मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलको जनसभा ऐतिहासिक हुन्छः पोखरेल

बिहीबार, २९ माघ २०७७, १९ : ०६
बिहीबार, २९ माघ २०७७

रुपन्देही । नेकपा केपी ओली पक्षका स्थायी कमिटी सदस्य शङ्कर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदम सही छ भन्ने सन्देश दिन बुटवलमा जनसभाको आयोजना गर्न गरिएको बताएका छन् । सरकारलाई घेराबन्दीमा पारिएपछि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताउँदै उनले समस्या भएपछि सरकारलाई पनि जनतामा जाने अधिकार रहेको स्पष्ट  पारे ।

फागुन १ गते आयोजना गर्न लागिएको जनसभा ऐतिहासिक हुने दाबी गर्दै उनले जनमत प्रकट गर्ने कुरा आन्दोलन नभई राष्ट्र निर्माणको अभियान भएको तर्क गरे ।  जनसभाबारेमा जानकारी दिन नेकपा प्रचार विभागले आज बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेकपाका प्रदेश इञ्चार्ज पोखरेलले जनताको समर्थन र जनताको अपेक्षा के छ भन्नेबारे जनसभाका माध्यमबाट जनतालाई सुनाउन चाहेको बताए ।

प्रधानमन्त्रीलाई कमजोर पार्ने षड्यन्त्र भएकाले जनतामा जानु परेको बताउँदै नेता पोखरेलले प्रतिनिधिसभा विघटन विवादका विषय नभई विवादको परिणाम भएको स्पष्ट पारे । “प्रधानमन्त्रीलाई असफल पार्ने खेल गलत थियो भन्ने कुरा स्थापित गर्न चुनावमा जान आवश्यक परेको हो”, लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले भने, “प्रतिनिधिसभा विघटन परिस्थितिको बाध्यताका रुपमा रह्यो ।” निर्वाचनबाटै अहिलेको राजनीतिक सङ्कट हल हुने उनको भनाइ छ ।

विसं २०५२ फागुन १ गते माओवादीका तर्फबाट जनयुद्धको थालनी भएकाले त्यो दिन नेपालको राजनीतिमा विशिष्ट भएको उल्लेख गर्दै पोखरेलले सोही दिन बुटवलमा पूर्वजनमुक्ति सेनाको भेलासमेत आयोजना गरिएको बताए । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने उक्त जनसभामा दुई लाखको जनसहभागिता रहने पोखरेलले दाबी गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप