शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पदभार ग्रहण गर्दै प्रदेश प्रमुख झाले भने– शिरमा देश र मनमा मधेश राखेर जन्मभूमिका लागि काम गर्छु

आइतबार, ०९ फागुन २०७७, २० : ३५
आइतबार, ०९ फागुन २०७७

प्रदेश २ का प्रदेश प्रमुख राजेश झा (अहिराज) ले शिरमा देश र मनमा मधेश राखेर आजबाट जन्मभूमिका लागि कार्य थालनी गर्ने बताएका छन् ।

आइतबार प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा पद बहालीपछि प्रदेशवासीको नाममा सम्बोधन गर्दै उनले देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभाव सहितको समाज निर्माणमा आफूले भूमिका निर्वाह गर्ने बताए । उनले प्रदेश २ मा सुशासन, सद्भाव र समभाव र समृद्धि कायम गर्न गराउन प्रदेश सरकासँग आफ्नो सहकार्य रहने बताए ।

उनले जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरिक्षत हुनसक्ने भन्दै प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा आफ्नो भूमिका रहने बताए ।

प्रदेश प्रमुख झाले भने, ‘प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्छ । देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापना, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो छ ।’

पदभार ग्रहण गर्दै उनले देशभक्ति, आतिथ्य सत्कार र समृद्ध सांस्कृतिक इतिहास बोकेको प्रदेश २ मा आफूले काम गर्ने सौभाग्य पाएको जिकिर गरे । उनले सामाजिक विभेद अन्त्य गरी राष्ट्रिय एकतामा निरन्तर बल पु¥याउन सक्नुपर्ने बताए ।

प्रदेशभित्र प्रत्येक नागरिकले पूर्ण सुरक्षाको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिँदै उनले प्रत्येकको भूमि, भावना र भविष्यको सुनिश्चितता प्रदान गर्न सबैले बल पु¥याउनुपर्ने बताए ।

प्रदेश प्रमुख झालाई प्रदेश २ का मुख्यन्यायधिवक्ता दिपेन्द्र झासहित प्रदेशका प्रमुख सचिव धु्रव गैरे, ओली समूहका प्रदेशसभा सदस्य रामचन्द्र मण्डल लगायतकाले पदभार ग्रहण गर्ने क्रममा स्वागत गरेका थिए ।

आइतबार अपराह्न जनकपुरधामस्थित विमानस्थलमा ४ बजेर ४५ मिनेटमा विमानबाट अवतरण गरेका प्रदेश प्रमुख झालाई प्रदेश नम्बर २ सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानून राज्यमन्त्री सरोज सिंह कुशवाहले औपचारिक स्वागत गरेका थिए भने नेकपा ओली समूहका कार्यकर्ताले एक सय एक किलोको फूलको माला लगाएर स्वागत गरेका थिए ।

प्रदेश प्रमुख झा विमानस्थलबाट सोझै जानकी मन्दिरमा पूजापाठ तथा दर्शनका लागि गएका थिए । त्यसलगत्तै उनी प्रदेश प्रमुखको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका थिए ।

मन्त्रिपरिषदबाट सिफारिस भएअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार नेपालको संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम प्रदेश नं. २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरी संविधानको धारा १६३ को उपधारा (२) बमोजिम राजेश झा (अहिराज) लाई प्रदेश नम्बर २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप