मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवल उपमहानगरको ६२ औं स्थापना दिवस: महानगरीय अवधारणाका योजना कार्यान्वयन गर्दै

सोमबार, ०३ फागुन २०७७, २२ : ४०
सोमबार, ०३ फागुन २०७७

बुटवल । बुटवल उपमहानगरपालिकाको ६२ औं स्थापना दिवस सोमबार मनाइएको छ । स्थापना दिवसका अवसरमा कार्यालय परिसरमा आयोजित कार्यक्रममा उपमहानगर प्रमुख शिवराज सुवेदीले नयाँ व्यवस्था र प्रणालीमा शून्यबाट काम गरेर पनि हेर्ने र देख्ने गरी विकास गरिएको बताए ।

बुटवलमा क्रियाशील राजनीतिक पार्टीहरुले चुनावी घोषणापत्रमा उल्लेख गरेका योजनाहरुलाई सम्बोधन गर्ने गरी बुटवल उपमहानगरपालिकाले आवधिक र दीर्घकालीन महत्वका योजनासहितको गुरुयोजना निर्माण गरेको उनको भनाइ थियो ।

सबल आर्थिक केन्द्र समुन्नत बुटवलका माध्यमबाट समृद्ध बुटवल, खुशी जनताको संकल्प साकार पार्ने र बुटवललाई अवसरको सहरका रुपमा विकास गरिने उनले बताए । महानगरीय अवधारणाका साथ बृहत बुटवल स्थापना गर्नेगरी विभिन्न योजना छनौट गर्दै तिनलाई तीनै तहका सरकार, निजी क्षेत्र, सामाजिक संघसंस्था र नागरिक अगुवाहरुसँगको सहकार्यमा साकार पारिने प्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाले हिलपार्कमा बुद्ध पहिचान पार्क, जितगढीमा बटौली युद्ध संग्रहालय, जितगढी सम्पदाको सम्बर्द्धन र विस्तार, मोतिपुरमा थारु सांस्कृतिक संग्रहालय, नयाँगाउँमा ढुवानीग्राम, नरेनापुर धाममा भ्यू टावर, बैठौलिया तालमा व्यवस्थित नौकाविहार र थारु होमस्टे तथा बुटवल रामनगरमा आधुनिक पशु बधशाला जस्ता महत्वपूर्ण आयोजना निर्माणको काम सुरु गरेको छ । 

यसका अतिरिक्त आन्तरिक बाइपास सडकहरुको विस्तार र स्तरोन्नति, बुटवल चक्रपथ निर्माण, मिलन पार्क बहुउद्देश्यीय केन्द्र र खेल मैदान निर्माणका कामलाई पनि उपमहानगरले अगाडि बढाएको छ । नगर गौरवका आयोजनाका अतिरिक्त प्रदेश सरकार र संघीय सरकारको सहकार्यमा दीर्घकालीन महत्वका योजना बुटवलमा सञ्चालित छन् । 

निजी क्षेत्र, समाजिक संघसंस्था तथा समाजसेवीका सहयोग एवम् सहकार्यमा नै बुटवलमा महामारी नियन्त्रणको काम प्रभावकारी भएको बताउँदै उपप्रमुख गुमादेवी आचार्यले योगदानको कदर गर्दै सबैलाई क्रमशः सम्मान गरिने जानकारी दिइन् । 

विभिन्न व्यक्तित्व, कर्मचारी र संघसंस्था सम्मानित

महामारी नियन्त्रणका बेलामा आइसोलेशनमा खटेर खाना खुवाउने, सुरक्षा प्रवन्ध मिलाउने सुरक्षाकर्मी, कर्मचारीदेखि उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट टोल विकास संस्था, हरियाली प्रवर्द्धनमा सक्रिय संस्था तथा व्यक्ति र विभिन्न व्यक्तित्वलाई समेत स्थापना दिवसकै अवसरमा सम्मान गरिएको थियो । 

ठूला करदाताका रुपमा सबैभन्दा धेरै सम्पत्ति कर बुझाउनेहरुमा नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेड, एभरेष्ट बोर्डिङ स्कुल, नेपाल टेलिकम, मधुसुदनलाल श्रेष्ठ, मानवहादुर केसी, विलासमोहन बझानथाक्क्षेलाई सम्मान गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले जानकारी दिए ।

यसैगरी सबैभन्दा धेरै बहालकर बुझाउनेहरुमा मधुसुदनलाल श्रेष्ठ, पोष्टराज ज्ञवाली, मञ्जु ज्ञवाली, ज्ञानेन्द्रप्रसाद मल्लीलाई सम्मान गरिएको थियो । यस्तै उपमहानगरमा ३० वर्षभन्दा बढी सेवा अवधिका ९ र अन्य पाँच जना गरी १४ जना कर्मचारीलाई सम्मान गरिएको थियो । कार्यसम्पादनमा उत्कृष्ट १५ जना कर्मचारीहरुलाई नगद जनही १५ हजारका दरले सम्मान गरिएको थियो भने १९ वटै वडाका उत्कृष्ट टोल विकास संस्थालाई पनि सम्मान गरिएको थियो । 

हरियाली प्रबर्द्धन गरेको भन्दै नरिश्वर पौडेल, आयुर्वेद र योगाका महत्वपूर्ण अभियान सञ्चालन गरेको भन्दै योगाचार्य विष्णुहरि आचार्य, निर्माण व्यवसायी सहदेव खड्का, तल्लो देवीनगर टोलविकास संस्थाका दुर्गाप्रसाद श्रेष्ठ, एफ सेक्टर टोल विकास संस्थाका टेकबहादुर गुरुङ, नहरपुर माविका प्रअ धनिश्वर गौतम र नवरत्न माविका प्रधानाध्यापक हेमराज आचार्यलाई संस्थागत तथा व्यक्तिगत रुपमा सम्मान गरिएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप