शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

रेल्वे कम्पनीका महाप्रबन्धकले अपहरणको धम्की दिएको अडियो बाहिरियो

आइतबार, ०२ फागुन २०७७, २३ : २७
आइतबार, ०२ फागुन २०७७

धनुषा । नेपाल रेल्वे कम्पनीको महाप्रबन्धक गुरुप्रसाद भट्टराईले प्रदेश २ का  प्रमुख तिलक परियारका स्वकीय सचिव अनिल पासवानलाई अपहरणको धम्की दिएका छन् । प्रदेश प्रमुख परियारको निर्देशनमा रेलवे सञ्चालनका बारेमा जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराईले पासवानलाई गालीगलौज गरी अपहरणको धम्की दिएका हुन् । रेलवे सञ्चालनका सम्बन्ध जानकारी लिन खोज्दा महाप्रबन्धक भट्टराई आफु केन्द्रीय सरकार मातहत काम गर्ने भएकोले प्रदेश सरकारसँग छलफल नै नगर्ने भन्दै गाली गलौजमा उत्रिएका छन् ।  

पासवान र भट्टराईबीच भएको चर्काचर्कीको अडियो समेत बाहिरिएको छ । भट्टराईले आफ्नो घर महोत्तरीको बर्दिबास रहेको भन्दै बढी गरे जतिबेला पनि अपहरण गरिदिन सक्ने धम्की दिएका छन् । अडियोमा भट्टराईले पासवानप्रति आक्रामक हुँदै भनेका छन्ः ‘म तलाई जुनसुकै बेला अपहरण गराइदिन्छु ।’  

अडियोमा प्रचण्ड र ओलीको मान्छे भन्ने आरोप प्रत्यारोप पनि सुन्न सकिन्छ । महाप्रबन्धक भट्टराईले पासवानलाई प्रचण्डको मान्छे भनेर आरोप लगाएपछि पासवानले पनि उनलाई ओलीको मान्छेको आरोप लगाउँदै अपरहण गरेर देखाउन चुनौती दिएका छन् । सुरुमा २ मिनेट जति केही लचिलो ढंगले प्रस्तुत भएका उनीहरु केहीबेरपछि निकै चर्को आरोपप्रत्यारोपमा उत्रिएका छन् । करिब ४ मिनेटजति चर्को आरोप प्रत्याआरोपमा उत्रिएका उनीहरुले राजनीतिक शक्ति र नेताको आडमा तिब्र आक्रोस पोखेको सुनिन्छ । 

यस सम्बन्धमा अनिलसँग बुझ्दा उनले प्रतिक्रिया दिन मानेनन् । महाप्रबन्धक भट्टराई प्रधानमन्त्री केपी ओली निकट मानिन्छन् भने पासवान नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट भनेर चिनिन्छन् । उनी प्रचण्ड–माधव पक्षका युवा संघका केन्द्रीय सदस्य समेत हुन् । यता, नेकपा धनुषाका नेता दिपक पटेलले अनिल दलित भएकै कारण उपल्लो जातका भट्टराईले अमानवीय व्यवहार गरेको आरोप लगाए ।    


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण कुमार कर्ण
किरण कुमार कर्ण

कर्ण रातोपाटीकाे प्रदेश नम्बर २ का विशेष प्रतिनिधि हुन् ।

लेखकबाट थप