बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रतिरोधी क्षमता विकसित गर्ने ८ प्राकृतिक तरिका, जीवनशैलीमा गर्नुहोस् यस्ता परिवर्तन

आइतबार, ०९ फागुन २०७७, १६ : ५२
आइतबार, ०९ फागुन २०७७

कुनै पनि प्रकारको रोगबाट लड्नका लागि प्रतिरोधि क्षमता बलियो हुन आवश्यक छ । प्रतिरोधि क्षमता बढाउनका लागि खाना र जीवनशैली दुबै सही हुनुपर्छ । शरीरलाई कसरी प्राकृतिक तरिकाले बलियो बनाउन सकिन्छ भन्ने बारे यहाँ जानकारी लिऔं ।

निद्रा पूरा गर्नुहोस्ः

निद्रा र प्रतिरोधि क्षमताबीच निकै गहिरो नाता छ । पर्याप्त वा मिठो निद्राले विभिन्न प्रकारको रोगबाट जोगाउने गर्छ । एक शोधका अनुसार ६ घण्टाभन्दा कम सुत्ने व्यक्तिहरुलाई रुघा–खोकी हुने सम्भावना बढी रहन्छ । स्वस्थ रहनका लागि कम्तिमा ८ घण्टाको निद्रा पूरा गर्नुपर्छ । राम्रो तरिकाले निदाउँदा शरीरमा प्राकृतिक तरिकाले प्रतिरोधि क्षमता विकास हुन्छ । तपाईं बिरामी भएका बेला आराम गर्दा प्रतिरोधि क्षमताले रोगबाट राम्रो तरिकाले लड्न सक्छ । यदि तपाईं छिटो निदाउन चाहनुहुन्छ भने सुत्नुभन्दा एक घण्टाअघि फोन, टिभी वा कम्प्युटर हेर्न बन्द गर्नुहोस् ।

‘प्लान्ट फुड्स’ बढी खानुहोस्ः

फलफूल, सागसब्जी, नट्सलगायतका तत्वमा एन्टीअक्सिडेन्ट भरपुर मात्रामा हुन्छ । यी शरीरमा फ्रि रेडिकल्सबाट लड्छन् जसका कारण कोसिका सुरक्षित रहन्छ । प्लान्ट फूड्समा पाइने फाइबरले आन्द्रामा राम्रो ब्याक्टेरिया बढाउने गर्छ । यसले प्रतिरोधि क्षमता बढाउँछ र हानिकारक किटाणु पाचन तन्त्रमार्फत् शरीरमा प्रवेश गर्न पाउँदैन । यसमा पाइने भिटामिन सीले साधारण रुघा–खोकी चाँडै निको पार्ने गर्छ ।

चिनीको सेवन कमै गर्नुहोस्ः

विभिन्न अनुसन्धानबाट पत्ता लागेअनुसार अतिरिक्त चिनी र रिफाइन्ड कार्ब्सले मोटोपनालाई बढाउँछ । मोटोपना थुप्रै रोगको जड हो । तौल बढ्नुका साथै मुटुको रोग र मधुमेहको खतरा पनि बढ्ने गर्छ । यी दुबैले प्रतिरोधी क्षमता कमजोर बनाउँछ । चिनी सेवनमा कटौती गर्दा तपाईंको तौल पनि नियन्त्रणमा रहन्छ र तपाईंको प्रतिरोधि क्षमता पनि बढ्न थाल्छ । दिनभरीमा २ चम्चा (२ ग्राम) भन्दा बढी चिनीको सेवन नगर्नुहोस् ।

हाइड्रेटेड रहनुहोस्ः

शरीरलाई पूर्ण रुपमा स्वस्थ राख्नका लागि हाइड्रेटेड रहन आवश्यक छ । पानीको कमीको असर पाचन तन्त्र, मुटु र मृगौलाको कार्यक्षमतामा पनि पर्छ । यसका कारण बिरामी हुने खतरा बढ्ने गर्छ । यसबाट बच्नका लागि लिक्विड डाइट बढाउनुहोस् । बजारमा पाइने जूस र धेरै चिनी भएको पेय पदार्थबाट बच्नुहोस् । यसको साटो धेरैभन्दा धेरै पानी पिउनुहोस् । यसले तपाईंको शरीर भित्रैदेखि सफा रहन्छ र रोगको खतरा कम हुन्छ ।

हल्का फूल्का व्यायाम गर्नुहोस्ः

अत्यधिक भारी व्यायामले प्रतिरोधि क्षमतामा पनि दबाब पार्छ जबकि हल्का फुल्का व्यायामले प्रतिरोधि क्षमता बढाउने काम गर्छ । यो नियमित रुपमा गर्दा इन्फ्लेमेशन पनि कम हुन्छ र इम्यून सेल्समा सुधार आउँछ । ब्रिस्क वाकिङ, साइकल चलाउनु, जगिङ, स्विमिङ र टहल्दा प्रतिरोधि क्षमता बढ्छ ।

तनाव नलिनुहोस्ः

तनाव र दबाबको असर पनि प्रतिरोधि क्षमतामा पर्छ । लामो समयसम्म तनावमा रहँदा इम्यून सेलको कार्यक्षमता प्रभावित हुन्छ । यसका कारण इन्फ्लेमेशन बढ्छ । तनाव हटाउनका लागि ध्यान, योग र व्यायाम गर्नुहोस् । किताब पढ्नुहोस् र आफूलाई कुनै न कुनै काममा व्यस्त राख्नुहोस् ।

हेल्दी फ्याटको सेवनः

ओलिव ओयल र साल्मनमा पाइने हेल्दी फ्याटले शरीरको इम्यून रेस्पोन्सलाई बढाउँछ । ओलिव ओयलमा एन्टि इन्फ्लेमेटरी गुण हुन्छ जसले मुटु र टाइप टु मधुमेहजस्तो रोगको खतरा कम गर्छ । यसको एन्टी इन्फ्लेमेटरी गुण शरीरमा ब्याक्टेरिया र भाइरसबाट लड्न मद्दत गर्छ । चिया सिड्स र साल्मन फिसमा पाइने ओमेगा–थ्री फ्याटी एसिड इन्फ्लेमेशन कम गर्छ ।

सावधानीपूर्वक गर्नुहोस् सप्लिमेन्टको प्रयोगः

यदि तपाईंलाई आफ्नो प्रतिरोधिका लागि सप्लिमेन्टमाथि विश्वास छ भने थोरै सम्हालिनुहोस् । अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थका अनुसार कुनै पनि सप्लिमेन्टले कोरोनाभाइरसबाट जोगाउने वा यसको उपचार गर्न सक्ने कुनै प्रमाण छैन । यद्यपि, केही अनुसन्धानका अनुसार भिटामिन सी, डी र जिंक सप्लिमेन्टले शरीरको इम्यून रेस्पोन्सलाई बलियो बनाउँछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप