बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भारतले ६ वटा विद्यालय बनाउँदै

बिहीबार, ०६ फागुन २०७७, १६ : ०९
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । भारत सरकारले ५१ करोड आठ लाखको लागतमा ६ वटा माध्यमिक विद्यालय निर्माण गर्ने भएको छ । त्यसका लागि नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय काठमाडौं जिल्लामा पर्छन् भने बाँकी दुईवटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा रहेका छन् ।  

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी. खम्पाद्वारा भूमि पूजन कार्यक्रम सम्पन्न भएको दूतावासले जनाएको छ । 

२६ करोड ६ लाख लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्डअनुरुप निर्माण हुनेछ । उक्त तीनतले भवनमा ३० वटा कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला÷अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ । यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ । केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ । 

शिक्षा, स्वास्थ्य, साँस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । त्यसका शिक्षा क्षेत्रका लागि मात्र ५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता जनाएको छ । यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ । 

गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन् । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हानसम्बन्धी कार्य पनि अघि बढाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप