शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओलीलाई सुरुमै कारवाही गरेको भए देशमा यो अवस्था आउने थिएन

काठमाडौँमा पानीको फोहोरा हानिन्छ, मधेसमा गोली नै चल्छ, मधेसप्रति त्यो ओली प्रवृत्ति नै हो : मातृका यादव
बुधबार, २८ माघ २०७७, ११ : २१
बुधबार, २८ माघ २०७७


प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेकपा कै प्रचण्ड–माधव समूह नेकपालगायत अन्य दलहरू आन्दोलित भएका छन् । प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्ति गरेको विरुद्धमा प्रचण्ड–माधव समूह नेकपाले माघ २२ गते आमहडतालको आयोजना गरेको थियो । त्यो आमहडतालका दिन जनकपुरमा प्रहरीले बन्दकर्तामाथि हस्तक्षेप गर्दा प्रचण्ड–माधव समूह नेकपाका स्थायी समिति सदस्य मातृका यादव घाइते भएका थिए । उनको तिघ्रामा अश्रुग्यासको सेलले चोट लागेको छ । अहिले उनको उपचार नर्भिक अस्पतालमा भइरहेको छ । प्रस्तुत छ, जनकपुरको घटना, संसद् विघटन र पार्टीको आन्तरिक विवादका विषयमा नर्भिक अस्पतालमा उपचार गराइरहेका नेता मातृका यादवसँग रातोपाटीले गरेको छोटो कुराकानीः

नेकपा (प्रचण्ड–माधव समूह) ले गरेको आमहडतालको दिन जनकपुरमा के भएको थियो जसले तपाईंलगायत थुप्रै नेता घाइते हुनुपर्यो ?

–प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्धमा नेकपाले आन्दोलन गरिरहेको छ । त्यहीबीचमा प्रधानमन्त्री ओलीले संवैधानिक नियुक्तिहरू गर्नुभयो । गर्नै नहुने काम उहाँले गरेपछि नेकपाले आमहडतालको घोषणा गर्यो । म काठमाडौँमै थिएँ । आन्दोलनका लागि मेरो आर्क भक्तपुर नै तोकेको थियो । तर जब आमहडताल घोषणा भयो । अनि यसका लागि मैले प्रदेश २ मा जाँदा नै उपयुक्त होला भनेर म जनकपुर गएँ । आमहडतालका लागि प्रदेश २ पार्टीका साथीहरूले राम्रै तयारी गर्नुभएको थियो । जनकपुर प्रदेश २ को अस्थायी राजधानी पनि हो । त्यहाँ प्रहरी प्रशासनको उपस्थिति पनि त्यस्तै छ । व्यपारीहरू पनि छन्, उनीहरूको मनसाय बन्दमा पनि व्यपार भइरहोस् भन्ने रहेको छ । ओली पक्षका नेताहरूले व्यपारीलाई पसल खोल, केही हुँदैन, हामी छाँै नि भनेर उक्साएका रहेछन् । त्यहाँका डीएसपी मकेन्द्र मिश्रले पनि त्यही प्रकारको क्रियाकलाप गरेको कुरा साथीहरूबाट रिपोर्टिङ भइरहेको थियो । हामी बिहान जुलुस लिएर बजार, यतायातलगायत बन्द गराउनतिर लाग्यौँ । हामी शिवचोकमा पुग्दा त्यहाँ एउटा गाडी आयो । त्यहाँ अलि धकमधुक्का भयो । म त्यहाँ आफ्ना साथीहरू तथा प्रहरीलाई सम्झाउने, बुझाउने काम गरिरहेको थिएँ । त्यस ठाउँमा सईको नेतृत्वमा प्रहरी टोली थियो । त्यतिबेला प्रहरी पनि त्यति एग्रेसिभ थिएन । हाम्रा साथीहरू पनि एग्रेसिभ थिएनन् । त्यतिकैमा डीएसपी मकेन्द्र मिश्रा ठोकठोक भन्दै आउनु भयो । मैले उहाँलाई भने, ‘यसरी जुधाउने काम नगर्नुस्, यसले कसैलाई राम्रो गर्दैन ।’ तर उहाँले मेरो कुरालाई वास्तै नगरी सीधै फाइरिङ गर्न लगाउनुभयो । त्यहाँको अवस्था हेर्दा पूर्वतयारीका साथ प्रहरी भेला भएको रहेछ । टाढैबाट फाइरिङ गर्दै प्रहरी आए । जसरी दोहोरो भिडन्तमा भटटट गोली चल्थ्यो त्यसरी नै चल्न थाल्यो । आश्रुँग्यास पनि फ्याल्न थाल्यो । आश्रुग्यास सम्भवतः टाढाबाट फ्यालिन्छ तर त्यो दिन नजिक नजिक गएर फ्याल्दै थिए । एकजना प्रहरी मेरो नजिक आएर आश्रुग्यासले मेरो तिघ्रामा हाने । मेरो तिघ्रा भाँचियो भन्ने लाग्यो । यसो छामे धेरै दुखेको मात्र हो भनेर पुनः म आन्दोलनमा सामेल भएँ । प्रहरी र आन्दोलनकारी साथीहरूलाई सम्झाउन खोजेँ । तर एकछिनपछि त मलाई असह्य पीडा भयो, सहनै सकिनँ । उता रामचन्द्र झा, उदय बरबरिया, कारी यादव, प्रदीप साहलगायत पनि घाइते भएका छन् । त्यो पूरै सुनियोजित घटना नै थियो । कसैको टाउको फुटेको छ भने कसैको निधारमा चोट लागेको छ । मधेस आन्दोलनको झझल्को दिइरहेको थियो । काठमाडौँमा पानीको फोहोरा हान्छ तर मधेसमा गोली नै हान्छ । मधेसप्रति त्यो ओली प्रवृत्ति नै हो । मधेस आन्दोलनमा पनि ओली प्रवृत्तिका कारण त्यस्तो पहिले पनि भएको थियो अहिले पनि त्यस्तै भएको छ । मानव अधिकार आयोगले यो घटनाको छानबिन गर्नुपर्छ ।

आमहडताल देशभरि थियो । तर प्रदेश २ मा, त्यसमा पनि जनकपुरमा यसरी प्रहरीको दमन किन भयो जस्तो लाग्छ तपाईंलाई ?

–यो सुनियोजित नै हो भने कुरा मैले अघि नै भनेँ । तर प्रदेश २ को प्रहरीको टप लेभलबाट त्यस्तो निर्देशन थिएन । माथिबाट नै निर्देशन आएको थियो, खासगरी गृहमन्त्रालयबाट । तर गृहमन्त्रालबाट फेरि गृहमन्त्रीको कुनै निर्देशन थिएन, बिचरा गृहमन्त्री गृहमन्त्री नै होइन । वहाँ त ओलीको कार्यकर्ता भइसक्नुभएको छ । उहाँले त्यस्तो निर्देशन दिनसक्नु हुन्न । तर गृहमन्त्रालयका सचिवले त्यस्तो निर्देशन दिएको हुनुपर्छ । एकखालको विङ्ग्स छ, जसलाई तलदेखि माथिसम्म बनाएका छन् । तिनै विङ्ग्सहरूको काम हो । रामचन्द्र झा एमालेमा हुँदाखेरि ओलीविरोधी मान्छे हुन् । म ओली प्रवृत्तिको सधँै विरोधी मान्छे । किनभने ओली सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्र पक्षधर होइनन् । अर्थात अहिलेको परिवर्तनको पक्षधर होइन उहाँ । उहाँले प्रधानमन्त्री बन्नलाई मात्र संविधान र गठबन्धन स्वीकार गर्नुभएको हो । क्याबिनेटमा हुँदा पनि उहाँको प्रवृत्तिको आलोचक हुँ र बाहिर हुँदा पनि आलोचक हुँ । उहाँ आलोचना सहने मान्छे होइन । आलोचना गर्ने व्यक्तिलाई उहाँ सिध्याउनुहुन्छ । मधेसमा वर्चस्व जमाउन उहाँले त्यस्तै मान्छेहरूलाई बटुलिरहनुभएको छ । मुकेश चौरसियाको हत्या गर्ने मान्छेलाई यो सरकारले संरक्षण दिइरहेको छ । अरूअरूलाई पनि मार्न लगाएको छ । सबैलाई अहिले ओलीले संरक्षण दिइरहनुभएको छ । मधेसमा मातृकालाई सिध्याउन जाल बुन्नुभएको थियो तर सफल हुनुभएन ।

पार्टीको आन्तरिक विवादका कारण देशमा यत्रोविधि घटना तथा दुर्घटना भइरहेका छन्, यस्तो पार्टीका आन्तरिक विवादका कारण भइरहेको हो कि अरू पनि कारण छन् ?

–पार्टीको आन्तरिक विवाद मात्र होइन । पार्टीको जुन विश्व दृष्टिकोण छ त्यसलाई स्वीकार्ने र नस्वीकार्नेमा विरोध छ । केपी शर्मा ओली कम्युनिस्टको दर्शन, विचार, संस्कार, संस्कृति तथा राजनीतिको विरोधी हुनुहुन्छ । तर हामीले पार्टीमा कम्युनिस्टको दर्शन, विचार, संस्कार, संस्कृति, आर्थिक दर्शन र राजनीति लागू होस् भन्ने चाहेको तर ओलीले त्यसलाई मन पराउनु भएन । ओली त्यतिकै ओली बनेको होइन, अहिलेको ओली बन्न दिनेमा अरू नेताहरूको पनि हात छ । त्यसैले ओली प्रवृत्तिको विरोध गर्दा यो स्थिति आएको हो । ओलीलाई कुर्सीमा पुर्याउँदासम्म केही भएन तर जब त्यसको विरोध भयो अनि उहाँले जनताको धरोहर संसदलाई पनि ध्वस्त गर्नुभयो । संविधानलाई पनि कुल्चनुभयो । सबैको मानमर्दन गर्नुभयो । देशमै उथलपुथल ल्याउनुभयो । त्यसैले यो राष्ट्रिय लडाइँ हो । तर नेताहरूका केही कमजोरीका कारण ओलीले भ्रम फैलाउन थाल्नुभयो कि पार्टीको आन्तारिक विवादले यो घटना भएको हो । काँग्रेसले पनि त्यस्तै भन्न थालेको छ । हेर्दा पनि त्यस्तै देखिन्छ तर वास्तविकता त्यस्तो होइन ।

तपार्इंले विश्व दृष्टिकोणमा फरक भएका कारण यो घटना भएको हो भन्नुभयो । एमसीसी र वान वेल्ट वान रोड परियोजनाका कारणले त देशमा यो अवस्था आएको हो भन्न खोज्नु भएको त होइन ?

–त्यो पनि हो तर त्यो सहायक कुरा हो । हाम्रो भनाइ के हो भने देशको हितमा जे छ त्यसलाई स्वीकार गर्ने, जे हितमा छैन त्यसलाई अस्वीकार गर्ने हो । शक्तिशाली देशका अगाडि झुकियो भने त्यसको गुलाम हुनजान्छ । नेपालकै विभिन्न दस्तावेजमा हेर्नुभयो भने अर्धऔपनिवेश, औपनिवेशको कुरा उल्लेख छ । नेपाल कहीँ झुकेको छैन भनिन्छ तर दस्तावेजहरूले त्यस्तो भनेको छैन ।

देशमा यस्ता खालका दुर्घटना हुनुमा ओली मात्र दोषी छन् कि प्रचण्ड–माधव नेपालहरूको पनि दोष छ ?

–म अध्यक्ष कमरेड प्रचण्डलाई के भन्न चाहन्छु भने उहाँ देशका लागि प्रचण्ड भएर सोच दिनुपर्यो । उहाँका नजिकका मान्छेहरूले उहाँलाई पुष्पकमल दाहाल बनाउन खोज्नुभएको छ । उहाँ प्रचण्ड बन्नुपथ्र्यो । आज उहाँ प्रचण्ड बन्नुहोस् आधा समस्या समाधान हुन्छ । माधव कुमार नेपाल एमाले होइन, सङ्घीय लोकतन्त्र गणतन्त्रवादी बन्नु पर्यो अनि आधा समस्या हल हुन्छ ।

भन्नाले प्रचण्ड र माधव नेपालमा पनि समस्या छ ?

–उहाँहरूले पनि समस्या बुझ्नुपर्यो नि । गएर उहाँहरूलाई सोध्नुस् न । मेरो माग के हो भने अध्यक्ष प्रचण्ड प्रचण्ड बनिदिनु पर्यो, त्यति हो । संशोधनवादीसँग एकता गर्ने कि क्रान्तिकारीसँग एकता गर्ने ? एकता कोसँग गर्ने त्यो मेरो प्रश्न हो । एकताकै नाममा ओलीको सबै अपराधलाई छोप्ने काम भएको छ । आज जुन परिणामहरू देखिँदैछन् ती सबै त्यसैको उपज हो । स्थायी कमिटीबाट महासचिव विष्णु पौडेलको नेतृत्वमा एउटा समिति बनेको थियो । त्यो समितिले दिएको प्रतिवेदनले नै ओलीका सबै अपराध ढाकछोप भएको हो । मैले त्यतिबेला नै भनेको थिएँ, ओलीको अपराधको ढाकाछोपको दस्तावेज हो, रूपान्तरणको दस्तावेज होइन । आज त्यो कुरा पुष्टि भएको छ । एकता त क्रान्तकारीहरू बीचमा हुनुपर्छ, अवसरवादीहरूका बीचमा हुनुहुँदैन । कहीँ न कहीँ हामीबीचमा पनि स्वार्थ देखिएको छ । जुनबेला पनि कुर्सीका लागि तँछाड मछाड गर्ने, नेताको नाम बेचेर खाने, नेताहरूलाई घुक्र्याउने, नेताहरूको दिमाग खराब गरिदिने र आफ्नो स्वार्थ पूरा गर्ने प्रवृति जहाँ पनि देखिएको छ । यस्ता प्रवृतिले ओलीलाई बलियो बनायो । यो प्रवृत्तिमा नफँसेर सुरुमै ओलीमाथि अविश्वास प्रस्ताव लगाइदिएको भए के बिग्रिन्थ्यो ? ओलीले सुरुदेखि गल्ती गरिरहनुभएको छ भने कुरा सबैलाई थाह थियो । तर किन लुकाएर राखे ? किन बाहिर ल्याएनन् ? जब ओली बलियो हुनुभयो त्यसपछि त्यो कुरा ल्याइयो । अनि यो समस्या आएको हो । त्यसैले ओली प्रवृत्तिको अहिले सबैतिरबाट खबरदारी भइरहेको छ । अहिले आन्दोलन सुरु नै भएको छैन । तर ओली खबरदारीले सुन्दैनन् । जनताले अहिले सम्झाइरहेका छन्, बुझाइरहेका छन् । मैले खुलामञ्चमा ज्ञानेन्द्रलाई पनि अहिले मौका छ, सुध्रिनुस् भनेको थिएँ । उहाँ सुध्रिनु भएन र आज उहाँको हालत कस्तो छ त्यो कुरा ओलीलाई पनि थाह छ । ओलीलाई पनि जनताले खबरदारी गरिरहेका छन् ।

प्रचण्ड–माधव पक्ष आफूसँग बहुमत छ, संविधान पनि आफ्नो पक्षमा छ भन्छ । तैपनि लडाइँ जित्न सकिरहेका छैनन् किन ?

–मैले अघि नै भने नि ओली प्रवृत्तिलाई सुरुदेखि नै बलियो हुने मौका दिइरहेको थियो । केपी ओलीले भित्रभित्रै सबै काम गरिरहेका थिए । उहाँकै भाषामा भन्ने हो भने उहाँले सबै सेटिङ मिलाइरहनुभएको थियो । तर यता (प्रचण्ड–माधव समूह) बाट केही गर्न सकिइरहेको थिएनँ । आजको नतिजा त्यही हो । निर्वाचन आयोगमा उहाँले नियुक्त गर्नुभएको छ । त्यो व्यक्ति कसको हितमा काम गर्छ ? आफै भन्नुस् न । अख्तियारमा नियुक्ति गर्नुभएको छ, त्यो कसको इसारामा काम गर्छ ? आफै बुझ्नुस् न । अर्थात् प्रधानमन्त्री ओलीले धेरै पहिलादेखि यो योजना बनाउँदै आउनुभएको थियो र अहिले आएर त्यसलाई कार्यान्वयनमा ल्याउनुभएको छ ।

तपाईंहरूले संसद् पुनस्र्थापनाका लागि विशेष जोड दिनुभएको छ, के संसद् पुनस्र्थापना भएपछि सबै समस्या समाधान हुन्छन् त ?

–संसद् पुनस्र्थापना हुनु भनेको संविधानलाई ट्रयाकमा ल्याउनु हो । संविधान विपरीत यो काम भएको छ । त्यसलाई सुधार गरेपछि मात्र संविधान ट्रयाकमा आउँछ । आज त्यसलाई यसैगरी छाडिदियो भने भोलि गएर यो एउटा नजिर बन्छ र अर्को कदम चल्न सक्छ । त्यसैले संसद् पुनस्र्थापना माग गर्नुको मतलब संविधानलाई ट्रयाकमा ल्याउन हो । ओलीले संविधानलाई घायल (घाइते) परिसक्नुभएको छ । त्यसैले घायल संविधानलाई बचाउने आन्दोलनको पहिलो उद्देश्य हो । संसद् पुनस्र्थापनाले सबै समस्या समाधान हुँदैनन् तर संविधानलाई बचाउन सकियो भने पुनः त्यही बिन्दुबाट अगाडि बढ्न सकिन्छ । संविधान नै भएन भने देश मुठभेडमा जान्छ । संसद् पुनस्र्थापना भएन भने देश यस्तै अवस्थामा रहँदैन । किनभने चुनाव त पञ्चायतकालमा पनि भएको थियो । सबै निरङ्कुश शासकले चुनाव गराउँछन् । तर त्यो चुनाव कस्तो हुन्छ ? जनताले भोगेका हुन्छन् । पञ्चायती चुनाव नेपाली जनताले भोगेका छन् । त्यसैले चुनाव मुख्य कुरा होइन, संविधानलाई मिचेर गराउने चुनाव कस्तो चुनाव हुन्छ ? त्यो मुख्य कुरा हो ।

जनकपुरमा भएको आन्दोलनमा तपाईं घाइते हुनुभएको छ, अहिले कस्तो छ स्वास्थ्य ?

–नेकपाले गरेको बन्द हडतालको दिन म जनकपुर पुगेका थिएँ । त्यहाँ प्रहरीले दमन गरेको थियो । प्रहरीले मलाई नै ताकेर मेरो तिघ्रामा आश्रुग्यास प्रहार गर्यो । एकछिन त लाग्यो मेरो तिघ्रा भाँचियो । तर पछि छाम्दा ठिकै रहेछ । आन्दोलनमा एकछिन् गएँ तर सहन नसकेर अस्पताल भर्ना भएँ । त्यहाँको अस्पतालमा केही उपचार भयो । राम्रै उपचार गरेको थियो, ठीक हुन्छ जस्तो लागेको थियो । तर पछि आफूलाई केही शङ्का लाग्यो । काठमाडौँ गएर जँचाइहालौँ भनेर आन्दोलनका घाइते साथीहरू सहित जहाज चढेर काठमाडौँ आयौँ । ट्रमा सेन्टरमा उपचार भयो । डाक्टरले सबै ठीक छ भन्नुभयो । मलाई पनि ठिकै होला भनेर म त्यसको भोलिपल्ट घर फर्कें । एक दिनपछि फेरि बल्झियो । पूरै तिघ्रा दुख्न थाल्यो, सुन्नियो । आश्रुग्यास प्रहारबाट यस्तो अवस्था कहिल्यै भएको थिएन । म थुप्रै आन्दोलनमा सहभागी भएको छु । आश्रुग्यास खाएको छु । तर यसखालको पीडा पहिलो पटक भोगेँ । डाक्टरहरूले पनि आश्रुग्यासबाट यस्तो हुँदो रहेछ भनेर अच्चम मान्नुभएको छ । पीडा बढ्दै गएपछि हतार हतार नर्भिक अस्पताल भर्ना भएँ । यहाँ उपचार सुरु भएपछि केही सुधार भएको छ । मलाई पनि सुधार भएको महसुस भएको छ । डाक्टरहरूले एक दुई हप्तामा सुधार हुने भन्नुभएको छ । हेरौँ के हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप