समाचार

घर बसेर ‘यो अपराधी हुनै सक्दैन’ भन्न त सजिलै छ नि : डिआईजी उत्तमराज सुवेदी

‘यो ‘सफलता’ प्रहरीको नियमित काम नै हो भनेर बुझ्नुपर्छ’

person explore access_timeफागुन ७, २०७७ chat_bubble_outline0

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख हुन् डिआईजी उत्तमराज सुवेदी । गत माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या भएपछि प्रदेश प्रहरी प्रमुख आफै अनुसन्धानका लागि फिल्डमा खटिए । शव भेटिएको पर्सिपल्ट अर्थात् माघ २४ गतेदेखि नै घटनास्थल नजिकैको खोचलेक प्रहरी चौकीमै बसेर अनुसन्धानमा खटिएका डिआइजी सुवेदी अनुसन्धान सकाएर १३ दिनपछि अर्थात् फागुन ६ गतेमात्रै प्रदेश प्रहरी कार्यालय धनगढी फर्किए । प्रस्तुत छ, डिआईजी उत्तमराज सुवेदीसँग भागरथी भट्टको बलात्कार र हत्यापछिको अनुसन्धानमा केन्द्रीत भएर गरिएको कुराकानीको सम्पादित अंश ।

भागरथी हत्या प्रकरणमा प्रहरीलाई एक तहको सफलता प्राप्त भएको छ । ठूलो भारी बिसाएको जस्तै भएको होला है ?

भारी बिसाएको भन्दा पनि यसलाई सन्तुष्टी मिलेको छ भनौँ । यताबाट जाँदा जसरी भारी मन लिएर गएको थिएँ, योजना बनाउँदै र चिन्ता गर्दै गएको थिएँ, म बैतडीबाट धनगढी फर्कँदै गर्दा शान्त भएर फर्कन सकेँ त्यो नै सबैभन्दा ठूलो खुशीको विषय हो । आज हल्का मन लिएर आउन पाएँ । पीडितलाई न्याय दिलाउने बाटोमा हामी सफल भयौँ भन्ने आत्मसन्तुष्टी प्राप्त भयो ।

आरोपितसम्म पुग्न कत्तिको कठिन भयो ?

घटनास्थलको प्रकृति हेर्दा त्यहाँ अपराधीले कुनै प्रमाण नछोड्नु, घटनास्थल एकान्त भएकाले कसैले नदेख्नु, र पानी परेकाले दसी–प्रमाण सङ्कलनमा पनि केही समस्या हुनुको कारण कठिन त थियो नै । त्यसबाहेक घटना भएको २४ घण्टाभन्दा पछि मात्रै शव भेटिनु यी सब कारणले गर्दा घटनाको अनुसन्धान चुनौतीपूर्ण छ भन्ने कुरा सूचना पाउनेबित्तिकै थाहा थियो । अनि यो एक्सिडेन्टल डेथ थिएन भन्ने बुझेपछि अपराधी पत्ता लगाउन केही समय लाग्न सक्छ भन्ने कुरामा म मानसिकरुपमा तयार थिएँ ।

घटना सुन्नेबित्तिकै अपराधीबारे दिमागमा कस्तो चित्र बनेको थियो ?

एकजना विद्यार्थी जो आफ्नो घर जाने बाटोको एकान्त स्थानमा मृत्युवरण गर्नु परेको छ, यस्तो कार्यमा कस्तो–कस्तो व्यक्ति संलग्न हुन सक्छ भन्दै खाकाहरु दिमागमा बनाएर त्यसबारे अनुसन्धान सुरु गर्नुपर्ने हुन्थ्यो । त्यस्ता अपराधमा अनुसन्धान गर्न र अपराधी पत्ता लगाउन को को सक्षम छ भनेर मैले मेरो प्रदेशका केही प्रहरी कर्मचारी र अधिकृतबारे जानकारी लिएर बाटोबाट नै त्यस्ता प्रहरी कर्मचारीलाई घटनास्थल बोलाएँ ।

त्यहाँ पुगेपछि घटनाको बारेमा ब्रिफिङ लिएँ र टीम परिचालन गरेँ । कमाण्ड सेन्टरमा म आफै तथा मेरो कमाण्ड टिम बस्यो भने अन्त फिल्डमा थप अनुसन्धान टीम खटायौँ र प्रत्येक दिन रिपोर्टिङ लियौँ ।

यो अपराधमा संलग्न हुन सक्नेमध्ये विद्यालयकै सहपाठी पनि हुनसक्ने विषयमा हामी पहिलेदेखि नै चनाखो थियौँ । यस्तो प्रवृत्तिको अपराधमा संलग्नमध्ये प्रेमी वा पूर्वप्रेमी, सहपाठी, सहकर्मी आदि भएको बिगतका अपराध र अनुसन्धानले पनि देखाएका छन् । त्यसकारण हामीले सँगै क्लासमा पढ्ने, सँगै आउने जाने वा विशेषसम्बन्ध भएका व्यक्तिहरुलाई क्लोज मनिटरिङ गरिरहेका थियौँ ।

म जाँदा त्यहाँ नाराजुलुस र आन्दोलन सुरु भइसकेको थियो । त्यस्तो भएमा प्रहरीलाई त्यतातिर खटाउनुपर्ने हुन्थ्यो, जसले अनुसन्धानलाई थप जटिल बनाउँथ्यो । त्यसकारण मैले स्थानीय बासिन्दा, राजनीतिक दलका अगुवा आदिसँग बसेर छलफल गरेँ र अपराधी पत्ता नलगाइ नफर्कने प्रतिबद्धता जनाउँदै आन्दोलन रोक्न आग्रह गरेँ । हामीले सबैभन्दा धेरै सुराक विद्यालयबाट पाउने भएकाले विद्यालय खोल्न पनि आग्रह गर्यौँ ।

त्यो बाहेक घटनाको प्रकृति हेर्दा घटना स्थानीय व्यक्तिबाटै भएको निष्कर्षमा हामी पुगिसकेका थियौँ । अनि अपराध समाजमै हुन्छ र अपराधी समाजमै छ, त्यसकारण हामीलाई सहयोग गर्नुहोस् भनेर आग्रह गर्यौँ ।

हामीले हाम्रो अनुसन्धान सुरु गर्यौँ । सुरुमा हामीले फराकियो घेरा बनाएर अनुसन्धान सुरु गर्यौँ र बिस्तारै क्लोज रिङ तयार पार्यौँ । हामी त्यसपछि डोर टु डोर भिजिटमा जान थाल्यौँ, कैयौँलाई सोधपुछ गर्न थाल्यौँ ।

अहिलेका जुन आरोपी छन्, उनी घटनाको तेस्रो दिनदेखि नै हाम्रो अनुसन्धानको दायरामा थिए । उसका केही फरक हर्कत, केही झुट र समयको ‘मिसम्याच’को कारण उनी हाम्रो शंकितमा थिए । तर एकैपटकमा उनलाई दोषी भन्न सक्ने आधार हामीसँग थिएन । उनलाई धेरैपटक केरकार गरेका छौँ । कैयनपटक बोलाएर उसको बुवासँगै फिर्ता पठाएका छौँ । कैयनपटक अनौपचारिक ढङ्गले ऊ सँगै हामी उसको घरतर्फ गएका छौँ, कुरा गरेका छौँ । हामीले कसैलाई ठूलो स्वर पनि नबोली अनुसन्धानलाई तार्किक निष्कर्षमा पुराउन सफल भयौँ ।

अनुसन्धानको सुरुवातमै अपराधी विद्यालयकै विद्यार्थी पनि हुन सक्छ भन्ने सोच्नुभएको थियो ?

यो अपराधमा संलग्न हुन सक्नेमध्ये विद्यालयकै सहपाठी पनि हुनसक्ने विषयमा हामी पहिलेदेखि नै चनाखो थियौँ । यस्तो प्रवृत्तिको अपराधमा संलग्नमध्ये प्रेमी वा पूर्वप्रेमी, सहपाठी, सहकर्मी आदि भएको बिगतका अपराध र अनुसन्धानले पनि देखाएका छन् । त्यसकारण हामीले सँगै क्लासमा पढ्ने, सँगै आउने जाने वा विशेषसम्बन्ध भएका व्यक्तिहरुलाई क्लोज मनिटरिङ गरिरहेका थियौँ ।

भागरथी घर जाँदा उक्त दिन भागरथीको नजिकै जाने व्यक्तिमा यी आरोपित पनि थिए र सोधपुछका क्रममा पनि केही शंकास्पद हर्कत र झुटहरु पाइएपछि हामीले उनलाई निगरानी गरिरहेका थियौँ । 

अनुसन्धानका लागि कति प्रहरी परिचालित थिए ?

अनुसन्धानमा खटिने प्रहरी कर्मचारीहरु सादा पोसाकमै रहनुपर्छ । किनभने बालबालिका र सर्वसाधरणले बर्दीमा रहेका प्रहरीसँग कुराकानी गर्न पनि अप्ठेरो मान्छन् । त्यही भएर कम्तिमा पनि ४० जना अनुसन्धान अधिकृतहरु सादा पोसाककै थिए ।

त्यसबाहेक त्यहाँ सुरक्षा चाहियो, त्यसका लागि प्रहरी थिए । १० जना बस्ने प्रहरी चौकीमा यति धेरै सङ्ख्यामा प्रहरी हुँदा त्यहाँ व्यवस्थापन गर्नुपर्ने थियो । त्यसका लागि पनि त्यहाँ थप प्रहरी चाहिन्थ्यो । त्यसकारण त्यहाँ बढी नै प्रहरी परिचालित थियो ।

पहाडी क्षेत्र भएकाले हाम्रा लागि ह्युमन रिसोर्स नै बढी महत्त्वपूर्ण भयो । तर यसो भन्दै गर्दा प्राविधिक विश्लेषणले शंका गर्नमा थप मद्दत पुराएकै थियो । तर पनि कुन कम र कुन बढी भन्नुहुन्छ भने यसपटक ह्युमन इन्टिलिजेन्स नै बढी महत्त्वपूर्ण रह्यो ।

अपराधीसम्म पुग्ने गतिलो आधारचाहिँ के पाउनुभयो र आरोपित पक्राउ पर्यो ?

अनुसन्धानको धेरै विषय त भन्न मिल्दैन । तर बलियो आधार भनेको घटना भएको समयमा आरोपी घटनास्थलकै वरिपरी भएको फिजिकल तथा टेक्निकल एनालाइसीस पाइयो, घटनापछि व्यवहारमा आएको परिवर्तन धेरै भएको, कुकुर आउने दिन ऊ घटनास्थल नआएर अन्तै गएको लगायतका केही आधार र प्रमाणले हामीमा ऊ प्रति धेरै शंका बढायो । त्यसबाहेक अहिले मैले भन्न नमिल्ने केही प्रमाण पनि पायौँ, त्यसकारण हामीलाई ऊ प्रतिको शंका झनै बढ्यो र हामी उसको नजिक पुग्यौँ । त्यसैकारण हामी अपराधीसम्म पुग्न सफल भयौँ ।

अनुसन्धानमा ह्युमन इन्टिलिजेन्स प्रमुख रह्यो कि टेक्निकल एनालाइसिस ?

पहाडी क्षेत्र भएकाले हाम्रा लागि ह्युमन रिसोर्स नै बढी महत्त्वपूर्ण भयो । तर यसो भन्दै गर्दा प्राविधिक विश्लेषणले शंका गर्नमा थप मद्दत पुराएकै थियो । तर पनि कुन कम र कुन बढी भन्नुहुन्छ भने यसपटक ह्युमन इन्टिलिजेन्स नै बढी महत्त्वपूर्ण रह्यो ।

संसारलाई हेरौँ न, १४ वर्षका केटोले एके ४७ चलाएर मान्छे मारेको उदाहरण छैन र ? भर्खरै बझाङको घटना पनि हेर्नुहोस् न, अभियुक्त अहिले पनि सुधारगृह मै छन् कि छैनन् ? देशैभरका सुधारगृहमा हेर्नुहोस् न यस्ता अपराधमा मुछिएका कति नाबालकहरु छन् ?

कतिपयले अहिले पनि त्यही व्यक्तिले यस्तो अपराध गर्यो होला र भन्दै शंका गरिरहेका छन्, किन होला ?

मान्छेलाई बोलिदिन, भनिदिन कसले छेक्छ र, फरक पर्छ र ? बोलेको, भनेको पैसा लाग्दैन क्यारे । यस्तो भनेबापत् कोही जिम्मेवार पनि बन्नुपर्दैन । अनि कसैले यस्तो कुरा भनिदियो भने नकारात्मक सोचमात्रै हुने व्यक्तिले तुरुन्तै ग्रहण गरिहाल्छ । व्यक्तिले सकारात्मक र नकारात्मक देख्ने हुन्छ । सकारात्मक देख्ने जिम्मेवार व्यक्तिले प्रहरीले गरेको अनुसन्धानलाई नजिकबाट हेरिरहेको हुन्छ र उसले बुझ्छ, नकारात्मक सोच्नेले त के के बोल्छ र भन्छ भनेर चिन्ता गरेर पनि के गर्नु ?

किनभने यस्तो घटना पहिलो हो र ? यस्ता घटना पहिले पनि भएकै हुन् । संसारलाई हेरौँ न, १४ वर्षका केटोले एके ४७ चलाएर मान्छे मारेको उदाहरण छैन र ? भर्खरै बझाङको घटना पनि हेर्नुहोस् न, अभियुक्त अहिले पनि सुधारगृह मै छन् कि छैनन् ? देशैभरका सुधारगृहमा हेर्नुहोस् न यस्ता अपराधमा मुछिएका कति नाबालकहरु छन् ? अनुसन्धानले अपराध देखाउने, व्यक्ति स्वयम्ले स्वीकार गरेको कुरामा पनि घरमा बसेर यो होइन भन्ने व्यक्तिहरु ओभर स्मार्ट र अजासु (अति जान्ने सुन्ने) मात्रै हुन् ।

यो घटना र निर्मला पन्त प्रकरणमा सार्वजनिक गरिएका व्यक्तिलाई जोडेर पनि हेर्न थालियो, तपाईँ त ढुक्क हुनुहुन्छ नि ?

कुनै अमुक घटनालाई लिएर सबैलाई एउटै तराजुमा राखेर हेर्न मिल्छ भन्ने मलाई लाग्दैन । त्यसो भए बझाङ घटनालाई पनि हेरे हुन्छ त । अपराधी अहिले पनि सुधारगृहमै छँदै छ, त्यसलाई पनि त उदाहरण मान्नु पर्यो नि ।

निर्मला प्रकरणमा भएको कमजोरी र अनुसन्धान प्रक्रियाको विषयलाई लिएर म पनि जिम्मेवारी लिन्छु । तर त्यो घटनामा प्रहरीमात्रै होइन, सबैले जिम्मेवारी लिनुपर्छ । स्थानीय जनता, राजनीतिकर्मी, पत्रकार, मिडिया सबैले यसको जिम्मेवारी लिनुपर्छ ।

सुरुवातमचाहिँ कत्तिको डर लागेको थियो ?

सुरुवातमा पक्कै डर थियो । देशैभरबाट अपराधी आजै चाहियो, भोलि नै चाहियो भन्ने माग थियो, त्यसले हामीलाई थप दबाव दिएकै थियो । गाउँघरमा मानिसहरु राम्रोसँग नखुलिदिनु, महिला, बालबालिका आदि हामीसँग बोल्न हिचकिचाउनुले सुरुवाती दिनमा केही कठिन भएको पक्कै हो । म आफै पनि धेरै जोखिम मोलेर घटनास्थल पुगेकै हो, करियर दाउमै राखेको हो । यसको सफलता र असफलतासँग म र मेरो सिङ्गो संगठनको इज्जतको सवाल थियो, त्यसकारण मैले जोखिम मोलेकै हो र अनुसन्धान नसकी फर्किन्न भनेको हो । तर पछि स्थानीयहरु बिस्तारै खुल्दै जानुभयो र हामीलाई सूचना दिन थाल्नुभयो । त्यसपछि हामीलाई काम गर्न केही सजिलो भयो । तैपनि यो प्रहरीको नियमित काम नै हो भनेर बुझ्नुपर्छ । 

अनुसन्धानको क्रममा नसुतेका रात पनि छन् कि ?

पक्कै पनि छ । केही नयाँ कुरा आउनासाथ त्यसको फलोअप गर्नुपर्यो, विश्लेषण गर्नुपर्यो । टोली फर्केर आएपछि त्यसको एनालाइसिस हुन्थ्यो । कतिपय दिनमा अनुसन्धान अधिकृतहरु रातको ११ बजेसम्म फिल्डमै हुन्थे । त्यसपछि आएको रिपोर्टलाई समीक्षा गर्दा गर्दा कहिलेकाहीँ रात बितेको पनि थाहा हुँदैनथ्यो । त्यतिबेला हामीलाई निद्राको परवाह नै हुँदैनथ्यो । नसुतेको रात पनि छन् । किनभने दिनभर काम गर्यो, बेलुका रिजल्ट जिरो हुँदा हामीलाई निद्रा पनि पर्दैनथ्यो ।

बैतडीमै पुराना केही ठूला अपराधका घटनाहरु लुकाइएको भन्ने छ, अब त्यो पनि अगाडि बढ्छ कि ?

हो, त्यहाँ ४ वटा ठूला अपराधका घटनाहरु रहेछन् । २ वटा अनुसन्धान भइसकेको तर प्रतिवादीहरु फरार भएको रहेछ भने २ वटा अनुसन्धान गर्नुपर्ने अवस्थाको रहेछ । ती सबै घटनाको तथ्याङ्कलाई हामीले सुक्ष्म अध्ययन गरेर म आँफैले पनि हेर्ने र त्यहीँका प्रहरीलाई अनुसन्धान गर्न पनि निर्देशन दिने काम गरेको छु । ६ गतेसम्म त हाम्रो सम्पूर्ण टिम यही काममा केन्द्रीत थियो । अब तत्कालै ती घटनामा पनि गहनरुपले अध्ययन र अनुसन्धान सुरु हुन्छ ।

मिडिया र राजनीतिक दलले घटनालाई ट्वीस्ट गर्देलान् कि भन्ने डर पनि थियो कि ?

सामाजिक सञ्जालको दुरुपयोगको डर मलाई एकदमै थियो । किनभने पहिलेका केही घटनाहरुमा पनि त्यस्तो देखिएकै हो । विशेषगरी निर्मला पन्त प्रकरणमा सामाजिक सञ्जाल, युटुब, र केही जिम्मेवार भनिएका मिडियाका कारण पनि अनुसन्धान केही ट्वीस्ट भएको थियो । त्यो विषयमा हामी सचेत थियौँ र पहिलो दिनदेखिनै हामी गलत समाचार बाहिर नजाओस् र भ्रम नफैलियोस् भन्नेमा चिन्तित रह्यौँ । हाम्रै भनाइ लिने र त्यो विषयलाई अर्कै प्रकारको टाइटल दिएर अतिरञ्जित बनाउने, विषय नै तोडमोड गरेर प्रसारण तथा प्रकाशन गर्ने सम्बन्धमा हामी सुरुवातदेखिनै सचेत थियौँ । निर्मला पन्त प्रकरणमा जस्तो युटुबहरुले जे पायो त्यही टाइटल दिएर लेख्ने र अतिरञ्जना गरेर भ्रम छर्ने काम सायद यो प्रकरणमा त्यति भएन होला । एकाध युटुबमा त्यस्ता विषय पनि आए, तर यसपटक पहिलेजस्तो न्युनतम आचारसंहिता नै बिर्सिए भन्ने मलाई लाग्दैन ।

म केन्द्रीय प्रवक्ता हुँदाको केही आफ्नै तितो अनुभव पनि छ । पत्रकारको कार्ड लिएर आएपछि बोलिदिनु नै पर्यो । तर मैले बोलेको कुरा एउटा हुन्छ, टाइटलचाहिँ अराजक राखेर अतिरञ्जना गरेका धेरै युटुब भिडियोहरु अहिले पनि पाउनुहुन्छ । त्यही भएर यसपटक म आफैले अनुरोध गरेर अनावश्यक मिडियाबाजी र दुरुपयोग हुन नदिएकै हो । तर पनि अलिअलि त पक्कै भयो होला । हामी काम गर्दै हुन्छौँ, मोबाइल र क्यामेराले खिचेर जे पायो त्यही हाल्न नदिएकोचाहिँ साँचो हो ।

भागरथी हत्याकाण्डको सफल अनुसन्धानले निर्मला पन्त प्रकरणमा थप अनुसन्धान गर्न हौसला थपेको छ ?

यो अनुसन्धानले म केही उत्साहित छु । प्रहरी अधिकृतका लागि अनुसन्धान भनेको ‘लर्निङ बाई डुइङ’ पनि हो । जति काम गर्यो, त्यति नै नयाँ नयाँ सोच आउँछ, आफ्नो क्षमता अभिवृद्धि हुँदै जान्छ । त्यसले गर्दा अहिलेको घटना र निर्मला पन्त प्रकरण पनि उस्तै उस्तै भएकाले यो घटनाको सफल अनुसन्धानपछि उत्साह थप बढेको छ । हामीले निर्मला प्रकरणको सफल अनुसन्धान हुन नसकेकोबाट केही पाठ सिकेका थियौँ र त्यो कमजोरी यहाँ हुन दिएनौँ । अब यहाँ सिकेको अनुसन्धान पनि निर्मला प्रकरणको अनुसन्धानमा जोड्न सक्छौँ ।

तपाईंहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने सूचना बिना कुनै पनि प्रहरीले अनुसन्धान गर्न सक्दैन । किनभने प्रहरीसँग जादुको छडी हुँदैन र जबसम्म स्थानीयले सुचना दिनुहुन्न, तबसम्म हामीलाई पनि अनुसन्धान गर्न गाह्रो पर्छ । त्यसकारण पनि म आग्रह गर्छु निर्मला प्रकरणमा थप अनुसन्धानका लागि स्थानीयले सहयोग गर्नैपर्छ । आफूलाई लागेको कुरा प्रहरीसमक्ष भनिदिनुपर्छ । सूचना गलत पनि होलन्, तर त्यो सुूचना दिनुपर्छ । म सबैलाई आग्रह गर्छु तपाईंसँग जे सुचना छ, दिनुहोस् हामी त्यसलाई सुक्ष्म विश्लेषण गर्छौँ । यो अनुसन्धानले हामीलाई थप उर्जा दिएको छ, हामी निर्मला प्रकरणको अनुसन्धानलाई फेरि तीब्रता दिन्छौँ ।

 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।