छिरेको दुई वर्षसम्म पैसासमेत देख्न नपाएका उनले सुटिङमा खाना खान त परै जाओस् चलेका कलाकारले खाएको टाढैबाट मात्र हेर्नसमेत लुक्नुपथ्र्याे । दिनभर कुरेर भोकै अभिनय गरेर कोठामा फर्किएको दिन कति थिए कति उनका ।

नयाँ कलाकार भएकाले उनलाई काम नभए पनि सधैँ सुटिङमा बोलाउँथे । त्यो समय उनी अभिनय गर्न पाए खुसी र नपाए दुःखी भएर फर्किन्थे । सिनियर कलाकारले हौसला त परै जाओस्, उल्टै हामी धेरै वर्षदेखि लाग्दा त केही गर्न सकिएन । तिमीले के गर्लाऊ भनेर भन्नेगर्थे ।

‘तीतो सत्य’मा हिट हुन अगाडि कलाकारितमा केही गर्न सकिएन भनेर म फ्रस्टेड जस्तो समेत भएका थिए,’ उनले अगाडि सुनाए ‘‘तीतो सत्य’को ‘छन्दे’ क्यारेक्टर हिट भएपछि भने मेरो जीवनमा कायापलट भयो ।’

अहिले उनी जहाँ पुग्छन्, त्यहाँ भीड हुने गरेको छ । ८, १० हजार भीड जम्मा गर्नु र तिनलाई हसाउनु उनका लागि सामान्य कुरो हो । कलाकारिताबाट थुपै्र अवार्डसमेत थाप्न सफल उनी आगामी दिनका योजना यसरी सुनाउँछन्, ‘मेरो योजना खासै केही छैन । कलाकारितामा लागियो । यसमै निरन्तरता दिने हो । विगतका कमीकमजोरी सुधारेर अगाडि बढ्छु ।’

(तस्बिर : कृष्ण खड्का)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप