शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्गा र अर्जुनको प्रेम कहानी : सङ्गीतले प्रेम, चिया पसलमा डेटिङ

आइतबार, ०२ फागुन २०७७, १५ : ५५
आइतबार, ०२ फागुन २०७७

काठमाडौँ । भनिन्छ, प्रेमको पहिलो पाइला मित्रता हो । मित्रता कि कामको सिलसिलामा हुन्छ कि साथीभाइ, आफन्तको माध्यमले चिनजानबाट । सङ्गीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलको मित्रता भने कामको सिलसिलामा भयो । काम र मित्रता अगाडि बढ्दै जाँदा प्रेम भयो । त्यो प्रेम अहिले विवाहमा परिणत भएको छ ।

अर्जुन र दुर्गाले गत १९ असारमा विवाह गरेका हुन् । कोरोनाको कहरको समय भएकाले पनि उनीहरूले सीमित व्यक्तिको उपस्थितिमा बूढानीलकण्ठ मन्दिरमा एकअर्काेलाई जीवनभरको साथी अर्थात् पतिपत्नीका रूपमा स्वीकारेका थिए ।

गत वैशाखमै विवाह गर्ने सोच बनाएका उनीहरूले बढ्दो कोरोना कहरका कारण विवाह असारमा पुर्याएका थिए । अझै केही समयपछि विवाह गरेर साथीभाइ सबैलाई आफ्नो विवाह समारोहमा सरिक गराउने इच्छा उनीहरूमा थियो । विवाहको लगन र दुवैको परिवारको खुसी र समस्याका कारण असारमै विवाह गर्न बाध्यता परेको अर्जुनले बताए ।

अर्जुन र दुर्गाको विवाह भएको अहिले ८ महिना पुगेको छ । उनीहरू अहिले विवाहित लाइफल इन्जोय गरिरहेका छन् । विवाहपछि आफूहरूको प्रेम झन् बढेको दुवै बताउँछन् ।

‘विवाह गरेपछि जिन्दगीको रफ्तार सफल र सरल हुँदो रहेछ,’ अर्जुनले भने, ‘आफूले कुनबेला के गर्ने, घर कति बेला जाने, के खाने, के गर्ने सबैमा अनुशासित होइँदोरहेछ ।’

अर्जुनको कुरामा दुर्गाले पनि सहमती जनाइन् । विवाहपछिको उनको अनुभव केही फरक पनि छ । ‘अनुशासित त भइन्छन् नै, पहिलेभन्दा हिँडडुल गर्न सजिलो भएको छ । दुःख, सुखका कुरा सेयर गर्न पाइन्छ,’ उनले भनिन्, ‘जीवन एकदमै रमाइलो हुँदोरहेछ । रमाइलोसँग बितिरहेको छ ।’

कोरोनाको कहरका कारण अर्जुन र दुर्गा हनिमुनका लागि अहिलेसम्म कतै निस्कन पाएका छैनन् । अहिले बल्ल उनीहरू हनिमुनका लागि निस्कने तयारीमा छन् ।

कहिलेकाहीँ झगडा

अर्जुन र दुर्गाको विवाह भएको अहिले ८ महिना पुगिसकेको छ । उनीहरूलाई भने भर्खर विवाह भएजस्तो लाग्ने गरेको छ रे । ‘दुवै एकअर्काेका प्रेममा राम्रोसँग भिजेकाले होला समयको पत्तो भएको छैन,’ उनीहरूले एकै स्वरमा भन्ने शब्द हुन् यी ।

विवाह भएको ८ महिनामा उनीहरू बीच प्रेम मात्र भएको छैन । कहिलेकाहीँ झगडा पनि हुने गरेको छ । झगडाले झन् प्रेम बढाएको, एकअर्काेलाई झन् नजिक र सहज बनाएको उनीहरू दुवैको बुझाइ छ । दुवैले एकै स्वरमा भने ‘श्रीमान् श्रीमतीको सम्बन्धमा कहिलेकाहीँ झगडा त भै हाल्छ नि ।’ आफूहरूको सानोतिनो कुरोमा झगाडा हुने अर्जुनले बताए ।

‘कहिलेकाहीँ जुन मुडमा उनी हुन्छिन् त्यो मुड मैले न बुझ्न पनि सक्छु । कामको प्रेसर पनि आफ्नै किसिमको हुन्छ,’ अर्जुनले आफ्नो कुरा राख्दै गर्दा दुर्गा बोलिन्, ‘हाम्रो झगडा ठूलो हुँदैन सानोतिनो हुन्छ ।’ फेरि अर्जुनले थपे, ‘अगुल्टो त न ठोसी बल्दैन भनिन्छ । जीवन पनि त्यस्तै हो अलिअलि झगडा नभई चल्दैन ।’

अर्जुन र दुर्गाबीचको झगडा केही घण्टामै फेरि प्रेममा बदलिने गरेको छ । त्यसको सुरुवात दुर्गाबाट भन्दा पनि अर्जुनबाट हुन्छ । किनभने अर्जुन कुनै पनि मानिससँग लामो समय रिसाएर बस्न सक्दैनन् । अर्काे कुरो उनी कसैलाई फकाउँदा पनि छुट्टै आनन्द फिल गर्ने गर्छन् ।

‘हाम्रो झगडामा पहिलो कम्प्रमाइज गर्ने काम अर्जुनजीले गर्नुहुन्छ,’ दुर्गाले अगाडि थपिन्, ‘मलाई अलि समय लाग्छ ।’ आफूलाई छिटो रिस नउठ्ने र रिस उठेपछि सेलाउन समय लाग्ने दुर्गाले सुनाइन् । थपिन्, ‘दुवैको प्रेमसम्बन्ध बिग्रिने गरेर म कहिल्यै रिसाउँदिनँ ।’

प्रेमपछि विवाह

अर्जुन र दुर्गाबीच विवाहलाई कतिपयले वर्षाैंदेखिको प्रेम बताए तर होइन । करिब एक वर्षको प्रेमसम्बन्धलाई उनीहरूले विवाहमा परिणत गरेका हुन् ।

त्यसो भन्दैमा चिनजान पनि छोटो भने होइन । ‘चिनजान भने हाम्रो पुरानो थियो । एउटै सङ्गीत प्रशिक्षण केन्द्रमा हामीले करिब दशकसँगै काम गरेका छौँ,’ अर्जुनले बोले, ‘कतिपयले लामो समयदेखिको यी दुवैको प्रेम थियो भन्दा हामीले होइन पनि भनेनाँै । किनभने धेरै समयदेखि सँगै काम गरिरहेका पनि थियौँ । अहिले प्रेम विवाह भएको पनि । हो भन्दा पनि भयो ।’

करिब एक वर्षको प्रेमपछि विवाह गरेको अर्जुनले खुलाए । दुर्गा र अर्जुनबीचमा प्रेमको पहिलो प्रस्ताव कस्ले राख्यो होला ? धेरैको मनमा यही प्रश्न उठ्न सक्छ । ‘म भन्न नडराउने मानिस भएकाले पहिलो प्रस्ताव मैले राखेको हो,’ अर्जुन भने ।

‘मैले प्रेम प्रस्ताव राखँे । उनले केही समय सोचेर ग्रिन सिग्नल दिइन्,’ अर्जुनले अगाडि थपे, ‘प्रेमको कुरो मात्र होइन । विवाहको कुरामा पनि उनले केही समय सोचेर डिसिजन दिइन् ।’

अर्जुनको कुरा चाख दिएर सुनिरहेकी दुर्गा पनि बोलिन्, ‘विवाह गर्नुहुन्छ कि हुँदैन भनेर सोच्न समय लिएको होइन । विवाहमा के–कसरी जाने भनेर डिसिजनका लागि समय लिएकी हुँ ।’

अर्जुनको प्रेम प्रस्ताव अगाडि दुर्गाको मनमा पनि अर्जुनको विषयमा केही फिलिङ्स त थियो । तर त्यस विषयमा भने उनले सोचेकी थिइनन् ।

‘उहाँ राम्रो मानिस हुनुहुन्थ्यो । उहाँ जस्तो श्रीमान् भए हुन्थ्यो भन्ने मनमा थियो,’ दुर्गाले भनिन् ‘हामी राम्रा साथी थियौँ । उहाँजस्तो मान्छेले प्रस्ताव राख्दा कसलाई पो मन नपर्ला र ?’ आफूलाई बुझ्ने, आफ्नै फिल्डको र राम्रो साथीबाट प्रेम प्रस्ताव आएकाले पहिलो प्रस्तावमै आफूले स्वीकारेको दुर्गाले सुनाइन् ।

पहिलो भेट त्यो

अर्जुन र दुर्गाको पहिलो भेट करिब एक दशक अगाडि अनुराग सङ्गीत विद्यालयमा भएको थियो । अर्जुन सङ्गीतका गुरु राम सिटौलामार्फत् त्यहाँ सङ्गीत प्रशिक्षकका रूपमा पुगेका थिए ।

राम सिटौला दुर्गाको नजिकको मामा पर्ने मानिस हुन् । उनै सिटौलाले अर्जुनलाई राम्रो गाउने एउटा मेरो भान्जी हुनुहुुन्छ । अर्काे स्कुलमा पढ्दै हुनुहुन्छ । यहाँ आउनुभएको छ भनेर चिनाएका थिए ।

दुर्गा भने मामा राम सिटौलोको स्कुलमा सङ्गीत पढ्दा राम्रो हुने अरूले सुझाएका कारण त्यहाँ पुगेकी थिइन् । त्यहाँ दुवैको चिनजान भयो । अर्जुनले दुर्गाको भोकल समेत टेस्ट लिए । सोही क्रममा उनले दुर्गामा राम्रो भोकल पाएको पाएका थिए ।

