शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीको ‘निशाना’ सूची बढ्दै : थपिए झाँक्रीदेखि उपराष्ट्रपति पुनसम्म !

आइतबार, ०९ फागुन २०७७, १२ : ५०
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि अर्थात् पुस ५ पछि प्रायः आफ्ना भाषणहरुमा प्रचण्ड, माधवकुमार नेपाल लगायत नेकपाका विभिन्न नेताहरुको चर्को आलोचना गर्ने र व्यक्तिगत लाञ्छना लगाएर समय खर्चिने गरेका प्रधानमन्त्री केपी शर्माले निशानाको सूची लम्ब्याएका छन् ।

प्रधानमन्त्री ओलीले शनिबारसम्म आइपुग्दा त्यो सूचीमा नेकपा नेतृ रामकुमारी झाँक्री र उपराष्ट्रपति नन्दबहादुर पुनको नामसमेत थपेर आफूले आलोचना गर्ने व्यक्तिको संख्या बढाएका हुन् ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले आफूलाई मन नपरेका नेताहरुलाई होच्याउन छुद्र टिप्पणी गर्दै आएका छन् । यस क्रममा उनले नेताहरुलाई केटो, धामी, झाँक्री बैद्य, लगायतका उपमा जोडेर निशाना बनाउने गरेका छन् ।

शनिबार प्रदेश १ को विराटनगरमा आफुपक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनलाई ‘सत्य’ साबित गर्ने क्रममा संघीय सांसदसमेत रहेकी तथा कुनै बेलाकी आफ्नै कार्यकर्ता र चर्चित विद्यार्थी नेतृ रामकुमारी झाँक्रीदेखि नेकपा अध्यक्ष प्रचण्ड, सभामुख अग्निप्रसाद सापकोटा हुँदै उपराष्ट्रपति नन्दबहादुर पुन समेतको चर्को आलोचना गरे । प्रधानमन्त्री ओली त्यतिमा मात्रै रोकिएनन्, उनले सर्वोच्च अदालतमाथि पनि धम्कीको भाषा प्रयोग गरे ।

अदालतलाई धम्की

प्रधानमन्त्री ओलीले झाँक्री, प्रचण्ड, सापकोटा र पुनपछि सर्वोच्च अदालतलाई समेत चेतावनीको शैलीमा आफ्नो पक्षमा भएका देशभरका सभा र भीडलाई हेरेर विश्लेषण गरेको हुनुपर्ने भन्दैै प्रतिनिधिसभा विघटनबारे आफ्नो पक्षमा फैसला आउनुपर्ने आशय व्यक्त गरे ।

प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालत फैसला सुनाउने चरणमा पुगेका बेला प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनर्स्थापना भए आन्दोलन गर्ने धम्की नै दिए ।

‘यदि कुनै प्रकारको जालझेल, षड्यन्त्र, तिकडम केही भएर देश र जनताको विपक्षमा फैसला हुन्छ भने हाम्रो आन्दोलन फेरि पनि अगाडि बढ्छ । फेरि पनि हामी त्यस्ता शक्तिलाई पराजित गर्छौं’, ओलीको भनाइ थियो ।

प्रचण्डसँग जोडे वैद्य, डाक्टर र झाँक्रीको प्रसङ्ग

प्रधानमन्त्री ओलीले नेकपाको प्रचण्ड–माधव पक्षले केही दिनअघि काठमाडौंमा गरेको सभाभन्दा आफ्नो पक्षले विराटनगरमा गरेकोसभा ठुलो भएको र जनता कसको पक्षमा छन् भन्ने देखिएको दावी गरे ।

सोही क्रममा प्रचण्ड–माधवलाई आफ्नो सभा हेर्न निम्ता गरेका ओलीले भने, ‘म उहाँहरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु । यता आएर हेर्नुस् । यो चौरीमा मान्छे अट्नुभएको छैन । आजको सभा कत्रो छ भने ड्रोेनहरुले पनि खिच्न सकेको छैन, माथि चन्द्रमाले मात्रै देखेको छ ।’

प्रचण्डप्रति आफुलाई माया लाग्ने भन्दै ओलीले ‘प्रचण्ड कुनै बेला बैद्य, त्यसपछि डाक्टर र अहिले झाँक्रीको साथमा हिँडेको’ आरोप लगाए ।

झाँक्री तिनै नेतृ हुन् जो प्रतिनिधिसभा विघटनको विरोधमा सडकमा छिन् । उनलाई केही दिनअघि प्रहरीले पक्राउ गर्न खोज्दा उनका हजारौं समर्थकले विरोध गरेपछि केही घण्टा नियन्त्रणमा लिएर उनलाई छाड्न सरकार बाध्य भएको थियो ।

प्रचण्डलाई लक्षित गर्दै सभामा प्रधानमन्त्री ओलीले भने, ‘उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोड्नु भो त्यसपछि डाक्टरसँग हुनुभयो । डाक्टरले पनि छाडे, त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ । तर अब झाक्रीले उहाँलाई बचाउन सक्दैन ।’

प्रचण्डले राजनीतिमा सफलता पाउन नसक्ने बताएका ओलीले आफैले उनलाई ठुलो जुरो र अलिकति सिङ हालिदिएको तर त्यसपछि प्रचण्डमा अहंकार थपिएको दावी गरे ।

सभामुख र उपराष्ट्रपतिमाथि किन खनिए ओली ?

प्रधानमन्त्री ओलीले आफ्नो पदीय मर्यादाभन्दा बाहिर गएर उपराष्ट्रपति र सभामुखविरुद्ध समेत सार्वजनिक रूपमा आलोचना गर्न भ्याएका छन् ।

‘उपराष्ट्रपतिजी सरकारकाविरुद्ध भाषण गरेर हिँड्नुभएको छ । म उहाँलाई भन्न चाहन्छु– उहाँको पदले भाषण गरेर हिँड्ने, सरकारको विरोध गरेर हिँड्ने अनि संविधान मिचियो अथवा प्रजातन्त्र मासियो, प्रतिनिधिसभा विघटन गरेर बेठिक भयो, चुनाव गर्न पाइँदैन भन्न मिल्छ ? उहाँ त चुनाव नगर्ने पृष्ठभूमिबाट आउनुभएको हो । अब त कमसे कम चुनावतिर आउनुस्’, ओलीको भनाइ थियो ।

केही दिनअघि पत्रकार महासंघको कार्यक्रममा उपराष्ट्रपति पुनले प्रतिनिधिसभा विघटनप्रति असन्तुष्टि जनाएका थिए । सोही अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिमाथि निशाना साँधेका हुन् ।

प्रधानमन्त्री ओलीले उपराष्ट्रपतिलाई मात्रै अर्ति उपदेशमात्रै दिएनन्, सभामुख सापकोटालाई त ‘झगडिया’ नै भने ।

‘सरकारविरोधी झगडिया हो सभामुख ? सभामुखले झगडिया हुन सुहाउँछ ? सभामुख चुनेको झगडिया हुनका लागि हो ? तर, उहाँ झगडिया हुन जानुभएको छ । उहाँले कीर्ते सनाखत गर्नुभएको छ । भन्न पनि लाज लाग्ने कुरा, सभामुखजस्तो पदको मान्छेले कीर्ते सनाखत गर्छ ? साढे तीन बजे दर्ता गर्न लागेको कुरालाई १०ः४० मा ल्याएका थिए भने भनेर सनाखत गर्नुजस्तो लज्जास्पद कुरा के हुन्छ सभामुखजस्तो पदका लागि ?’ ओलीले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीका पछिल्ला कदमलाई साथ दिन छोडेपछि उनी सभामुखविरुद्धको टिप्पणी तथा आलोचनामा उत्रिएका हुन् ।

सत्य बोल्दा ओलीको निशाना

संविधानमै नभएको अधिकार आफुलाई छ भन्दै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए । तर, उनको यो कदमपछि मुलुककै राजनीति दुई धु्रवमा विभाजित छ । ठुलो संख्यामा रहेको जनसंख्या, राजनीतिक पार्टी लगायत विभिन्न संघ संस्थाले प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै विरोध गरिरहेका छन् । आफ्नो कदमको विरोध गर्नेहरुलाई ओलीले पनि छानीछानी जवाफ फर्काउने गरेका छन् ।

उनले सर्वोच्च अदालतदेखि निर्वाचन आयोगसम्मलाई प्रभावित पार्ने गरी चेतावनीको शैलीमा धम्की दिने गरेका कयौं उदाहरण छन् । पार्टीभित्रको विवाद मिलाउन नसकेर प्रतिनिधिसभा विघटन गरेका ओलीले आफ्नो विपक्षमा जनमत बढ्दै गएपछि आफुलाई सही साबित गर्न कसैलाई गालीगलौज त कसैलाई धाकधम्की देखाइरहेका छन् । उनको यो प्रवृत्तिलाई विश्लेषकहरुले प्रमुख मुद्दाबाट विषयलाई अन्तै मोड्ने प्रयत्नका रुपमा बुझेका छन् ।

विश्लेषक भन्छन्– मुद्दालाई डाइभर्ट गर्ने मेसो

प्रधानमन्त्री ओली व्यक्तिगत टिप्पणी गर्न रमाउनुमा दुईवटा कारण रहेको राजनीतिक विश्लेषक डा. खगेन्द्र प्रसाईं बताउँछन् । पहिलो, त्यस्तो टिप्पणी गर्दा ताली पिट्ने, हाँसिदिने, रमाउने र त्यसको प्रचार गरिदिने जमात रहेका कारण यस प्रकारको प्रवृत्ति बढेको उनको भनाइ छ ।

‘त्यो जमातले हाँस्न वा ताली पिट्न छोड्यो भने त्यसपछि उहाँ त्यस्तो टिप्पणी गर्न छोड्नुहुन्छ’, विश्लेषक प्रसाईं भन्छन् । त्यस्तो टिप्पणी व्यक्तिको विशेषताबाट मात्रै उत्पत्ति नहुने उनको भनाइ छ ।

त्यस्तै, दोस्रो कारणमा सैद्धान्तिक कुरा गरेर समाज, राष्ट्रलाई भिजन देखाएर अघि बढ्ने ठाउँमा कमजोर भएपछि राजनीतिक गेमका लागि त्यस्ता टिप्पणी र अभिव्यक्तिहरु आउने प्रसाईंको भनाइ छ ।

प्रसाईंले अन्य देशका प्रधानमन्त्री वा राष्ट्रपतिहरुले पनि सार्वजनिक कार्यक्रमहरुमा त्यसरी व्यक्तिगत टिप्पणीमा आफ्नो समय खर्चिने गरेको बताए । अमेरिका, वेलायत वा भारतमा समेत त्यस्तो प्रवृत्ति बढेको उनको भनाइ छ । त्यस्तो किन भइरहेको छ भन्ने प्रश्नमा उनले भने, ‘अब यस्तो लिवरल सिद्धान्तको प्रचार गरेर तपाईंले भोट माग्न सक्नुहुन्न । विरोध पनि गर्न सक्नुहुन्न । किनभने वरिपरि पूँजीपति वर्ग छ । त्यसैले मुद्दा र सिद्धान्तबाट मानिसलाई बाहिर निकाल्न यस्ता टिप्पणीहरु बढी गर्नुप-यो । ओलीले पनि गरेको त्यही हो ।’

प्रधानमन्त्री ओलीले आफुले गरेको प्रतिनिधिसभा विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गर्न नसकेपछि व्यक्तिका बारेमा बोल्ने गरेको प्रसाईंको टिप्पणी छ ।

‘प्रधानमन्त्रीले आफुले गरेको संसद विघटनको सैद्धान्तिक, नैतिक र संवैधानिक ढंगले डिफेन्स गरे त राम्रो हुन्छ नि । चाहेको पनि त्यही हो, उहाँ ठिक कि बेठिक भन्ने त पछि फैसला हुँदै जान्छ तर, उहाँले त्यो बाटो रोजेको देखिँदैन’, उनले भने ।

‘प्रधानमन्त्री नै कुसंस्कारी’

अर्का विश्लेषक पुरञ्जन आचार्यले यस्ता हलुका टिप्पणी गर्ने प्रधानमन्त्री ओलीको आदत नै भएको बताए । यसले प्रधानमन्त्री ओली संस्कारी नभएको पुष्टि हुने उनको भनाइ छ ।

‘हुन त उच्च पदमा बसेको मानिसले यस्ता टिप्पणीहरु गर्नुहुँदैन भनेर सहयोगीहरुले सम्झाउने काम गरेकै होलान् । उनको त्यो आदतबाट के बुझिन्छ भने उनी संस्कारी छैनन्’, आचार्यले भने, ‘उनले समकक्षीहरुसँगको कुण्ठालाई राजनीति र राजकाजमा ल्याएर जोडे । त्यो कस्तो कुण्ठा हो ? के हो ? त्यसबारेमा कम्युनिस्ट आन्दोलनकै चिरफार गर्नुपर्छ ।’

ओलीले प्रधानमन्त्री भएपछिमात्रै होइन, आफू प्रधानमन्त्री नभएका बेलामा पनि आफ्ना साथीभाइ र इष्टमित्रलाई अपमानित गर्ने, अनेक टिप्पणी गर्ने गरेको उनले सुनाए ।

‘यस्ता टिप्पणी अत्यन्तै अशोभनीय, अमर्यादित र असन्तुलित  दिमागको उपज हो । प्रधानमन्त्रीले नै यस्ता टिप्पणीहरु गर्न थालेपछि समाज कुन बाटोमा जान्छ ?’ तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका सल्लाहकारसमेत रहेका आचार्यको भनाइ छ ।

आचार्यका अनुसार नेपाली राजनीतिक इतिहासमा नेताहरुबीच कलह र शक्ति संघर्षका उदाहरण प्रशस्तै देखिए पनि ओलीले झैं कुनै पनि नेताले कसैमाथि व्यक्तिगत टिप्पणी र आलोचना नगरेको दावी गरे । उदाहरण दिँदै उनले भने, ‘बिपी कोइराला र गणेशमान, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवा, शेरबहादुर देउवा र सुशील कोइराला लगायतबीच शक्ति संघर्ष चुलिएका समयमा समेत ओलीको शैलीमा कसैले पनि कसैमाथि व्यक्तिगत लाञ्छना र टिप्पणी गरेको पाइँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप