मेरो जीवन

डा. महावीर पुनको जीवन : देश समृद्ध बनाउने सपनाले आविष्कार केन्द्र जन्मियो

person explore access_timeफागुन १, २०७७ chat_bubble_outline0

 

 

 

 

डा. महावीर पुन वैज्ञानिक तथा सामाजिक अभियान्ताका रूपमा परिचित छन् । अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनको देशलाई विकासको गतितिर अग्रसर गराउनेमा विशेष योगदान छ ।

वायरलेस प्रविधिद्वारा देशका ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल महावीर त्रिभुवन विश्वविद्यालयभित्र रहेको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पनि हुन् ।

जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्य लगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेका छ । यो केन्द्रबाट उनी नयाँ सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन प्रेरित गर्दै निःशुल्क अध्ययन, अनुसन्धानको वातावरणसमेत मिलाउँदै आएका छन् ।

‘इन्टरनेट हल अफ फेम’, ‘समग्र सामाजिक नवीनता पुरस्कार’, एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्त्वपूर्ण सम्मान प्राप्त पुनलाई नेपालको विज्ञान र अनुसन्धानमा उल्लेखनीय योगदान गरेको भन्दै अमेरिकाको नेब्रास्का विश्वविद्यालयले मानार्थ ‘डाक्टर’समेत दिएको छ ।  देश समृद्ध बनाउने सपना र लक्ष्यका साथ अगाडि बढिरहेका महावीर पुनको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा :

मेरो कुनै जागिर, व्यवसाय छैन । राष्ट्रिय आविष्कार केन्द्रमा बसेर पनि मैले गर्ने खास केही हुँदैन । यहाँका भाइबहिनीको गोठालो बस्ने हो । त्यो हिसाबले मसँग फुर्सदैफुर्सद छ ।

मेरो खाना

खानेकुरामा मलाई मनपर्ने नपर्ने भन्ने केही छैन । त्यो खाएर स्वस्थ्यमा असर गर्दैन, मरिँदैन, शरीरमा जाँगर दिन्छ र फाइदा हुन्छ भने जे पनि खान्छु । मेरा जिब्राले स्वाद छुट्याउँदैन ।

म एक्लै कहिल्यै रेस्टुरेन्ट जान्नँ । साथीभाइसँग जाने हो । त्यहाँ उनीहरुले जे मगाउँछन्, त्यही खान्छु । पकाउन रुचि छैन । आवश्यक पर्यो भने पकाउँछु । मैले पकाउने भनेको सबैथोक एक ठाउँमा हालेर खिचडी हो ।

मेरो फिट्नेस

फिट्नेसकै लागि छुट्टै एक्सरसाइज गर्दिनँ । हिँडडुल गर्दा, काम गर्दै शरीरलाई एक्सरसाइज हुनेगर्छ । जिम, मर्निङवाकको बानी छैन ।

मेरो पोसाक

म पोसाक यस्तो प्रयोग गर्छु भन्ने छैन । जसले जे दियो, त्यही लगाउने हो । जाडोमा बाक्लो र गर्मीमा पातला लगाउँछु । अरूले नपत्याउन पनि सक्छन् । मैले पहिरन नकिनेको ३० वर्षभन्दा बढी भयो होला ।

धेरै मानिसलाई मैले कपडा किन्दैन भन्ने थाहा छ । उहाँहरुले पुराना, नयाँ जे दिन्छन् त्यही लगाउँछु ।

राम्रो, नराम्रो, यो कलर, त्यो कलर भन्ने छैन पहिरनमा । विदेशका विशेष कार्यक्रममा जानुपर्यो भने कोटपाइन्ट लगाउँछु । अन्य समय पहिरनको मतलब गर्दिनँ ।

मेरो अध्ययन

मैले पुस्तक नछोएको १५, १६ वर्ष भयो । अमेरिकामा पढ्दाखेरी धेरै पुस्तक पढेँ । नेपाल फर्किएपछि गाउँघर डुल्ने, समाजसेवा गर्ने गर्दा पुस्तक हेर्ने समय भएन । पहिले विज्ञान र विभिन्न नलेजका पुस्तक पढ्थेँ ।

मेरो घुमफिर

फ्री भएका कारणले घुमफिर गर्दिनँ । काम विशेषले धेरै ठाउँ घुमेको छु । कामको सिलसिलामा देशको करिब ४० जिल्ला पुगेँ । विदेशको २८ देश टेकेको छु ।

साइटसिन गर्न, त्यतिकै घुम्न कुनै ठाउँ जाँदिनँ । कामको सिलसिलामा जाने हो । जे काम छ, त्यो गर्ने, फर्किने हो । धेरै देश घुमेर संसार बुझिसकँे । जुन देश गए पनि ढुङ्गा, माटोले बनेको हुन्छ । त्यसैले अहिले कतै जान मन लागेको छैन ।

मेरो फुर्सद

फुर्सद जहिले पनि छ । किनभने मेरो कुनै जागिर, व्यवसाय छैन । राष्ट्रिय आविष्कार केन्द्रमा बसेर पनि मैले गर्ने खास केही हुँदैन । यहाँको भाइबहिनीको गोठालो बस्ने हो । त्यो हिसाबले मसँग फुर्सदैफुर्सद छ ।

मेरो खेलकुद

जीवनमा खेल खेल्ने, यसमा रमाउने त्यस्तो मौकै मिलेन । स्कुल पढ्दा अलिअलि भलिबल खेल्ने गरिन्थ्यो । त्यो पनि रहरले हो ।

मेरो मोबाइल

अहिले मसँग सामसुम ब्रान्डको एउटा मोबाइल छ । त्यो २४ घण्टा मेरो साथमा रहन्छ । मोबाइल अहिलेसम्म आफैले किनेको पनि छैन । साथीहरुले जेजस्तो दिन्छन्, त्यस्तै चलाउने गर्दछु । फोन गर्न, उठाउन, सामाजिक सञ्जाल चलाउन मोबाइल प्रयोग हुन्छ ।

मेरो टिभी

टिभी मसँग छँदा पनि छैन, हेर्दा पनि हेर्दिनँ । कतैजाँदा होटलमा बस्दा टिभी भएको रूम छ भने टिभी त्यहाँ हेर्ने हो । टिभीमा जोग्रफी, डिस्कभरी, एनिमल प्लानेट हेर्छु ।

मेरो चलचित्र

मैले पछिल्लो समय फिल्म हेरेको सन् २००० मा हो । त्यो समय क्याराभान भन्ने फिल्म हेरेको थिएँ । त्यसपछि फिल्म हलमा टेकेको छैन । अमेरिकामा ४ वर्षबस्दा जम्मा दुईटा फिल्म हेरेको थिएँ । अहिले फिल्म हेरौँ भन्ने लाग्दैन ।

मेरो पेसा

मेरो पेसा घुम्ने, गफ गर्ने, नयाँ पुस्ताको आविष्कारमा साथ दिने हो । पैसा कमाउने कुनै पेसा छैन । आविष्कार गर्न खोज्नेका लागि वातावरण मिलाउने काम गर्छु ।

अहिलेसम्म मैले केही आविष्कार गरेको छैन । म आविष्कार गर्न भनेर आएको पनि होइन । समाज सेवा गर्ने उद्देश्यले म नेपालमा बसेको हो । समाजसेवाका क्रममा विभिन्न सामाजिक विकासका काम गरियो । जस्तै गाउँगाउँमा इन्टरनेट थिएन, त्यो लैजाने काम भयो । गाउँघरका लागि भनेर माइक्रो हाइड्रो बनाउने काम भयो । चाैरी पालनदेखि विभिन्न काम भए ।

अहिले राष्ट्रिय अनुसन्धान केन्द्र खोलेर प्रयोगको वातावरण मिलाउने गरेको छु । प्रतिभाशाली व्यक्तिहरुलाई फकाएर फुल्याएर काम गर्ने, अनुसन्धान गर्न लगाउने काममा केन्द्रित छु । त्यो काम कुनै विषयसँग केन्द्रित छैन । जुनसुकै विषयका पनि हुनसक्छन् । यो केन्द्रको म अध्यक्ष हो ।

मेरो सपना

नेपाल समृद्ध बनाउने सपना र लक्ष्य छ । १३ वर्ष शिक्षण पेसामा रहेकाले अमेरिका रहँदा शिक्षा क्षेत्रमा केही काम गर्ने सपना थियो । नेपाल फर्किएपछि त्यो सपना परिवर्तन भयो । समाजसेवाका लागि गाउँघर घुम्न थालियो । त्यो क्रममा नेपालमा सानोतिनो काम गरेर देश समृद्ध बनाउन सकिन्न भन्ने बुझेँ । देश समृद्ध बनाउने सपना देखेको कारणले आविष्कार केन्द्रको जन्मभयो ।

१३ वर्ष शिक्षण पेसामा रहेकाले अमेरिका रहँदा शिक्षा क्षेत्रमा केही काम गर्ने सपना थियो । नेपाल फर्किएपछि त्यो सपना परिवर्तन भयो । समाजसेवाका लागि गाउँघर घुम्न थालियो । त्यो क्रममा नेपालमा सानोतिनो काम गरेर देश समृद्ध बनाउन सकिन्न भन्ने बुझेँ । देश समृद्ध बनाउने सपना देखेको कारणले आविष्कार केन्द्रको जन्मभयो ।

मेरो प्रेम

विसं २०५३ तिर मैले प्रेम विवाह गरेको हो । सामाजिक कामको सिलसिलामा गाउँघर डुल्दा एक युवतीसँग प्रेम बस्यो । प्रेम भएको तीन वर्षपछि उनीसँग मागी विवाह गरेँ । अहिले दुईवटा छोरी छन् । श्रीमती र छोरीहरुलाई पोखरामा राखेको छु । म काठमाडौँ बस्छु ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत मनपर्छ, सुन्छु । तर यसमा लत बस्ने भन्ने भएन । पहिले रेडियोमा सुनिन्थ्यो नारायण गोपाल, भक्तराज आचार्यका गीतहरु । अहिले गीतसङ्गीत नसुनेको धेरै भयो ।

मेरो मापसे

मापसे गर्न थालेको अहिले ३० वर्षभयो । अमेरिकाबाट फर्किएर समाजसेवा गर्न थालेपछि मापसे गर्न थालेको हो । पहिले खादिन थिएँ ।

अहिले मापसेमा ब्रान्डसँग मतलब छैन । जे पनि खान्छु । कहिले कहिले मातिने गरेर पनि खान्छु ।

मेरो भुल

जीवनमा भुल भए होलान् । भुल नभएको भए जीवन अहिलेको अवस्थासम्म आइपुग्दैन थियो । भुल भन्ने जानेर गरिँदैन । अचानक गर्ने हो । भुललाई मैले कहिल्यै ठूलो ठानेको छैन । भुलबाट सिक्नुपर्छ भन्ने मेरो धारणा हो ।

जसले भुल गरेर सिक्दैन त्यो चाहिँ ठूलो भुल हो । पहिले साथीहरु पढेर इन्जिनियर, ठूला अफिसका हाकिम भएको देख्दा गरिब परिवारमा जन्मिएर पढ्न नसकेकोले भुल भयो भन्ने लाग्थ्यो ।

तर अहिले त्यो भुल होइन भन्ने लाग्न थालेको छ । म डाक्टर, इन्जिनियर बन्न लागेको भए अहिले जति गर्न सक्दैन थिएँ होला सायद ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म त्यस्तो ठूलो रोग केही छैन । फिट एन्ड फाइन छु ।

मेरो राशि

जन्म महिना, दिन र समयले राशि थाहा पाउने हो । मलाई भने आफ्नो जन्मदिन थाहा छैन । नाम अहिले महावीर हो । त्यो नामबाट ‘सिंह’ राशि हुन्छ । यो राशि, ग्रहदशामा म विश्वास पनि गर्दिनँ ।

मेरो मृत्यु

मृत्यु जीवनको एउटा प्रोसेस हो । जन्मने र मर्ने कुरो सत्य हो । एक दिन मृत्यु अवश्य हुन्छ । मृत्युमा कसैको केही लाग्दैन ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।