‘पहिलो पटक देख्ना साथ उनीप्रति प्रेम बसेको भने होइन मेरो,’ अर्जुनले हाँस्दै भने, ‘काम गर्दै साथीका रूपमा अगाडि बढ्दै जाँदा कुनबेला मनपराउन थालँेछु थाहै भएन ।’

दुर्गा अनुरागमा सङ्गीत सिक्न थाले पनि सुरुको समय अर्जुनसँग बोल्दिन थिइन् । किनभने दुर्गालाई सङ्गीत सिटौलाले सिकाउँथे । एउटै विद्यालयमा हुँदा देखभेट भने दैनिक हुन्थ्यो ।

‘विद्यालयमा हुँदा एउटै फ्यामिलीको हिसाबले उहाँसँग बोलिन्थ्यो,’ दुर्गाले ती दिन सम्झिन्, ‘काम गर्न थालेपछि भने हामी राम्रो साथी भयौँ ।’

अर्जुन र दुर्गाको सङ्गीतमा पहिलो सहकार्य एल्बममार्फत भएको थियो । दुर्गा नेपाल ताराको सहभागी भएपछि एल्बम तयारी गरेकी थिइन् । त्यो एल्बमको सङ्गीत अर्जुनले भरे ।  विद्यालय एउटै भएकाले घरभित्रको मानिसलाई काम किन नदिने भन्ने सोच दुर्गामा थियो । त्यही भएर पनि अर्जुनले दुर्गाको एल्बमको सङ्गीत गर्ने अवसर पाएका थिए । दुवैको सहकार्य रहेको त्यो एल्बम सोचेजस्तो हिट हुन भने सकेन ।

त्यसै समय अर्जुनको हातमा ‘दिलमाया’ भन्ने फिल्मको सङ्गीत परेको थियो । त्यो फिल्मको ‘छुट्छ कि साथ, टुट्छ कि नाता’ बोलको गीत अर्जुन आफैले सङ्गीत गरेर दुर्गालाई गाउन दिए । यो गीत अत्यधिक हिट भयो । यो गीतले अर्जुनको सङ्गीतमा पनि रफ्तार ल्यायो । दुर्गालाई पनि अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन । दुर्गा र अर्जुनले अहिलेसम्म थुप्रै हिट गीतमा सहकार्य गरेका छन् । त्यो सहकार्य विवाहपछि पनि जारी छ ।

लामो समयदेखि अर्जुनसँगको सङ्गतमा रहेकी दुर्गाको मनमा अर्जुनसँग प्रेमको विषयले उनको प्रस्ताव अगाडि कहिल्यै प्राथमिकता पाएका थिए । किनभने दुर्गालाई सङ्गीतमा केही गर्नु थियो । अर्काे कुरो छोरी मान्छे दायाँबायाँ केही भयो भने परिवारलाई समेत अब्ठ्यारो हुने उनी सोच्थिन् ।

‘प्रेमको विषयमा पहिले मेरो चासो थियो । किनभने जसरी पनि मलाई राम्रो गायिका बन्नु थियो,’ दुर्गाले भनिन् ।

अर्जुनको मन भने लामो समयको दुर्गासँगको सहकार्य अझ सहज बनाउने खोजीमा थियो । त्यही क्रममा उनले प्रेम र विवाह पाए । त्यसैले पनि उनले पहिले दुर्गालाई प्रेम प्रस्ताव राखे थिए । प्रेमपछि विवाहको प्रस्ताव पनि ।

‘मैले धेरैसँग काम गरेको छु । प्रेम र विवाहको अन्य अप्सन पनि थियो,’ अर्जुनले भने ‘भित्री रूपमा प्रेमको फिलिङ भने दुर्गाका लागि आयो ।’

चिया पसलमा डेटिङ

प्रेम जोडी अहिले डेटिङको नाममा विभिन्न स्थानमा धाउने गर्छन् । अर्जुन र दुर्गाको भने त्यस्तो डेटिङ कहिल्यै भएन । उनीहरू एउटै गाडीमा हिन्थे, सँगै सपिङ गर्थे । घर परिवारदेखि कामको कुरा गर्थे । कहिलेकाहीँ फोनमा कुरा गर्ने । तर घण्टौँ होइन ।

‘डेटिङ भनेर हामी कहिल्यै टाढ गएनौँ र अवसर पनि मिलेन,’ अर्जुनले भने ‘काममा फुर्सद भयो भने भेटाँै भनिथ्यो । कहिले चिया पसलमा चिया खाँदै र कहिले रेस्टुरेन्टमका मःमः खाँदै सुख दुःख र माया कुरा गरिथ्यो ।’ ‘हामी साधारण किसिमले रमाउने भएकाले डेटिङ चिया पसल र रेस्टुरेन्ट गरियो,’ अर्जुनले लामो हाँसो छोडे । विवाहपछि भने उनीहरूको डेटिङ सुरु भयो । केही स्थानमा उनीहरूले घुम्न भ्याएका छन् । आजको भ्यालेन्टाइन डे पनि उनीहरू विशेष रूपमा सेलिब्रेसन गर्दैछन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप