बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पार्टी विभाजनले अस्तव्यस्त बन्दै नेकपाको ट्रेड युनियन

सबैजसो ठाउँमा समानान्तर कमिटीको अभ्यास
आइतबार, ०२ फागुन २०७७, ०९ : २८
आइतबार, ०२ फागुन २०७७

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विभाजनसँगै पार्टी निकटका ट्रेड युनियन महासंघ अस्तव्यस्त बनेका छन् । नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) दुवैमा यस्तो समस्या देखिएको हो । पार्टी एकीकरण भए पनि एक हुन नसकेका महासंघहरु पार्टी फुटको अवस्थामा भने वैचारिक र राजनीतिक रुपमा विभाजनको अवस्थामा छन् ।

पार्टी एकीकरण हुनुअघि तात्कालिन एमाले निकट रहेको नेपाल ट्रेड युनियन महासंघ (जीफन्ट) मा अहिले सबैभन्दा ठूलो समस्या देखिएको छ । महासंघको केन्द्रीय समितिमा केपी शर्मा ओली निकटको वर्चस्व छ । उता महासंघ अन्तर्गतका महत्त्वपूर्ण घटकहरुमा भने माधव नेपाल समूहको वर्चस्व छ ।

जीफन्टका अध्यक्ष विनोद श्रेष्ठ यतिबेला ओली समूहमा छन् । जीफन्टका संरक्षक समेत रहेका प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालको निर्देशनमा महासंघले संस्थागत निर्णय गर्दै आएको छ । केन्द्रीय समितिका बहुमत भएकै कारण जीफन्टलाई निर्णय प्रक्रियामा कुनै असहजता छैन ।

तर, महासंघभित्रकै अर्को ठूलो हिस्सा भने माधव नेपाल समूहको पक्षमा छ । अध्यक्षको निर्वाचनमा वरावरी मत पाएर गोला प्रथाबाट पराजित भएका विष्णु लम्साल यतिबेला माधव नेपाल समूहमा छन् । उनकै नेतृत्वमा ‘प्रतिगमन विरुद्ध श्रमिक परिचालन कमिटी’ गठन भइ आन्दोलनामा श्रमिकलाई ल्याउने नेतृत्व काम अघि बढिरहेको छ । त्यसो त, उनकै नेतृत्वमा जीफन्ट अन्तर्गत नेतृत्वइतर पक्षले छुट्टै माघ २५ गते आफ्नो पक्षको भेला समेत आयोजना गरेको थियो ।

जीफन्टको केन्द्रीय कमिटीबाहेक यसअन्तर्गतको घटक संगठनमा भने माधव नेपाल समर्थक समूह बलियो छ । जीफन्ट अन्तर्गत १८ वटा घटक संगठनहरु छन् । सबैभन्दा शक्तिशाली मानिँदै आएको यातायात मजदूर संघ, निर्माण मजदूर संघ लगायतमा नेपाल समूहको नेतृत्व छ । अन्यमा पनि नेपाल समूह नै अगाडि रहेको बताइन्छ । महासंघ र घटक संगठनहरुबीच तालमेल नमिल्दा महासंघका अधिकांश गतिविधि ठप्प अवस्थामा छन् ।

पेशागत महासंघमा समानान्तर कमिटीको अभ्यास

जीफन्टले निजी क्षेत्र आवद्ध श्रमिक संगठनको प्रतिनिधित्व गरेजस्तै तात्कालिन एमालेसँग निकट रही सरकारी तथा सार्वजनिक संस्थानमा रहेका युनियनहरुको छुट्टै पेशागत महासंघ पनि छ । यो महासंघमा भने उल्टो अवस्था छ ।

सो महासंघमा उपाध्यक्ष दीपक सुवेदीबाहेक सिंगो टीम माधव नेपाल समूहको समर्थक रहेको बताइन्छ । सो महासंघ अन्तर्गत २५ वटा घटक संगठन छन् । त्यसमध्ये अधिकांश संगठनमा माधव नेपाल समूहकै बाहुल्यता छ ।

पेशागत महासंघमा आफ्नो नेतृत्व कमजोर भएपछि ओली समूहले समानान्तर कमिटीको अभ्यास सुरु गरेको छ । सो समूहले माघ २६ गते कार्की ब्याङ्क्वेटमा भेला गरी बाबुराम थापा नेतृत्वमा २ सय ५० जना सदस्यसहितको समानान्तर कमिटी घोषणा गरेको हो । नवगठित कमिटीका अध्यक्ष थापा यसअघि महासंघकै अध्यक्षमा पराजित भएका उम्मेदवार हुन् ।

महासंघको समानान्तर कमिटी घोषणा गरेपछि यतिबेला सो समूहले घटक संगठनहरुलाई आफ्नो पक्षमा ल्याउन प्रयास सुरु समेत गरिसकेको छ । अहिले नेपाल टेलिकम आवद्ध संगठनले नवगठिन महासंघमा जान तयार भइसकेको स्रोतले जनाएको छ । अरु संगठनलाई समेत मनाउने क्रम जारी रहेको र अपेक्षाअनुसार सफलता समेत मिलिरहेको सो पक्षको दाबी छ ।

माओवादीनिकट महासंघमा पनि समस्या

तात्कालिन माओवादी निकट मानिने अखिल नेपाल ट्रेड युनियन महासंघ (एन्टुफ) मा अहिले जगत सिम्खडाको नेतृत्व छ । हालसम्म सो महासंघभित्र समानान्तर गतिविधि भएको छैन । यद्यपि यसमा आवद्ध रहेको यातायात मजदूर संगठन भने यसअघि नै फुटिसकेको छ ।

अहिले माओवादीनिकट यातायात मजदूर संगठनलाई फुटाएर अर्को ‘नेपाल राष्ट्रिय प्रगतिशील यातायात श्रमिक संगठन’ नामक नयाँ संघ गरिसकेको छ । सो फागुन ८ गते राष्ट्रिय महाधिवेशन गर्न लागेको अध्यक्ष राजेन्द्र शर्माले जानकारी दिए । सो सभामा लेखराज भट्टलाई प्रमुख अतिथि बनाउन लागिएको बुझिएको छ ।

वर्तमान नेतृत्वले अहिलेको मजदूर आन्दोलनको आवश्यकता र वस्तु परिस्थिति अनुसार आफूलाई सर्भाइभ गर्न त्यसअनुसार नीति कार्यक्रम दिन नसकेपछि आफूहरुले छुट्टै संगठनको अभ्यास गर्नु परेको अध्यक्ष शर्माको दाबी छ ।

कानूनी रुपले मात्रै सँगै

व्यवहारिक रुपमा फुटिसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जसरी कानूनी रुपमा भने अहिले पनि एउटै छ, त्यसैगरी कानूनी जटिलताकै कारण अहिलेसम्म पनि यो महासंघ फुटबाट बचिरहेको छ । नेपाल यातायात स्वतन्त्र मजदूर संगठनमा अध्यक्ष भीमज्वाला राई श्रमिक संगठनहरु पार्टीको भातृ संगठनजस्तो नभएकोले तत्कालै फुट्ने वा तत्कालै जुट्ने सम्भावना नरहेको बताउँछन् । उनले यस्तो अवस्थामा आफूहरुले महासंघभित्र प्रतिपक्षको भूमिका निर्वाह गर्ने गरेको बताउँछन् ।

‘ट्रेड युनियन महासंघ पार्टीको युवा संगठन वा विद्यार्थी संगठनजस्तो यो जनसंगठन होइन । यो ऐनअनुसार दर्ता भएर चलेको महासंघ भएकोले हुनाले यहाँ तत्कालै फुट्ने स्थिति हुँदैन । त्यसैले यो पेशा, समस्या, कानून र श्रमजीवीको जीवनसँग जोडिएको हुनाले तत्कालै राजनीतिक प्रभाव यहाँ देखिँदैन,’ राईले भने, ‘तर प्रधानमन्त्रीले चाल्नुभएको पछिल्लो राजनीतिक कदम प्रतिगमन भनेर हामी त्यसविरुद्ध आन्दोलनमा उत्रियौं । जीफन्टको केही नेतृत्वले प्रधानमन्त्रीको कदमलाई प्रतिगमन देख्नुभएन, यो विरोधाभाष भएको छ । तर, वैचारिक रुपमा अलग भए पनि हामीले महासंघभित्र अन्तसंघर्ष गर्छौं ।’

जीफन्ट भने घटक संगठनहरुको गतिविधिप्रति प्रतिक्रियात्मक नहुने निष्कर्षमा पुगेको छ । बहुसंख्यक संघठन आफ्नो अनुकुलमा नभएपछि तत्कालै कारबाही गर्दा महासंघको अस्तित्वमाथि नै संकट आउने देखिएपछि तत्कालै कुनै कदम नचाल्ने निर्णयमा जीफन्ट पुगेको हो । यसको सट्टामा जीफन्टको मूल नेतृत्वले समानान्तर कार्यक्रमहरुलाई भने अघि बढाइरहेको छ । केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै बोलाएर जीफन्टले आफ्नो पक्षको भेला गरेको थियो । सो भेलालाई माधव नेपाल समूहले बहिस्कार गरेको थियो ।

महासंघका महासचिव जनक चौधरी जीफन्टमा आवद्ध व्यक्तिले पनि भिन्न विचार राख्न पाउने भएकोले यसलाई आफूहरुले सामान्य रुपमा लिएको बताउँछन् । ‘जीफन्टको मूल नेतृत्वले सरकारको नेतृत्व केपी शर्मा ओलीको नेतृत्वलाई समर्थन गर्छ । तर व्यक्तिगत रुपमा जोकोहीले पनि आफ्नो विचार राख्न पाउँछन् । हामीकहाँ नेपाल मजदूर किशान पार्टी समर्थित मजदूर संगठन पनि आवद्ध छ । उहाँहरुले छुट्टै गतिविधि गर्न पाउनुहुन्छ,’ महासचिव चौधरी भन्छन्, ‘यसैगरी महासंघमा आवद्ध भएका अन्य सदस्यले पनि व्यक्तिगत विचार राख्न र यसअनुसार गतिविधि गर्न पाउँछन् । तर, त्यस्तो गतिविधिमा महासंघको झण्डा प्रयोग भएको पाइयो भने चाहिँ त्यो इस्यु हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप