बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लन्डनका सालिन अभियन्ता कृष्ण तिमल्सेना

शनिबार, ०८ फागुन २०७७, १० : १६
शनिबार, ०८ फागुन २०७७

लन्डन । १६ वर्षमा एसएलसी पास गरेपछि कृष्ण तिमल्सेना विदेश जाने रहरले भौंतारिन थाले । नेपालमा अवसर कम र निराशा बढी थियो ।  वि.सं. २०४९ तिरको कुरा हाे- उनकै भनाइमा भन्ने हाे भने उनी 'एउटा गान्धी नोट, तीनवटा गैंडा र नागरिकता बोकेर' भारत प्रस्थान गरे । दिल्लीमा बुबालाई भेट्न जान धादिङको धुवाँकोटदेखि सुनौलीसम्मको भाडा तीन सयको नोट (तीनवटा गैंडा) र सुनौलीबाट दिल्लीसम्मको भाडा पाँच सय भारु (गान्धी नोट) हातमा थमाएर आमाले भारत पठाएकी थिइन्, तिमल्सेनालाई ।

जापान जाने सपना उमेर सानै भएका कारण बीचमै तुहियो र तिमल्सेनाले भारत आफ्नो वैदेशिक गन्तव्य बनाए । भारतमा काम गर्दै गर्दा होटल म्यानेजमेन्ट एण्ड टुरिजमको अध्ययन पूरा गरेर कुवेत भासिए उनी । झन्डै ६ वर्ष कुवेत बसाइपछि आफन्तको मार्गदर्शन र सहयोगमा सन् २००१ मा वर्क परमिट मिलाएर बेलायत आए कृष्ण ।

डेढ दशकभन्दा बढी समयदेखि लन्डन कर्मथलो बनाउँदै आएका उनै तिमल्सेनाको अहिले परिचय अनेक छन् । एक सफल व्यवसायी, समाजसेवी, एनआरएन युरोप क्षेत्रका उपसंयोजक, अनुभवी सेफ आदि इत्यादिको परिचय तिमल्सेनाको साथमा छ । मानिस सबैलाई सफलताको शिखर चुम्ने सपना हुने भएपनि थुप्रै आरोह अवरोह आइलाग्छ । तिमल्सेनाले पनि त्यो संघर्ष नभोगेका होइनन् । तर, धर्म-कर्ममा उत्तिकै विश्वास गर्ने तिमल्सेना लन्डन उत्रेदेखि कहिल्यै पछाडि फर्कनु परेन ।

जीवनमा आफूलाई भाग्यले प्रशस्तै साथ दिएको बताउँछन् उनी । बेलायत आएपछि सेफको काम त छँदैछ, आफ्नै व्यवसायमा संलग्न हुंदै समाजसेवा 
अंगालेका तिमल्सेनाको सालिनता, इमान्दारी, मिहिनेत, सकारात्मक सोच र सह्दयी भावनाले जीवनमा सफलता चुम्न सके ।

उनका जीवनका भोगाई, उतारचढावल, मिहिनेत, र 
धैर्यता धेरैलाई प्रेरणाका श्रोत हुन सक्छन् । सफलता पाउन संघर्ष अवष्य गर्नुपर्छ । यदि संघर्षबाट टाढिन खोज्ने हो भने सफलता कहिल्यै हासिल नहुने उनको अनुभव छ ।

'काम र जिम्मेवारीलाई पहिलो प्राथमिकता दिनुपर्छ, समय त सबैले पाउने उही हो', तिमल्सेना भन्छन्, 'समय मूल्यवान छ, त्यसलाई कसरी सदुपयोग गर्ने भन्ने ख्याल गर्न सक्नु नै वुद्धिमता हो । आफूलाई इमान्दारीपूर्वक परिवर्तन गराउन सक्नु पनि अर्को महत्वपूर्ण पक्ष हो ।'

संघर्षबाट हारेर होइन, संघर्षलाई जितेर अगाडि बढ्ने हो भने सफलता मिल्ने बताउँछन् उनी । तिमल्सेनाकै सूत्र मान्ने हो भने धैर्यता र सहनशीलता कायम राख्न सके सफलता हाम्रै वरिपरी छ ।

हाल बेलायतमा लाखौं नेपाली छन् । सबैका आ-आफ्नै
संघर्षका कथा छन् । कसैको जीवनयापन लोभलाग्दो छ, कसैको निरस । कोही उदार दिलका छन्, कोही कठोर पनि । एकथरी अरुलाई दिए आफ्नो झन् फलिफाप हुन्छ भन्ने सोच राख्छन्, अर्कोथरी आफ्नो कमाइ आफैं सदुपयोग गर्ने हो, दिने त जमानै छैन् भन्छन् ।

कृष्ण तिमल्सेनाको सोच यहींनेर पृथक छ । आफ्नो लागि मात्र बाँच्ने कि परिवार आफन्तजन, समाज अनि देशका लागि पनि बाँच्ने त्यो नितान्त फरक र व्यक्तिगत विषय भएको तिमल्सेना बताउँछन् । लाखौंको संख्यामा बेलायतमा रहेका नेपालीमध्ये आफू मात्र नभएर अरुले पनि बाँच्न पाउनुपर्छ र अरुलाई पनि बचाउनुपर्छ भन्ने मान्यता बोकेका व्यक्तिहरु एकदमै न्यून रहेको उनको बुझाइ छ ।

बेलायत आएपछि तिमल्सेनाले आफ्नो लागि मात्र संघर्ष गरेनन्, अरुका लागि पनि उत्तिकै संघर्ष गरे । चाहे यहाँको स्थानीय बेलायती समाजका लागि होस्, चाहे स्वदेशमा आपतविपत आइलाग्दा । निरन्तर सहयोगको भावनाका साथ अघि बढे उनी । अरुलाई सहयोग गर्न र दुःखमा साथ दिन कहिल्यै भागेनन् कृष्ण । ज्ञान र वुद्धि जस्तै धन सम्पति पनि आफूमा मात्र सिमित नराखी अरुलाई जति बाँड्यो उति फैलिने उनको धारणा छ । सानो ठूलो नभनि भेदभावरहित समान सह-अस्तित्व उनले अनुशरण गरेका मन्त्र छन् । सरल सालिन स्वभाव, सहयोगी र इमान्दारीताका कारण नै बेलायती समाजमा लोकप्रिय छन् तिमल्सेना ।

तिमल्सेनाले नेपाल, भारत वा बेलायतका कयौं नेपालीलाई वर्क परमिट दिलाएर 'सेटल्ड' गराइदिए । बेलायतमा सञ्चालित नेपाली रेष्टुरेन्ट र ती रेष्टुरेन्टमा काम गर्ने सेफहरुलाई एकताको सूत्रमा बाँध्न तिमल्सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरे । उनले सन् २०१२ मा बेलायतका सेफहरुलाई एक बनाउने उद्देश्यले 'नेप्लिज सेफ एसोसिएशन यूके' गठन गरे र यहाँ रहेका समस्त रेष्टुरेन्ट व्यवसायी तथा यसमा काम 
गर्ने सेफलाई थप उर्जा थप्ने प्रयत्न गरे । नेपाली खाना विदेशीमाझ चिनाउन र नेपाली रेष्टुरेन्ट व्यवसायलाई सफलता दिलाउन एसोसिएशनको तर्फबाट निकै ठूलो योगदान भयो जसको श्रेय तिमल्सेनालाई जान्छ ।

नेप्लिज सेफ एसोसिएशन यूकेका संस्थापक अध्यक्ष उनी बेलायतमा नेपाली खानालाई अन्तर्राष्ट्रियकरण गर्न अहोरात्र खटिए । नेप्लिज सेफ एसोसिएसनको एक च्यारिटी कार्यक्रममा बेलायतका लागि निवर्तमान नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले उनको खुलेर प्रशंसा 
गर्दै सम्मानस्वरूप दोसल्ला नै ओढाएका थिए । तिमल्सेना नेपाली समाजका एक आदर्श भएका र उनी जस्ता व्यक्तित्वबाट अरुले पनि प्रेरणा लिन सक्नुपर्ने राजदूतको धारणा थियो ।

गैर आवासीय नेपाली संघमा सन् २००७ देखि साधारण सदस्यका रुपमा प्रवेश गरेका तिमल्सेना अहिले एनआरएनए युरोप क्षेत्रका उपसंयोजक छन् । यसबीचमा उनले कार्यसमिति सदस्य हुँदै एनआरएनए यूकेको उपाध्यक्षको समेत जिम्मेवारी सम्हाले । गैर आवासीय नेपाली संघलाई विश्वभरका नेपालीको साझा संगठनको रुपमा अघि बढाउन र विदेशमा रहेका नेपालीबाट स्वदेशमा लगानी गर्ने अवसर जुटाउन पहल गर्नुपर्ने उनको धारणा छ । नेपालमा हाइड्रो क्षेत्रमा धेरै पैसा खन्याएका उनी अन्य नेपालीलाई पनि स्वदेशको समृद्धि र आफ्नो व्यवसायिक लाभका लागि लगानी गर्न उक्साउंछन् ।

विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसले मानिसलाई थप संवेदनशील बनाएको छ भने आफू र आफ्ना परिवारलाई चिन्ने मौका दिएको उनी बताउँछन् । भविष्यको सपनामा वर्तमानलाई लत्याउँदै अघि बढ्ने होडबाजी र प्रतिस्पर्धाबाट पछिल्तिर पनि फर्किएर हेर्न सिकाएको छ । हरेक दिन दौडधुपमै व्यस्त रहने दिनचर्या अहिले कोरोनाका करण कलडाउनले वर्षौंपछि आराम दिलाएको उनको अनुभव छ ।  महामारीले आफ्नो देशको महत्व थप बुझाइदिने काम गरेको छ ।

जे जस्तै अवस्था र समस्या भएपनि आफ्नै देशमा, आफ्नै घरपरिवारसँग रहन पाए हुन्थ्यो भन्ने भावना धेरैमा पलाएको छ । स्वदेश तथा विदेशमा ज्यान गुमाउनुपरेको पीडा र बेरोजगारीको समस्याले थप संकट थपेको छ भने स्वदेशमै केहि गरौँ भन्ने धेरैको चाहना पनि बढेको छ । विदेशमा अर्काको लागि गरेको दुःख सम्झिएर आफ्नै देश, आफ्नै माटोमा परिश्रम गर्न सक्यो भने आफ्नो मात्र मात्र होइन्, सिंगो देशकै मुहार फेरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप