बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कामदार उद्वारमा भ्रष्ट्राचार भएको भनिएपछि एनआरएनए आईसीसीद्वारा सुपरिवेक्षण समिति गठन

बिहीबार, ०६ फागुन २०७७, २१ : ४४
बिहीबार, ०६ फागुन २०७७

यूएई । कोभिड १९ का कारण यूएईमा समस्यामा परेका नेपाली कामदारहरुको उद्वार गर्न गैर आवासीय नेपाली संघ एनआरएनए एनसीसी यूएईले ५१ लाख रुपैयाँ भन्दा धेरै भुक्तानी लिएको छ। कोभिड- १९ को कारण यूएईमा कार्यरत नेपाली कामदारहरुलाई समस्या परेको भन्दै उक्त रकम एनआरएनए एनसीसी यूएईका अध्यक्ष प्रकाश कोइरलाले नेपालमा नै भुक्तानी लिएका हुन्। अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) ले दिएको रकम यूएईको कानुन विपरीत हुने भनेर कार्यसमितिले मौखिक निर्णय गरेपनि कोइरालाले एकल निर्णय गरि उक्त रकम लिएका थिए।

विशेष स्रोतका अनुशार अध्यक्ष कोइरलाले सत्तरी लाख रुपैयाँ भन्दा धेरै भक्तानी लिईसकेको बताइएको छ।रकम यूएईमा खर्च गर्ने तर भुक्तानी नेपालमा लिने गरि सम्झौता गरिएको हो। अध्यक्ष कोइरालाले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) बाट यूएई प्राप्त रकम भ्रष्टाचार गरेको भन्दै सर्वत्र आलोचना भए पछि गैर आबासीय नेपाली संघ (एनआरएनए) आईसीसीले सुपरिबेक्षण समिति गठन गरेको छ । 

संघका प्रबक्ता डिबी क्षेत्रीले एक विज्ञप्ति जारी गर्दै सचिब आरके शर्मा, कोषाध्यक्ष महेश श्रेष्ठ र महिला सँयोजक भोमा लिम्बु भएको ३ जनाको समिति गठन गरेको जानकारी गराए । समितिले बिभिन्न मुलुकहरुमा उपसमिति गठन गरी खर्चको अनुगमन गर्ने जनाएको छ । संघले उद्दार राहत कार्यमा उठेको टिका टिप्पणीप्रति संघ संबेदनशील रहेको जनाएको छ ।बिज्ञप्तिमा विभिन्न देशहरुबाट हालसम्म १६५ जनाले हावाइ टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा र ४५३ जनालाई कानूनी परामर्श सेवा प्रदान गरेको जनाईएको छ । 

गैर आवासीय नेपाली संघले अन्तराष्ट्रिय श्रम संगठन (आईएलो) को सहयोगमा यूएई लगायत मध्यपूर्वका अन्य मुलुकहरु र मलेशियामा कोरोनाका कारण समस्यामा परेका नेपाली कामदारहरुको सहयोग र उद्वारको लागि ५ करोड रकम सम्झौता गरेको थियो । जुन रकम मध्ये यूएईको लागि ८० हजार डलर अर्थात करिब तीन लाख दिर्हाम (९० लाख रुपैयाँ) छुट्ट्याईएको थियो ।

यसैबिच एनआरएन आईसीसीले हाल सम्म भएको खर्चको विवरण सार्वजनिक गरेको छ । जस अन्तर्गत सबै भन्दा बढी यूएईमा ५१ लाख खर्च भएको छ । त्यसैगरी साउदीमा साढे ४३ लाख, मलेसियामा २९ लाख र कतारमा साढे २६ लाख खर्च भएको देखिएको छ ।

हरेक देशका अध्यक्षहरुले मनोमानी ढंगले गरेको खर्चको विबरण बाहिर आउनु पर्ने माग  सर्वत्र उठेको छ । आईसीसीले कुनै कार्यबिधि नबनाइ एकजना अध्यक्षको भरमा जिम्मा लगाउनु आँफैमा गलत भएको आईसीसीका पदाधिकारीहरु समेत भनाइ छ ।

जसले गर्दा भ्रस्टाचार हुने सम्भावना पनि उत्तिकै छ जसको स्वतन्त्र छानबीन हुन् जरुरी छ । यस् बिषयमा मध्यपूर्ब सँयोजक प्रबिण गुरुङ र सहसंयोजक मनोज गोर्खालीले आफुहरुलाई बाईपास गरेको भन्दै आफ्नो कुनै सँलग्नता नरहेको बताईसकेका छन् । एनसीसी यूएईका सबै पदाधिकारीहरुले यस् कार्यको विरोध गरेका छन् ।


आईसीसीले जारी गरेको बिज्ञप्ति

प्रेस विज्ञप्ति

कोभिड १९ को महामारी पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार र सहयोगको काम जारी राखेको छ । विश्वका ५० भन्दा बढी देशमा रहेका नेपालीहरुलाई प्रत्यक्ष रुपमा सहयोग गर्दै आएको छ । संघले विदेशमा रहेका नेपालीहरुको सहयोगार्थ संयुक्त राष्ट्र संघका निकाय सम्म आफ्नो आवाजलाई बुलन्द गरेको थियो ।

सोही आवाजको कदर गर्दै मध्यपूर्वमा रहेका नेपाली श्रमिकहरुको उद्धारको लागि संघले सकृय रुपमा काम गर्दे आएको छ । कोरोना महामारीको चुनौतीकाबीच संघका सबै संयन्त्रहरु परिचालित गरिएका छन् । सोको जानकारी संघका पदाधिकारीहरुलाई वेलाबेलामा दिइएको छ ।

श्रमिकहरुको उद्धारका बिषयमा बिभिन्न व्यक्तिहरुबाट सामाजिक संजालमा आएका विभिन्न खाले कुरा प्रति संघको गम्भिर ध्यानाकर्षण भएको छ ।

राहात तथा उद्धारको लागि भएका खर्चहरु पारदर्शि होस भनेर सचिवालमा छुट्टै संयन्त्र राखिएको छ र जसको सुपरिवेक्षण गर्नका लागि अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्णय अनुसार सचिव आरके शर्मा, कोषाध्यक्ष महेश कुमार श्रेष्ठ र महिला संयोजक भोमा देवी लिम्बु भएको ३ जनाको समिति गठन गरिएको छ । उक्त समितिले प्रत्येक राष्ट्रिय समन्वय परिषदमा एक उपसमिति मार्फत अनुगमनको तयारी गरेको छ । साथै संघले यस कार्यक्रमको समग्र रुपमा स्वतन्त्र लेखापरीक्षण गराउने कार्यका लागि प्रक्रिया समेत अगाडि बढाईसकेको कुरा समेत सहर्ष जानकारी गराउँदछौं । विदेशमा रहेका नेपालीहरुको राहत तथा उद्धार प्रकृया अझै जारी रहेकाले सम्पूर्ण आर्थिक विवरणहरुको अभिलेख राख्नेक्रम जारी रहेको बेलामा आएका विभिन्न खाले टिकाटिप्णीहरु प्रति संघ संवेदनशील छ ।

राहत तथा उद्धारका क्रममा कुनै कमिकमजोरी भेटिएको र आर्थिक हिनामिनामा कुनै व्यक्ति संलग्न भएको देखिएमा कानून बमोजिम कारवाहीको प्रकृया अघि बढाइने छ । त्यसैले कुनै पनि भ्रममा नपरि संघले जारी राखेको उद्धार प्रकृयामा सहयोग गर्न आग्रह गर्दछौं ।

हाल सम्म मध्यपूर्वका बिभिन्न देशबाट १६५ जनाले हवाई टिकट सेवा, २४५ जनालाई पिसिआर सेवा, ४५३ जनालाई विभिन्न प्रकारका कानुनी परामर्श सेवा, २७१३ जनालाई गन्तब्य मुलुकहरुमा खाना तथा बासको ब्यवस्था, २४९ जनालाई पुनःरोजगारीमा फर्काउनका लागि आवश्यक सहयोग एवं समन्वय, ३४७९ जनालाई दुतावाससंग सम्बन्धित विभिन्न प्रकारका कागजी प्रक्रिया तथा अन्य आवश्यक कुराहरुमा समन्वयात्मक सहयोग पु(याईएको छ ।

साथै नेपालमा आईसकेपछि समेत अति आवश्यक भएका नेपाली श्रमिकहरु ९५७ जनालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आआफ्नो घर सम्म जानका लागि यातायात खर्च समेत सहयोग प्रदान गरिएको छ र प्रदेश १, २ र ७ का विभिन्न १४ वटा स्वास्थ्य संस्थाहरुका कोरोना क्वारेन्टिन सेन्टरहरुका लागि विभिन्न प्रकारका मेडिकल सामग्रीहरु समेत प्रदान गरिएको छ ।

साथै दातृसंस्थाको सहकार्यमा मलेशियाका जेलमा रहेका १७ जना र अन्य एक जना गरी १८ जना नेपाली कामदारहरुलाई नेपाल फर्काउन सकिएको छ । ती १८ जना ब्यक्तिहरु ज्यादै समस्यामा रहेका र धेरै बर्षदेखि मलेशियाका जेलमा समेत रहेको अवस्थामा एनआरएनएले सकुशल नेपाल फिर्ता गराएर परिवारको जिम्मा लगाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप