बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड–माधवको विरोधसभा : राष्ट्रपति–प्रधानमन्त्रीमाथि शब्द वाण, देउवालाई निम्तो

ओलीको निर्वाचन आयोग र पशुपतिनाथ प्रवेशमाथि प्रश्नैप्रश्न
बुधबार, २८ माघ २०७७, २१ : ३३
बुधबार, २८ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटनको कदम चालेपछि नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल पक्ष आन्दोलित छ । यसबीच प्रचण्ड–माधव समुह ओलीका कदमविरुद्ध देशका प्रमुख सहरहरुमा विरोध प्रदर्शनदेखि देशव्यापी आमहड्तासम्म उत्रियो ।  उक्त समुहले तेस्रो चरणको आन्दोलन अन्तगर्त बुधबार दोस्रो पटक काठमाडौँमा विशाल विरोधसभा सम्पन्न गरेको छ ।

काठमाडौँको भृकुटीमण्डप–टुँडिखेलको बीच सडकमा आयोजित सभाका वक्ताहरुको निसानाको केन्द्रमा सधैँझैँ आज पनि प्रधानमन्त्री ओली नै रहे । वक्ताहरुले प्रतिनिसभा विघटन र त्यसपछि प्रधानमन्त्री ओलीबाट भए गरेका गतिविधिमाथि बढी टिकाटिप्पणी गरे । संयुक्त आन्दोलनको निम्तो, निर्वाचन आयोगमा अल्झिएको नेकपाको आधिकारिकता, सर्वोच्च अदालतमा जारी संसद विघटनमाथिको बहसले पनि स्थान पाएको थियो ।

प्रचण्ड–नेपाल नेतृत्वको नेकपा अध्यक्षद्वाय प्रचण्ड–माधवदेखि नेतृ रामकुमारी झाक्रीसम्मका एक दर्जन बढी वक्ताबाट ओलीको पशुपतिनथको पूजा प्रसङ्गमाथि कटाक्ष रह्यो ।

संयुक्त आन्दोलनको निम्तो

अध्यक्ष प्रचण्डले संयुक्त अन्दोलनमा अरुची देखाएको प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका दलहरुलाई फेरि पनि सार्वजनिक रुपमा निम्तो गरेका छन् । ‘लोकतान्त्रिक आन्दोनलको नेताको छवि बनाएको नेपाली काँग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु अब कुनै भ्रममा पर्न आवश्यक छैन,’ प्रचण्डले भने, ‘कन्फ्युजन पनि हुनुपर्दैन हामी सबैले भनेकै छौँ । शान्ति सम्झौतामा हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र, संविधानसभाबाट पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रुपमा गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो ।’


यसलाई नबिर्सन प्रचण्डको आग्रह थियो । ‘काँग्रेस नेता कार्यकर्ताले पनि सम्झनु भएकै होला यो कुरा । अनि यही संविधान हो, जुन संविधानले प्रधानमन्त्रीलाई विशेषअधिकार दिनुहुँदैन भनेर बनाइयो । त्यो संविधान बनाउने बेलामा पनि काँग्रेसकै नेता सुशील कोइराला हुनुहुन्थ्यो’, उनले भने । गिरिजाबाबु, सुशील नभएपनि काँग्रेस सभापति शेरबहादुर देउवा शान्ति सम्झौता, संविधानसभा, संविधान निर्माणताकाको नेता भएको प्रचण्डको भनाइ थियो ।

‘अहिले गिरिजाबाबु पनि हुनुहुन्न, सुशील पनि हुनुहुन्न, अहिले शेरबहादुरजी हुनुहुन्छ । तपाईं शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने, संविधान निर्माणमा तपाईं पनि नेता,’ प्रचण्डले भने, ‘यसमाथि घात हुँदाखेरी अब संयुक्त आन्दोलन गर्ने, केपीको निरंकुशतालाई सदाका लागि परास्त गर्ने र देशमा लोकतन्त्र खतरामा छैन भनेर पुष्टि गर्ने बेला काँग्रेसलाई यो अवसर हो ।’  उनले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई अपिल गर्दै यो अवसर गुम्न नदिन आग्रह पनि गरे । ‘हामी तपाइहरुसँग हातेमालो गर्न तयार छौँ,’ प्रचण्डको भनाइ थियो ।

यस्तै प्रचण्ड–नेपाल पक्षका वरिष्ठ नेता झलनाथ खनालले संयुक्त आन्दोलनमा एकजुट भएर संघर्षलाई विजयको विन्दुमा पु-याउन सबैलाई आह्वान गरे । अहिलेको आन्दोलनलाई निष्कर्षमा पु¥याएर मात्रै नेकपाले विश्राम लिने भन्दै उनले नेपाली काँग्रेस र जसपालाई संयुक्त आन्दोलनमा आउन पनि आग्रह गरे ।

‘यो संघर्षलाइ विजयको बिन्दुसम्म नपुगेसम्म नेकपाले विश्राम गर्दैन । नेपाली काँग्रेस, जसपालगायत सबै वामपन्थी पार्टीहरुलाई पनि आग्रह गर्दछौं । आउनुस् संयुक्त आन्दोलन गरौँ । यो नेकपाको मात्रै आन्दोलन हैन । देशलाइ विजयको शिखरमा पुर्याऔँ । संसद् पुनःस्थापनाको विकल्प छैन । र, समाजवादको दिशातर्फ अगाडि बढौँ,’ खनालले भने ।

यस्तै नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता तथा संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले ओलीको फाँसीवादविरुद्ध संयुक्त संघर्ष आवश्यक भएको बताए । तर संयुक्त आन्दोलनको वातावरण तय भइनसकेपनि अहिले सिंगो देश आन्दोलनमय भइरहेको बताए । ‘संयुक्त संघर्षका लागि पहल र प्रस्ताव गरिराखेका छौँ । नेपाली काँग्रेस, जसपालगायतका पार्टीहरूले संसद् विघटनको असंवैधानिक र प्रतिगामी कदमको विरुद्ध संघर्ष गरी नै रहनुभएको छ,’ उनले भने ।

निर्वाचन आयोगमाथि निशाना

प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको केपी ओली समूह र प्रचण्ड– नेपाल समूहबीच आधिकारिताका विषयमा दोहोरी जारी छ । प्रचण्ड–नेपाल पक्षले बुहमतको दलिल पेस गरिरहेको छ भने ओली पक्षले प्रथम अध्यक्ष र महासचिव आफूसँग हुनलाई आधिकारिताको आधारका रुपमा अथ्र्याइरहेको छ । दुबै समूहका अध्यक्ष नै निर्वाचन आयोग धाइरहेको अवस्था छ ।

निर्वाचन आयोगले अहिलेसम्म दुबै समूहको दाबीमा प्राप्त प्रमाण नपुगेको बताउँदै आएको छ । नेकपाको आधिकारिकता विवादमा खेलाँची नगर्न निर्वाचन आयोगलाई अध्यक्ष प्रचण्डको चेतावनी थियो । संवैधानिक निकायले गलत गरे देशले दुःख पाउने भन्दै उनले खुट्टा नकमाउन आयोगलाई आग्रह गरेका थिए ।

‘संवैधानिक निकायले राम्रोसँग बुझुन् । केपीका डर, धाकधम्की हैन । हिजो निर्वाचन आयोगमा गएर केपीजीले ३० दिन कट्यो... काइते कुरा । काइते कुरा गर्ने केपीले गएर धम्काउनु भएछ । अहिले आयोगका केही केही मान्छेहरु खोई के हो के हो... अहिले नभनौँ, भन्यो भने फेरि बिग्रने हो कि ?,’ उनले भने । ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेरिए नेपाली जनताले निर्वाचन आयोगको खुट्टी पनि देख्ने प्रचण्डको बताए ।

‘७० प्रतिशत केन्द्रीय सदस्य एकातिर हुँदाहुँदै । हामीले सुरुमा गएका भनेका हौँ, हामी हो पार्टी भनेर । ३० दिन त के १० दिन पनि पुगेको थिएन हामी जाँदा । त्यसलाई हिसाब नगर्ने अनि केपी ओलीले गएर धम्काउँदा बित्तिकै त्यसैलाई मात्रै हेर्नुभयो भने तपाईंहरुको खुट्टी पनि देख्छन् नेपाली जनताले । नेपाली जनतालाई हेप्ने गल्ती कसैले नगरे हुन्छ,’ उनले भने ।

यस्तै अध्यक्ष नेपालले पनि प्रधानमन्त्री ओलीले निर्वाचन आयोगलाई धम्क्याएको आरोप लगाएका थिए । मंगलबार प्रधानमन्त्री ओली निर्वाचन आयोग गएको प्रसङगमा उनले भने, ‘केपी ओलीले आयोगमा पुगेर म नै पहिलो अध्यक्ष हुँ, आधिकारिकताको विवादमा पस्न पाउँदैन भनेर संवैधानिक निकायलाई धम्क्याए । पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय कहाँ छ पहिलो अध्यक्ष ? त्यसमा पनि शंका छ भने ४४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुन्छ ।’

राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ मा एउटै पार्टीमा नाम, चिन्हबारे विवाद भएमा बहुमतको निर्णय स्वीकार्य हुन्छ भनेर प्रष्ट लेखिएको कुरालाई हेक्का राख्न उनले आयोगलाई आग्रह गरे ।

यस्तै नेता खनालले प्रधानमन्त्री ओलीले निर्वाचन आयोग र आयुक्तहरुलाई धम्क्याउने काम गरेकाले पार्टीको आधिकारिताको निर्णय गर्न आयुक्तहरुलाई सकस परेको बताए । यद्यपि आधिकारिक पार्टी आफूहरू नै रहेकाले कानुन, प्रक्रिया मिलाएर छिट्टै घोषणा गर्न खनालको आग्रह थियो ।

पशुपतिनाथको पूजामाथि कटाक्ष

कार्यक्रममा अधिकांश वक्ताले केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा गएर गरेको पूजामाथि कटाक्ष गरे । अध्यक्ष प्रचण्डले ओली भगवानको शरणमा गए पनि आफूहरुका लागि जनता नै भगवान् भएको बताए । ‘तपाईं अझै निरंकुशतातिर जानेमा हुनुहुन्छ । तपाईं आजकल जनताको शरणमाभन्दा भगवानको शरणमा जानु भएको छ,’ प्रचण्डले भने ।

जनता नै भगवान् भएको भन्दै उनले जनताको धार्मिक आस्थाप्रति आफूहरुको पनि सम्मान रहेको बताए । ‘नेपाली जनता हाम्रा भगवान हुन् । हामी तपाईंहरु जनताको शरणमा छौँ । जनताको धार्मिक आस्थाप्रति हाम्रो सम्मान छ । सबै धर्म, सम्प्रदाय र त्यसमा आस्था राख्ने जनताप्रति हाम्रो सम्मान छ,’ प्रचण्डले भने ।

यस्तै अध्यक्ष नेपालले प्रधानमन्त्री ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताए । ‘केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएको छ,’ उनले भने ।

अधर्मीलाई पशुपति नाथले पनि माया नगर्ने नेपालको भनाइ थियो । ‘पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफ गर्नुहुन्न । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया,’ उनले भने । ओलीको पाप बत्ती बालेर त्यत्तिकै धोइपखाली गर्न नसकिने अध्यक्ष नेपालको भनाइ छ ।

‘केपी ओलीको शासनकालमा ७ हजार १७० नेपाली चेली बलात्कृत भएका छन् । ती चेलीहको आत्माले ए, ओली तिमीले कति जनालाई सजाए दिएका छौ ?’ नेपालले भने, ‘तिमिजस्ता मान्छेलाई पार्टीले त्यो पदमा पु¥यायो तर तिमीले लोकतन्त्र समाप्त पार्न लागेका छौँ । तिमीलाई धिक्कार छ । आम नेपाली जनताले भनेका छन् । केपी ओलीलाई धिक्कार छ । पशुपतिनाथले पनि भन्लान् केपी ओलीलाई धिक्कार छ ।’

नेता खनालले ओलीलाई माक्र्सवादमा विश्वास हुन छाडेर पशुपतिनाथको मूर्तिमाथि विश्वास हुन थालेको आरोप लगाए । ‘केपी ओली अहिले राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेका छन् । पशुपतिमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसकेका छन् । उनलाई अब माक्र्सवादमाथि विश्वास छैन, विज्ञानमाथि विश्वास छैन र भविष्यमाथि पनि विश्वास छैन । उहाँको अब पशुपतिनाथको मूर्तिसँग मात्र विश्वास छ,’ खनालले भने ।

प्रचण्ड–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि प्रधानमन्त्री ओलीलाई नबोल्ने पशुपतिनाथ गुहार्नेको कल्याण नहुने बताए । ‘राजा वीरेन्द्रले भाषण गर्दा सधैँ पशुपति गुहार्थे तर राजा वीरेन्द्रको वंश नाश भयो, पशुपतिले रक्षा गरेनन् । राजा ज्ञानेन्द्रले सम्बोधन गर्दा भन्थे पशुपतिनाथले हाम्रो कल्याण गरुन् । पशुपतिले राम्रै कल्याण गर्दिए । त्यही भएर नारायणहिटीबाट नागार्जुन पुगे,’ पन्तले भने ।

अब ओलीजीलाई पशुपतिनाथले के कृपा गर्ने हो भन्दै उनले प्रश्न गरे । ‘पशुपतिनाथले कृपा गरेर बचाउने भए राजा वीरेन्द्रको वंश नाश हुने थिएन, ज्ञानेन्द्र नागार्जुन पुग्ने थिएनन् । ओलीजी सुन्नुस्, त्यहाँ नबोल्ने पशुपतिनाथको मुर्ति हैन, बोल्ने पशुपतिनाथहरुलाई खुसी बनाउनुस् । जो यहाँ उपस्थित छन्,’ उनले भने ।

महिला नेतृ राष्ट्रपतिमाथि बढी आक्रोशित

नेकपाको प्रचण्ड–नेपाल समूहकी नेतृहरुबाट प्रधानमन्त्री ओलीसँग विद्यादेवी भण्डारीमाथि पनि उत्तिकै आक्रोश प्रकट भएको छ । नेतृ रामकुमारी झाक्रीले प्रधानमन्त्री र राष्ट्रपतिका कारण लामो संघर्षबाट प्राप्त उपलब्धि च्युत भएको आरोप लगाइन् । ‘खड्गप्रसाद ओली आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका दिनमा कहाँ थिए ? दुनियाँलाई थाहा छ । हजारौँ शहीद, घाइतेहरुको योगदानबाट प्राप्त भएको उपलब्धिका एकै रातमा एउटा जंगी बादशाहले च्यातचुत गर्ने बादशाहको विरुद्ध बोल्छौँ,’ उनले भनिन्, ‘मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सहीछाप गर्ने राष्ट्रपति, सम्माननीय संस्था हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिर माथिको संस्था हो । त्यो संस्थामा निर्वाचनको प्रक्रियाबाट गएकोले निरंकुशताको साक्षी बस्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्नुपर्छ । कस्ले भन्छ बोल्न पाइदैन भनेर ?’

एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा त्यहाँ महिलाको अस्मिता नमिचिने नेतृ झाँक्रीको भनाइ छ । ‘कसले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ? महिला अस्मिता त्यहाँ बलात्कृत भएको छ जहाँ भागरथी भट्ट, निर्मला पन्त जस्तै कलिला किशोरी बलात्कृत भएका छन् त्यहाँ महिला अस्मिता मिचिएको छ,’ उनले भनिन्, ‘कुनै पदमा लिङ्ग हुँदैन । त्यहाँ बोल्न पाइन्छ । त्यो सार्वजनिक पद हो ।’

यस्तै नेतृ तथा अनेमसंघकी अध्यक्ष अमृता थापा मगरले महिलाहरुलाई हातमा औजार लिएर विरोधमा उत्रन आग्रह गरिन् । उनले भागीरथी भट्ट र निर्मला पन्तको हत्यारा पत्ता नलागको विषयमा गृहमन्त्री रामबहादुर थापामाथि आक्रोश व्यक्त गरिन् । ‘ भागीरथी भट्ट र निर्मला पन्तको हत्याराको पहिचान र कारबाही गर्न नसक्नेहरुविरुद्ध र यो प्रतिगमन नसच्चिएसम्म आफूलाई सेल्फ डिफेन्सको तालिम लिँदै हातमा खुकुरी, चुलेसी, डाडु पन्यु लिएर उठ्न आग्रह गर्छु,’ उनले भनिन् ।

गृहमन्त्री थापाले आन्दोलनकारीलाई चिडियाखानामा थुन्ने चेतावनी दिएको प्रति संकेत गर्दै उनले प्रतिगमनका मतियारहरुलाई चिडियाखाना नभएर आर्यघाटसम्म लान पनि महिलाहरु काफी रहेको बताइन् ।

यस्तै नेतृ अञ्जना विसङ्खेले निर्मला पन्त, सम्झना विक र भागरथीको बलात्कार र हत्यामा संलग्नलाई कारवाही नगर्ने गृहमन्त्रीसमेत नालायक रहेको दावी गरिन् ।

आज कार्यक्रम समावेशी, फोहर आफै सफाई

यसअघिका कार्यक्रममा समावेशी नभएकोमा आलोचना खेप्दै आए पनि प्रचण्ड–नेपाल पक्षको आजको कार्यक्रम केही समावेशी देखिन्थ्यो । महिला, मधेस र प्रदेशको प्रतिनिधित्व हुने गरी वक्तालाई बोल्न अवसर दिएको पाइन्थ्यो । यस्तै काठमाडौंमा कार्यक्रम भएकाले काठमाडौँकै नेतालाई स्वागत गर्न लगाइएको थियो । कार्यक्रममा करिब ५० प्रतिशत उपस्थिति देखियो मधेसका जनतालाई सम्बोधन गर्न, मधेसी मुलका तीन जना नेतालाई मञ्च दिइएका थियो ।

यस्तै आज विरोध सभास्थलमा निस्किएको फोहोरको व्यवस्थापन सोही पार्टीका नेता कार्यकर्ताहरुले गरेका थिए । सभा समापनलगत्तै पार्टीका नेता कार्यकर्ता आफैं जुटेर कार्यक्रमस्थलको फोहोर व्यवस्थापन गरेका थिए । फोहोर व्यवस्थापनमा पार्टी प्रवक्ता श्रेष्ठ लगायत स्वयंसेवकको टोली खटिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप